मापदण्ड बनाउने तयारीमा खजुरा गाउँपालिका

115

नेपालगन्ज-खजुरा गाउँपालिकाले नक्सा पास, वस्ती विकास र जग्गा प्लटिङ गर्दा मापदण्ड बनाएर लागु गर्ने भएको छ । गाउँपालिकाले कुनैपनि विषयमा निर्णय गर्न आधार कारण उल्लेख गरेर मात्र निर्णय गर्नेछ । स्थानीय सरकारः कार्य सञ्चालन सम्बन्धी दुई दिने अभिमुखिकरणबाट गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले यस्तो प्रतिवद्धता जनाएका हुन् । यस्तै अबको दुई महिनाभित्रमा प्रथम गाउँसभाबाट पास गरिएका ऐन, नियम, मापदण्ड, कार्यविधि र निर्देशिकालाई राजपत्रमा प्रकाशित गर्ने प्रतिवद्धता पनि जनाइएको छ । प्रत्येक वडा सचिवले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२(ख) मा उल्लेख भएका विवरण दुई महिनाभित्र अध्यावधिक गर्ने, गाउँपालिका पदाधिकारीले आ–आफ्नो अधिकार कानुनको अधिनमा रहि प्रयोग गर्ने, बार्षिक योजना बनाउँदा पारिवारीक महिला हिंसा रोकथाम, महिला सशक्तिकरण, बालबालिकाको हित गर्ने र सशक्तिकरण गर्नेतर्फ आवश्यक बजेट विनियोजन अनिवार्य रुपमा गर्ने प्रतिवद्धता जनप्रतिनिधि तथा कर्मचारीले गरेका छन् ।

यसैगरी परम्परागत रुपमा योजना बनाई कार्यान्वयन गर्ने गरिएकोमा सुधार गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको परिधी र मापदण्डभित्र रही प्राथमिकता निर्धारण गरी योजना बनाउने, कार्यान्वयन अनुगमन र मुल्यांकन गर्ने, गाउँपालिकाले बार्षिक बजेट गाउँसभाबाट पारित गराई कानुनद्धारा तोकिएको समयभित्र खर्च अख्तियारी प्रदान गरी काुननद्धारा निर्धारित प्रक्रिया पुरा गरेर खर्च गर्ने चौमासिक प्रतिवेदन पेश गर्ने उल्लेख छ । यस्तै गाउँपालिकाको कार्यालय हाल दुई ठाउँमा रहेकोमा एक हप्ताभित्र एकै ठाउँमा सारेर व्यवस्थित गर्ने, खजुरा गाउँपालिकाको एकिकृत विकास योजना बनाई अगाडी बढाउने, सरसफाई र फोहारमुक्त बनाउने योजना तत्कालन सुरु गरी श्रीपञ्चमीबाट बिद्यार्थीहरु शिक्षकमार्फत सरसफाई अभियान शुभारम्भ गर्ने र बालविवाह मदिराको प्रयोगलाई निरुत्साहित गर्न जनप्रतिनिधिहरुले अभियानको रुपमा चलाउने र त्यस्ता कार्यक्रममा सहभागी नहुने प्रतिवद्धता सर्वसम्मत रुपमा गरिएको छ ।

साझेदारी विकास परियोजनाको सहयोग, ईन्रुडेक कोहलपुरसँगको सहकार्यमा खजुरा गाउँपालिकाले शनिबार र आईतबार आयोजना गरेको अभिमुखिकरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गाउँ कार्यपालिका सदस्य, वडा अध्यक्ष, वडा सदस्य तथा कर्मचराीको सहभागिता रहेको थियो । अभिमुखिकरणमा संविधानविद् एवम् ‘अधिकार सम्पन्न संघिय प्रशासनिक पुर्नसंरचना कार्यान्वयन समिति’ का अध्यक्ष काशीराज दाहालले दुई दिन सम्म प्रशिक्षण दिएका थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै संविधानविद् दाहालले संक्रमणकाल विस्तारै अन्त्य हुदै गएकाले मुलुक अव विकासतर्फ अगाडी बढ्ने बताए । संक्रमणकालले गर्दा मुलुक पछाडी परेको स्पष्ट पार्दै उनले अब मुलुक प्रगतितर्फ उन्मुख हुने बताए । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकालाई नमुना बनाउने क्रममा सबै पार्टीको समान सहभागिता हुनुपर्ने बताए । उनले भने, ‘नमुना गाउँपालिका बनाउने क्रममा सबै पार्टीका जनप्रतिनिधिलाई समान दृष्टिले हेर्नेछु, यस अभियानलाई सबैले साथ दिनुस् ।’

स्थानीय सरकार बनेपछि खजुराबासीलाई कामको फरक अनुभुती दिलाउने प्रतिवद्धता उनले जनाए । नियमले मिल्ने काममा ढिलाई नगर्न र नमिल्नेलाई कसैको दवावमा नगर्न गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिलाई उनले आग्रह गरे । गाउँपालिका उपाध्यक्ष एकमाया बिकले स्थानीय सरकार कार्य सञ्चालन सम्बन्धी प्रशिक्षण पाउँदा आफु निकै उत्साहित भएको बताईन् । सिकेका कुरालाई व्यवहारमा उतार्न भोलीदेखी नै काम सुरु गर्ने उनको भनाई छ । ईन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले स्थानीय जनतालाई फाईदा पुरयाउनका लागी यस्ता कार्यक्रम संस्थाले गर्दै आएको बताए । खजुरा गाउँपालिकाका वडासचिव उत्तमसिंह सोढीले जनतालाई मुस्कान सहितको सेवा दिन सक्नुपर्ने बताए । साझेदारी विकास परियोजनाका शासन व्यवस्थापक गोविन्द अधिकारीको समेत उपस्थिती रहेको अभिमुखिकरण समापन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Womui
Womui