भुवर भवानी मन्दिरको आवश्यक पुर्वाधार तयार

103

नेपालगन्ज-बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ३ बैजापुरमा रहेको प्रशिद्ध धार्मिक स्थल भुवरभवानी मन्दिरको लागी आवश्यक भौतिक पुर्वाधार निर्माण सम्पन्न गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको बजेटबाट मन्दिरको भक्तजन विश्राम गृह तथा खानेपानी योजना निर्माण सम्पन्न गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष तुलसीराम थारुका अनुसार भक्तजनको विश्राम गृह निर्माणका लागी कुल ५ लाख ३४ हजार रुपैयाँ स्टिमेट गरिएकोमा गाउँपालिका कार्यालयले ५ लाख रुपैयाँ विनियोजन गरेकोमा स्थानीय बासिन्दाले ३४ हजार रुपैयाँ बराबरको श्रमदान गरेका हुन् । उक्त विश्राम गृहमा करिव डेढ सय जना अट्न सक्ने अनुमान गरिएको छ । यस्तै मन्दिर दर्शन गर्न आउने दर्शनार्थीका लागी खानेपानीको योजना स्वरुप कुल ३ लाख २५ हजार रुपैयाँको स्टिमेट गरिएकोमा गाउँपालिकाबाट ३ लाख र स्थानीय बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिबाट २५ हजार रुपैयाँ विनियोजन भएको थियो । डाडाँमा रहेको मन्दिर सम्म खानेपानी पुरयाउन साढे ४ सय मिटर पाईपबाट ‘लिफ्ट’ गरेर २ हजार लिटर क्षमताको ट्यांकीमा पानी जम्मा गर्ने गरिएको छ ।

सोही ट्यांकीबाट मन्दिर परिसरमा टुटी सहितका दुई वटा धारा जडान गरिएको छ । ‘जेनेरेटर चलाएर बिजुली उत्पादन गर्ने र त्यही बिजुलीबाट जमिनमुनिको पानी मोटरले तानेर ट्यांकी सम्म पुरयाउने गरिन्छ,’ स्थानीय समाजसेवी समेत रहेका उपभोक्ता समिति अध्यक्ष तुलसीरामले भने । मन्दिर परिसरमा विश्राम गृह तथा खानेपानी सुविधा पुगेपछि भक्तजनलाई ठुलो राहत मिलेको उनले बताए । यसअघि मन्दिर छेउमै रहेको करिव ७५ फिट गहिरो कुँवाबाट पानी तानेर उपयोग गर्न कठिन हुदै आएको थियो । भक्तजन विश्राम गृह र खानेपानी योजनाको गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बीच उद्घाटन गरिसकेका छन् ।

गाउँपालिका अध्यक्ष थारुले मन्दिरको विकासका लागी पहिलेदेखी आफुले पहल गर्दै आएको जानकारी दिदै गाउँपालिकामा निर्वाचित भएर आईसकेपछि पनि आफुले प्राथमिकता दिएको बताए । ‘मन्दिरमा जाने भक्तजन बस्ने समस्या थियो, खानेपानीको लागी कुवाको भर पर्नुपर्ने अवस्था देखिएको हुँदा हामीले बजेट हालेका हौं,’ उनले भने । मन्दिरका लागी आगामी दिनमा पनि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने अध्यक्ष थारुले बताए । बजेट नपाउँदा विगतमा मन्दिरको भौतिक पुर्वाधार बनाउन कठिनाई रहेको उनले स्मरण गरे ।

Womui
Womui