‘कोठाभित्र राजधानीको सपना’

100

नेपालगन्ज-प्रदेश नम्बर पाँचको राजधानी अस्थायी रुपमा तोकिसकेपछि केही असन्तुष्टी जनाएका बाँकेका राजनीतिक दल र व्यवसायीले पुनः आन्दोलन व्युँताउने योजना बुनेका छन् । शान्तिपूर्ण रुपमा माग राखेर केही समय आफुहरुको ध्यान महोत्सव सम्पन्न गर्नतिर लागेकोले अब पुनः राजधानी आन्दोलन सुरु गर्ने बताएका छन् । यसअघि बुटवललाई प्रदेश राजधानी मान्न नसक्ने भन्दै कोठे बार्ता गरेर २ पटक सडकमा उपस्थिती देखाएका राजनीतिक दल तथा व्यवसायी पुनः सडकमा उत्रिने योजनामा छन् । चक्काजाम र तोडफोडले कुनै चिज प्राप्त नहुने भन्दै चरणबद्ध तरिकाले आन्दोलनमा जाने प्रदेश राजधानी संघर्ष समितिको धारणा रहेको छ ।

आन्दोलनबारे शनिबार पत्रकारसँग अन्तरक्रिया गर्दै राजनीतिक दल, व्यापारी लगायत ।संघर्ष समितिले चरणवद्ध आन्दोलन गर्ने भन्दै आएको एक महिना भइसक्यो । तर, अहिलेसम्म केन्द्रदेखि प्रदेश तहमसम्म कसैले पनि बाँकेमै प्रदेश राजधानी बनाउनुपर्छ भन्ने बिचार अभिव्यक्त गर्न सकेका छैनन् । स्थानीय नागरिकका अनुसार आन्दोलन गर्ने भन्ने पक्षले पटक–पटक नाटक गरिरहेको समेत आरोप लगाउन थालेका छन् । आन्दोलनले आफुहरुको ब्यापार, व्यवसायमा घाटा लाग्ने भन्दै प्रदेश राजधानीको आन्दोलन थाती राखेका व्यवसायीले पुनः कोठाभित्रबाटै राजधानीको सपना बुन्न थालेका छन् । उनीहरुले दलका नेता र अन्य सरोकारवाला निकाय अब फेरी सडकमा उत्रिन आवश्यक रहेको बताउँदै आएका छन् ।

शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा भएकोे अन्तरक्रियामा राजधानीको मागलाई शसक्त बनाउनुपर्ने बताए । ‘हामीले सुरुवाती ग¥यौं, तर महोत्सव प्रभावित हुने भएका कारण सडकमा आउन सकेनौं,’ संघका अध्यक्ष नन्दलाल बैश्यले भने, ‘तर अब राजधानीको अधिकारका विषयमा सोच्नुपर्ने भएको छ, सबै नागरिकलाई अधिकार नपाएकोमा महसुस गराई आन्दोलनलाई अगाडी बढाउनुपर्दछ ।’ राजधानीको मागका सम्बन्धमा व्यवसायी, कानुन व्यवसायी र दलका केही नेताहरुले चार पटक सम्म कोठमै छलफल, अन्तरक्रिया गर्दै आएका छन् । सडकमा उत्रिनुका नाममा गत माघको पहिलो साता ब्यापारी, व्यवसायी र केही नेताले एकदिन ¥याली निकालेर सडक परिक्रमा बाहेक केही गरेनन् ।

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालगन्ज आउँदा राजधानी नपाएपनि अरु कुनै केन्द्र बनाउन सकिने बताइसकेका छन् । त्यस्तै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि तत्काल बाँकेमा राजधानी बनाउन नसकिने संकेत गरिसकेका छन् । तर, व्यवसायीहरु भने कोठाभित्र छलफल गरी नेपालगन्जलाई राजधानी बनाउने सपना बुन्दै आएका छन् । शनिबारको छलफलमा सहभागी सबैले आन्दोलनलाई पुनः शान्तिपूर्ण रुपमा व्यूँताउनुपर्नेमा जोड दिए । उनीहरुले आन्दोलनको स्वरुप पनि फेर्दै जानुपर्ने बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दामोदर आचार्यले फितलो आन्दोलनका कारण कसैको ध्यान बाँकेबासीमा पीडामा पर्न नसकेको बताए । ‘हामी सबैमा विभाजित मानसिकता छ, त्यसैले आन्दोलनलाई सँधै अरुको जिम्मेवारी सम्झियौं,’ उनले भने, ‘अब आन्दोलनको स्वरुप फेर्नुपर्छ, बन्दहड्ताल र तोडफोडमा नजाने तर, अलिकति उग्र चाही बनाउँनैपर्छ ।’

माघ महिनाको पहिलो हप्ता नै प्रदेश राजधानी नदिए नयाँ प्रदेशको विकल्प खोज्ने भन्दै कुर्लिएका बाँकेका व्यवसायी, सांसद र राजनीतिक दलका नेता एक महिना बित्दा समेत अझै कोठैमा राजधानीको सपना बुनिरहेका छन् । नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेलले राजधानीको मागलाई सबैले साझा बनाउन नसकिए भावी सन्ततीको भविष्य नै अन्धकार हुने चेतावनी दिए । उनले सडकमा संघर्ष गर्नुको विकल्प नभएको बताए । यस्तै, संघीय समाजबादी फोरमका जिल्ला अध्यक्ष कमरुद्धिन राईले सबै दल एक भएर आन्दोलन गर्न जरुरी रहेको बताए । बुटवलमा अस्थायी राजधानी तोकिएपछि केही दिन आन्दोलित भएको दाङ शान्त भएको छ, तर बाँकेमा राजधानी ल्याउने भन्दै नेपालगन्जमा नेतृत्वकर्ताहरु सडक संघर्षमा उत्रिने तयारी गरिरहेका छन् ।
-सद्भाव दैनिकबाट

 

Womui
Womui