जहाँ बिद्यार्थीले पढ्दै कृषिकर्म गर्छन्

101

खगेन्द्र दाहाल
बाँके(खजुरा)-बिद्यालयको प्राङ्गनमा छात्र छात्राहरु प्रायः कोदालो, पावर टिलर ट्रयाक्टर र हजारी लिएर खनजोत, गोडमेल र सिँचाई गरिरहन्छन् । प्राविधिक क्षेत्र अन्तर्गत बाली विज्ञानका बिद्यार्थीले बिद्यालयको प्राङ्गनमै काउली, काँक्रा, भन्टा लगायतका तरकारी फलाएका छन् । बिद्यालयमा प्राविधिक विषय अन्तर्गतको पढाई प्रोजेक्टरको माध्यमबाट भइरहेको छ । खजुरा गाउँपालिका वडा नम्बर ३ सन्तकुटीस्थित जनता नमुना माध्यमिक बिद्यालय अध्ययनरत बिद्यार्थीको गतिविधी देखेर वरपरका स्थानीय बासिन्दा समेत आश्चर्यमा पर्ने गरेका छन् ।

बिद्यार्थीलाई फिल्डमै लगेर प्रयोगात्मक तरिकाले नै पढाउने गरेको बिद्यालयका प्रधानाध्यापक शशिराम कार्की बताउँछन् । २०२९ सालमा ग्रामिण क्षेत्रमा स्थापित बिद्यालयले उत्पादन गरेका जनशक्ती अहिले समाजका विभिन्न क्षेत्रमा रहेर योगदान दिइरहेका छन् । हाल कक्षा १२ सम्म अध्यापन गराइरहेको बिद्यालय २०७३ सालमा सरकारबाट नमुना घोषित बिद्यालय हो । भौतिक पुर्वाधार, सामुदायिक बिद्यालय मध्ये तुलनात्मक रुपमा सबल नतिजा, बिद्यार्थी संख्या र उत्कृष्ठ व्यवस्थापनका कारण जिल्लामै उदाहरणिय बनेको बिद्यालयले अर्काे उदाहरणिय काम गरिरहेको छ । बिद्यालयले गतवर्षदेखि कक्षा ९ बाटै प्राविधिक क्षेत्रको पढाई सुरु गरेको हो । बिद्यालयमा कक्षा ९ देखि नै प्राविधिक धारमा बाली विज्ञानको पढाई भइरहेको छ । गतवर्षबाट सुरु भएको प्राविधिक अन्तर्गत कक्षा ९ र १० मा ३४–३४ जनाले पढाई गरिरहेका छन् । त्यसमा पनि छात्राको संख्या अधिक छ । नमुना घोषित उक्त बिद्यालयको प्राविधिक धारतर्फको पढाई पनि उत्तिकै सबल मानिएको छ ।

अभिभावकको आग्रहमा बिद्यालयले ४ वर्षअघिदेखि कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेको छ । बिद्यालयमा सुविधा सम्पन्न पुस्तकालय र विज्ञान प्रयोगशाला पनि रहेको छ । १९ विघा जमिनमा हरियाली वातावरणका बीच रहेको बिद्यालयमा बिद्यार्थीहरु रमाउँदै पढ्ने वातावरण रहेको प्रधानाध्यापक कार्की बताउँछन् । एसएलसी नतिजामा पनि विगतमा जिल्लाकै उत्कृष्ट भइसकेको बिद्यालयले दिएको योगदानबारे बिद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष शैलेन्द्रकुमार खत्री शिक्षकको मेहेनतले नै यि सबै कुरा सम्भव भएको बताउँछन् । प्रधानाध्यापक कार्की शिक्षक, बिद्यालय प्रशासन र समुदायको सकारात्मक पहलबाट बिद्यालय नमुना बन्न सफल भएको दाबी गर्छन् । तर, यति मै चित्त नबुझाएको कार्कीको भनाई छ । त्यही असन्तुष्टी नै बिद्यालयलाई अझ उदाहरणिय बनाउने कडी भएको उनले बताए ।
तस्बिरहरु : खगेन्द्र दाहाल

Womui
Womui