निर्देशन अटेरी गर्ने औषधी पसलमा शिल

143

नेपालगन्ज- औषधी व्यवस्था विभागको पटक-पटकको निर्देशनलाई अटेरी गरेपछि नेपालगन्जका ३ वटा औषधी पसलमा बिहीबार शिल गरिएको छ । जिल्ला अनुगमन समितिको टोलीले औषधी पसलमा शिल गरेको हो । जिल्ला प्रशासन, औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय नेपालगन्ज, वाणिज्य कार्यालय, जिल्ला प्रहरी कार्यालयको टोलीले नेपालगन्जको राँझामा सञ्चालित पवन मेडिकल हल, विपी चोकस्थित शिक्षण अस्पताल अगाडी रहेको दर्शन फर्मा र भेरी अञ्चल अगाडी रहेको हेल्प स्टार फार्मेसीमा शिल गरेको हो ।

औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय नेपालगन्जका फार्मेसी निरिक्षक तपेन्द्र भट्टराईका अनुसार पवन मेडिकलले सरकारद्धारा प्रतिबन्धित ‘क्यास्टर एनएफ’, ‘रेपिड जेल’ जस्ता औषधी विक्री गर्दै आएको बताए । यस्तै दर्शन फर्माले लाईसेन्सधारी व्यक्तिको अनुपस्थितीमा औषधी विक्री गरेको, ग्राहकलाई तोकिएको भन्दा बढी मुल्यमा औषधी बेचेको, लागु तथा मनोदिपक औषधीको रेकर्ड नराखेको उनको भनाई छ । यसैगरी हेल्प स्टार फार्मेसीले पनि लाईसेन्सधारी व्यक्तिको अनुपस्थितीमा औषधी विक्री गरेको, लागु तथा मनोदिपक औषधीको रेकर्ड नराखेको, प्रतिबन्धित औषधी विक्री गरेको भट्टराईले बताए ।

उक्त पसलमा औषधी ऐन २०३५ को दफा २० को उप दफा ४ ‘क’ बमोजिम पवन मेडिकलमा १५ दिनका लागी शिल गरिएको हो । यस्तै सोही ऐन बमोजिम दर्शन फर्मामा २१ र हेल्प स्टार फार्मेसीमा ३० दिनका लागी शिल गरिएको छ । उनले भने, ‘मंसिर महिनातिर अनुगमन गर्दा यि पसलमा विभिन्न कमजोरी फेला परेपछि औषधी विभागको क्षेत्रीय कार्यालयमा बोलाएर बयान लिई विभागको केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाइएको थियो, विभागको आदेश अनुसार पुनः अनुगमन गरेर यि पसलमा शिल गरेका हौं ।’ शिल गरिएको समय अवधि पुरा भएपछि पसल सञ्चालक औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय नेपालगन्जमा हाजिर हुने भट्टराईले बताए । उनले भने, ‘कार्यालयमा हाजिर भएपछि हामीले कारबाही फुकुवा भएको एउटा चिठ्ठी बनाईदिन्छौं, भोलीपल्ट हामी आफै गएर पसलमा लगाइएको शिल खोलिदिन्छौं ।’

 

 

तस्बिरहरु : मधु पौडेल

Womui
Womui