राष्ट्रिय सभा चुनावमा बाँकेका दुई उम्मेदवार मैदानमा

189

नेपालगन्ज-दाङको घोराहीमा बुधबार हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी बाँकेका दुई उम्मेदवार मैदानमा उत्रिएका छन् । नेपालगन्ज निवासी पुर्वसांसद मैकुलाल बाल्मिकी र कोहलपुरका लुटबहादुर खत्री चुनावी मैदानमा उत्रिएका हुन् । उनीहरु दुबै जनालाई नेपाली काँग्रेसले उम्मेदवार बनाएको छ । बाल्मिकी राष्ट्रिय सभा सदस्य (दलिततर्फ) र खत्री (अपांगतर्फ) बाट उम्मेदवार बनेका हुन् ।

राष्ट्रिय सभा सदस्य उम्मेदवार मैकुलाल बाल्मिकी (दायाँ) र लुटबहादुर खत्री ।

काँग्रेस बाहेक अन्य कुनैपनि दलले बाँके र बर्दियामा राष्ट्रिय सभा सदस्यका लागी उम्मेदवार बनाएका छैनन् । उम्मेद्धवारद्धय बाल्मिकी र खत्री केहीदिनयता प्रचारमा व्यस्त छन् । सरकारले प्रदेशको अस्थायी राजधानी र उच्च अदालत स्थापना गरेको जिल्लामा बुधबार मतदान गराउन लागेको हो । पाँच नम्बर प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका कुल ३ सय ५ जना मतदाता छन् । त्यसमध्ये २ सय १८ जना स्थानीय तहका जनप्रतिनिधि र ८७ जना प्रदेश सभाका सांसद रहेको राष्ट्रिय सभा निर्वाचन प्रदेश नम्बर ५ का मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताएका छन् ।

राष्ट्रिय सभाका लागी हरेक प्रदेशबाट ३ महिला, १ अपांगता वा अल्पसंख्यक, १ दलित र ३ अन्यतर्फ निर्वाचित हुने संविधानमा व्यवस्था छ । प्रमुख निर्वाचन अधिकृत रावलका अनुसार उक्त प्रदेशमा ५ पदका लागी मतदान हुदैछ । उनले भने, ‘अन्यतर्फ ३ र दलित वा अल्पसंख्यक तथा अपांगतामा १÷१ जना निर्वाचित हुनेछन् ।’ पाँच पदका लागी कुल ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको उनले जानकारी दिए । यसअघि राष्ट्रिय सभाका तीन जना महिला उक्त प्रदेशबाट निर्विरोध निर्वाचित भईसकेका छन् । संविधानमा भएको व्यवस्था अनुसार एउटा प्रदेशबाट कुल ८ जना निर्वाचित हुन्छन् । मुलुकका ७ वटै प्रदेशबाट गरी राष्ट्रिय सभामा ५६ जना निर्वाचित हुने व्यवस्था छ । एक जना महिला सहित ३ जनालाई मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरिसकेपछि राष्ट्रिय सभा ५९ सदस्यीय हुनेछ ।

Womui
Womui