जयमंगलम सिमेन्ट उद्योगका चार ‘ब्रान्ड’ बजारमा

144

नेपालगन्ज-बजारमा सिमेन्टको माग दिन प्रतिदिन बढिरहेका बेला बाँकेमा सञ्चालित जयमंगलम सिमेन्ट्स प्रालिले विभिन्न ४ ब्रान्डका सिमेन्टहरु उपभोक्तामाझ ल्याएको छ । नेपालगन्ज–कोहलपुर खण्डको गनापुरमा सञ्चालित उक्त उद्योगले बजारको माग अनुसार उत्पादनको दायरालाई फराकिलो पारेको हो । स्थापनाको १९ वर्षमा आफ्ना विभिन्न ४ प्रकारका सिमेन्टका ब्रान्ड ग्राहक माँझ पुरयाउँदै आएको उद्योगले जनाएको छ । उद्योगले सुरुको अवस्थामा स्टार ओपीसी सिमेन्ट र यति पीपीसी सिमेन्टका ब्रान्ड उत्पादन गर्दै आएको थियो । हाल उद्योगले थप दुई वटा ब्रान्ड गौरव पीपीसी र रकस्ट्रोङ्ग पीपीसी सिमेन्ट पनि उत्पादन गरिरहेको प्रमुख सञ्जयकुमार अग्रवालले सोमबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिए । ‘गौरव पीपीसी सिमेन्ट र रकस्ट्रोङ्ग पीपीसी सिमेन्टले स्टार ओपीसी र यति पीपीसी सिमेन्ट प्रयोग गरिरहेका ग्राहक महानुभावलाई थप अनुभव र आकर्षण गर्नेमा हामी आशावादी रहेका छौं,’ उनले भने ।

चार वटै ब्रान्डका सिमेन्टको गुणस्तरमा एकरुपता रहेको अग्रवालले प्रष्ट्याए । ‘हाम्रो सिमेन्टले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ,’ उनले भने ‘स्थानीय उत्पादन भएको हुनाले ढुवानी खर्च बच्ने हुँदा उपभोक्तालाई अरुको भन्दा सस्तो मुल्यमा सिमेन्ट दिईरहेका छौं, सिमेन्टको गुणस्तरमा कुनै कमी छैन ।’ उद्योगको उत्पादन हरेक आयोजनाका ल्याबबाट पास भएपनि केन्द्रिकृत सोचका कारण बञ्चित गर्ने गरिएको र निर्माण कार्यमा प्रयोग गर्न नचाहने गरेको प्रमुख अग्रवालले सुनाए । उनका अनुसार उद्योगले वार्षिक रुपमा ५० हजार मेट्रिक टन भन्दाबढी सिमेन्ट उत्पादन गर्दै आएको छ । स्थानीय स्तरमा उद्योगको सिमेन्टले बजार हिस्सा ओगट्न सकेमा उत्पादन क्षमता अझ बढाउन सकिने उनले बताए । २०५५ सालबाट सञ्चालनमा आएको उद्योगमा आधुनिक र पूर्ण कम्प्यूटराइज्ड प्रविधियुक्त रहेको छ । ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नवीनतम् प्रविधि र आधुनिक उपकरणको समिश्रणबाट उद्योग आफ्नो गुणस्तरमा स्थापित रहन सफल मध्य तथा सुदूरपश्चिम क्षेत्रकै नेपाल गुणस्तर चिन्ह् प्राप्त गर्ने पहिलो सिमेन्ट उद्योग हो,’ अग्रवालले भने । उद्योगले आफ्ना ग्राहकलाई विशुद्ध सेवा र गुणस्तरीय उत्पादन दिँदै आउनुका साथै सामाजिक काममा पनि अग्रसर रहेको जनाएको छ ।

प्रथम यति सिमेन्ट नेपालगन्ज गोल्ड कपको मुख्य प्रायोजन गरी प्रतियोगिता सञ्चालन गर्न उद्योगले महत्वपूर्ण सहयोग गरेको स्मरण गराउँदै प्रमुख अग्रवालले आगामी माघ ११ गतेबाट नेपालगन्जमा सुरु हुन लागेको प्रथम प्रादेशिक महोत्सवमा पनि मुख्य प्रायोजकको भूमिका निर्वाह गरिरहेको बताए । यसका साथै उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपीडित र भूकम्प पीडितलाई सहयोग तथा स्थानीय स्तरका अन्य सामाजिक काममा पनि सहयोग गरेको पत्रकारलाई जानकारी दिए । स्थानीय उत्पादनले स्थानीयस्तरमै स्थान नपाउनु र स्थानीय तहबाटै प्रोत्साहन नपाउँदा कतिपय उद्योग, व्यवसाय बन्द हुने अवस्थामा पुगेको उद्योग सञ्चालकको गुनासो छ । उद्योग चलाउँदा आफु लगायत अन्य उद्योगले बिद्युत समस्या खेप्नुपर्ने बाध्यता अझैपनि कायमै रहेको अग्रवालको भनाई छ । स्थानीय उद्योगको उत्पादन स्थानीय स्तरमै बजारीकरणका लागी उनले नीतिगत व्यवस्था गरिदिन स्थानीय सरकार तथा अब बन्ने प्रादेशिक र संघिय सरकारको ध्यानाकर्षण गराएका छन् । पत्रकार भेटघाटमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, महासचिव अजयकुमार टण्डन र पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु पनि पनि स्थानीय उद्योग प्रर्वद्धनबारे धारणा राखेका थिए, भने उक्त कार्यक्रम सञ्चालन रमन ओलीले गरेका थिए ।

Womui
Womui