मतपरिणाम तत्काल सार्वजनिक गर्न बाम गठबन्धनको माग

70

काठमाडौं-प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न बाम गठबन्धनले माग गरेको छ । एमाले उपाध्यक्ष भीम रावल. नेता सुवासचन्द्र नेम्वाङ, माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुनलगायतले सोमबार निर्वाचन आयोगका आयुक्तलाई भेटेर यस्तो माग गरेका हुन् ।

भेटपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष रावलले जनताले दिएको म्यान्डेटलाई आयोगले बेवास्ता गरेको आरोप लगाए । उनले भने, ‘सरकारले राष्ट्रिय सभा गठनलगायतमा बखेडा झिकेर लोकतन्त्रमा जनताले दिएको म्यान्डेटलाई बेवास्ता गर्न खोजिरहेको छ, जनादेशलाई लत्याउन खोजे आउनसक्ने परिणामको भागिदार पनि सरकार स्वयं हुनुपर्छ ।’ यता आयोगले भने राष्ट्रिय सभा गठनपछि मात्र मतपरिणाम सार्वजनिक गर्ने बताउँदै आएको छ । प्रदेशसभातर्फको समानुपातिक मतपरिणाम भने आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

Womui
Womui