‘मुद्दा कमजोर’ बनाएर माओबादी नेता शेख मुक्त

90

नेपालगन्ज-हतियार सहित पक्राउ परेका नेकपा माओबादी केन्द्र बाँकेका नेता गरिबे शेखलाई बाँके प्रशासनले मुक्त गरेको छ । लामो समयदेखि अवैध हात, हतियारको कारोबारमा संलग्न रहेको आरोपमा गत पुस ३० गते माओबादी जिल्ला कार्यसमिति सदस्य शेख पक्राउ परेका थिए । लामो समयदेखी हतियारको कारोबारमा संलग्न रहेको अनुसन्धान पश्चात प्रदेश नम्बर ५ को विशेष प्रहरी ब्यूरो टोलीले खजुरा गाउँपालिका वडा नम्वर ५ उढरापुरबाट शेखलाई पक्राउ गरेको थियो । शेखलाई एक थान पेस्तोल, एक थान म्यागजिन र चार राउण्ड सहित पक्राउ गरेको ब्युरो टोलीले आवश्यक कानुनी कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय बाँके समक्ष बुझाएको थियो । शेख पक्राउ परेपछि उनलाई छुटाउन सुरुदेखी नै नेकपा माओबादी केन्द्रले जिल्लादेखी केन्द्रीय तहबाट प्रहरीलाई दवाव दिदै आएको थियो ।

घटनालाई सुरुमा गुपचुप पार्ने प्रयास गरेपनि सञ्चार माध्यममार्फत सार्वजनिक भईसकेपछि प्रहरीले बाध्य भएर नेता शेखविरुद्ध मुद्दा दर्ता गरयो । स्रोतका अनुसार शेख विरुद्ध मुद्दा दर्ता गरेपनि ऐनको कमजोर दफा प्रयोग गरी प्रक्रिया अगाडी बढाउन माओबादी नेताले दवाव दिएका थिए । सोही अनुरुप उक्त मुद्दालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय समक्ष पेश गरेको थियो । एक वर्षभन्दा कम सजाय हुने मुद्दालाई जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था छ । माओबादी नेता शेखलाई प्रहरीले तयार पारेको प्रतिवेदनमै एक वर्षभन्दा कम सजायको माग दावी गरेका कारण उक्त मुद्दा प्रमुख जिल्ला अधिकारी कहाँ पुगेको हुन सक्ने कानुन व्यवसायीको अनुमान छ । ‘हतियार सहित पक्राउ परेको व्यक्तिलाई अदालतमा पेश गर्ने कि जिल्ला प्रशासनमा पेश गर्ने भन्ने ठुलो हात प्रहरी र सरकारी वकिलसँग हुन्छ,’ एक कानुन व्यवसायीले भने ‘हात हतियार मुद्दामा जब एक वर्षभन्दा कम सजाय माग गरिन्छ, यसमा पक्कैपनि प्रहरीको बद्मासी भएको हुनुपर्छ ।’

स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको ईजलास समक्ष मुद्दा पुगिसकेपछि पनि माओबादीको केन्द्रिय स्तरका नेताले दवाव दिईरहे । दवावकै बीच माओबादी नेता शेख एक हप्तामै छुट्न सफल भएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालयले सामान्य धरौटीमा छाडेको बुझिएको छ । जबकी हतियार सहित पक्राउ परेका यस्तै प्रकृतीका अन्य मुद्दामा प्रहरीले अभियुक्तहरुलाई लामो समयसम्म पनि हिरासतमा राखेको हुन्छ । उनीहरुलाई प्रहरीले पटक–पटक म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान गर्छ । तर, शेख अपराधमा संलग्न भएपनि माओबादी नेता भएकै कारण एक हप्ताभित्रै धरौटीमा छुट्दा सबै आश्चर्यमा परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रमुख(डिएसपी) राजेन्द्र अर्यालले हतियार सहित पक्राउ परेका शेख धरौटीमा छुटेको बताए । ‘जिल्ला प्रशासन कार्यालयले हेर्दै आएको मुद्दामा शेख धरौटीमा छुटेका छन्, तर उनीविरुद्धको मुद्दा चलिरहन्छ,’ अर्यालले भने ।

शेख पक्षधरले आफुलाई प्रहरीले फसाएको दाबी गर्दै आएको उनले बताए । प्रहरीले अनुसन्धान गरी हात हतियार खरखजना ऐन अन्तर्गत कानुनी कारबाहीको माग सहित जिल्ला प्रशासन कार्यालय समक्ष अभियुक्तलाई पेश गरेको डिएसपी अर्यालको जिकिर छ । हतियार किनबेचका लागी मोलमेलाई गरिरहेको अवस्थामा ५० हजार भारतीय रुपैयाँसहित शेखलाई नेपाल प्रहरीको अनुसन्धान व्यूरोले पक्राउ गरेको थियो । हतियार सहित पक्राउ परेको व्यक्तिलाई साधारण धरौटीमा छाडिदा आफुहरुलाई काम गर्ने जाँगर नलाग्ने व्यूरोका कर्मचारी गुनासो गर्छन् । आफुहरुले बढी मेहेनत र परिश्रम गरी ठुला अपराधीलाई पक्राउ गरेपनि न्यायिक निकायले कसैको दवाव र प्रभावमा परी मुद्दा कमजोर बनाउने र कम सजाय गर्नुले गलत नजिर बस्ने उनीहरुको चिन्ता छ । बाँके, उढरापुर निवासी नेता शेखले भारतबाट अबैध हातहतियार ल्याएर विक्री गर्ने गरेको प्रहरी अनुसन्धान व्युरोको आरोप छ । माओबादी केन्द्रका जिल्ला सदस्य रहेका उनी गत स्थानीय तहको निर्वाचनमा उक्त पार्टीबाट वडा नम्वर ५ को वडाअध्यक्षमा उम्मेदवार बनेका थिए ।
-सद्भाव दैनिकबाट

Womui
Womui