भाइरल ज्वरोको प्रकोपले जाजरकोटमा ९ को मृत्यु

86

जाजरकोट-जाजरकोटमा फैलिएको रुघाखोकी र भाइरल ज्वरोको प्रकोपले ९ जनाको मृत्यु भएको छ । उक्त प्रकोपबाट ५ बालबालिका सहित ९ जनाको मृत्यु भएको हो । जाजरकोटस्थित स्वास्थ्य चौकी बड्कुले मजकोटका इन्चार्ज हरिबहादुर सिंहका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका वडा नम्बर २ मजकोट निवासी ६५ बर्षिया धनसरा नाथ, आइती दिरुवा र ७५ बर्षिय सतरुप शाही, वडा नम्बर २ स्यालाका ५२ बर्षिय करसिंह टमाटा र अन्य नाम नखुलेका ५ बालबालिका रहेका छन् ।

टमाटाको पुस १० गते, नाथको १९ गते र शाहीको पुस १५ गते ज्यान गएको सिंहले जानकारी दिएका छन् । शनिबार आफूले गाउँमै छुट्टै शिविर चलाएर डेढ सय बिरामीको उपचार गरेको उनले बताए । मृत्यु भएका मध्ये केही दीर्घरोगी रहेको र उनीहरूको रुघा खोकी र भाइरल ज्वरोले केही दिन थलिएर ज्यान गएको बताइएको छ । स्वाथ्यचौकी बड्कुलेमा दैनिक रुपमा ६० भन्दा बढी बिरामी आउने गरेको सिंहले जानकारी दिएका छन् ।

अहिले सो संख्या बढ्दै गएको उनको भनाई छ । रोग प्रभावित क्षेत्रमा पुगेका जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन कृष्णबहादुर खत्रीले गाउँमा मृत्यु भएका भनिएकाहरूको मृत्युको कारण खोजी भइरहेको बताएका छन् । भौगोलिक विकटताका कारण रोग प्रभावित क्षेत्रमा पुग्न समय लागेको र आइतबारसम्म सबै मृतकका घरमा पुगेर मृत्युको कारण पत्ता लगाउने खत्रीले बताए । गाउँमा भाइरलका बिरामी दिनदिनै बढ्दै गएको बताइएको छ । जुनीचाँदे गाँउपालिका वडा नम्वर १ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाँउ, वडा नम्बर २ का मजकोट, आलीमौगाना र वडा नम्वर ३ का डाडाकोट र परालेमा भाइरल प्रकोपको रुपमा देखा परेको छ ।

Womui
Womui