सुकुम्बासीले कब्जा गरेको जग्गा बिद्यालयले अझै पाएन

112

नेपालगन्ज-माओवादी शान्ती प्रक्रियामा आएको एक दशक बितिसकेको छ । तर द्वन्द्वकालिन अवस्थामा माओवादीले कब्जा गरेका सम्पत्तीहरु अँझै हकदारले प्राप्त गर्न सकेका छैनन् । द्वन्द्वकालमा कब्जा गरी सकुम्बासी बस्ती बसालेको माओवादीले शान्ति प्रक्रियामा आएपछि पनि असली जग्गावालालाई प्रदान गरेको छैन । बाँकेको राँझास्थित एक सामुदायिक बिद्यालयको जमिन दुई दशकदेखि सकुम्बासीको कब्जामा रहेको छ । पटक–पटक अनुरोध गर्दा पनि प्रहरी र प्रशासन मुखदर्शक बनेपछि दुईदशक देखि नेपालगन्जको राँझा स्थित आदर्श माध्यमिक विद्यालयको जमिन सकुम्बासीले रजाँई गरेका हुन् ।

स्थानीय समाजसेवी स्वर्गिय राममिलन बर्माले बिद्यालयमा अध्ययापनका लागि सहज होस् भन्ने हेतुले दिएको बिद्यालयको जग्गामा तत्कालिन माओबादी सशस्त्र द्धन्द्धका बेला सुकुम्बासीका नाममा कब्जा भएको थियो । पुरानो लालपुर्जा अनुसार बिद्यालयको नाममा ९ बिघा १८ कठ्ठा ५ धुर जमिन रहेको थियो । हाल साविक पछिको (नयाँ) विवरणमा भने ७ बिघा ७ कठ्ठा १ धुर जग्गा देखिएको छ । बिद्यालयको नाममा रहेको विभिन्न ५ वटा कित्ता मध्ये ३ वटा कित्ताको जमिन अतिक्रमणमा परेको छ । साविक मनिकापुर ७ (क) गायत्री नगरमा रहेको कित्ता नम्बर १ मा तीन बिघा ७ कठ्ठा १४ धुर मध्ये करिव ३ बिघा ३ कठ्ठा १४ धुर जग्गा सुकुम्बासीको कब्जामा छ ।

यहाँ बिद्यालयले करिव ४ कठ्ठा जग्गा मात्र उपयोग गर्न पाएको छ । यस्तै साविक मनिकापुर ९ (क) गयनपुरमा रहेको कित्ता नम्बर ४९ मा ११ कठ्ठा १६ धुर तथा वडा नम्बर ९ ‘क’ गयनपुरमा रहेको कित्ता नम्बर ४५ मा १ बिघा ७ कठ्ठा १५ धुर जग्गा अतिक्रमणमा परेको बिद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यले शनिबार पत्रकारमाँझ बताए । ‘बिद्यालयमा म आएपछि अतिक्रमण हटाउने विषयमा औपचारिक निर्णय गरेका थियौं, त्यसयता पटक–पटक प्रयास गरेपनि सहमती हुन सकेन,’ उनले लालपुर्जा देखाउँदै पत्रकारहरुसँग भने ।

Womui
Womui