बालबालिकाको लागि बाँकेमा निकै कम बजेट

115

नेपालगन्ज-बालबालिकाको लागि १० प्रतिशतदेखि १५ प्रतिशतसम्म अनिवार्य रुपमा बजेट विनियोजन गर्नुपर्ने कानुनी प्रावधान भएपनि बाँकेका स्थानीय तहमा ५ देखि ८ प्रतिशतसम्म मात्र बजेट विनियोजन गरेको पाईएको छ । विगतको स्थानीय निकाय र हालको स्थानीय तहले आफ्नो पुजिगत बजेट मध्ये १० देखि १५ प्रतिशत सम्म बालबालिकाका लागि विनियोजन गर्नैपर्ने बाध्यात्मक कानुनी ब्यबस्था रहेको भएपनि जिल्लामा ५ देखि ८ प्रतिशतसम्म मात्र बजेट विनियोजन गरिएको पाईएको एक प्रतिवेदनले देखाएको छ । सेभ द चिल्ड्रेनले तयार पारेको ‘बाँके जिल्लाको स्थानीय निकायको बजेटमाः बालबालिका’ शिर्षकको प्रतिवेदनमा आर्थिक बर्ष २०७२/७३ मा कुल पूंजिगत बजेटको ८ प्रतिशत र २०७३/७४ को बजेटमा ५ प्रतिशत मात्र बालबालिकाका लागि विनियोजन गरिएको जनाईएको छ । २०७२/७३ मा बालबालिकाका लागि विनियोजन गरिएको १ करोड ९७ लाख रुपैयाँ मध्ये ३५ प्रतिशत रकम खर्च भएन् ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव ।

यस्तै २०७३/७४ मा विनियोजित ३ करोड ६९ लाख बजेट मध्ये ५ प्रतिशत रकम खर्च नभएको प्रतिवेदनमा उल्लेख छ । नेपालगन्जमा आयोजित एक कार्यक्रममा उक्त प्रतिवेदनलाई सार्वजनिक गर्दै सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत बीरेन्द्रकुमार थापाले निर्धारित रकम भन्दा कम गरी विनियोजित गरिएको बजेट समेतलाई पुरा खर्च नगरिएको पाईएको बताए । प्रतिवेदन जिल्लाका गाउँपालिका, नगरपालिका तथा उपमहानगरपालिकाका जनप्रतिनिधी र अन्य विभिन्न सरोकारवाला निकायको उपस्थितिमा सार्वजनिक गरिएको थियो । बालबालिकाका लागि छुट्याईएको बजेटहरु उनिहरुको क्षमता विकास तथा बालमैत्री क्रियाक्लापहरुमा खर्च गरिनुपर्नेमा बिद्यालयको पर्खाल निर्माण, धारा निर्माण, सडक निर्माण जस्ता अन्य बिभिन्न शिर्षकमा खर्च गरिएको पाईएको समेत प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले आजका बालबालिका भोलिका नेतृत्वकर्ता र भविष्यकर्ता भएको जनाउँदै उनीहरुका लागि कम्तीमा पनि २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने कानुनी ब्यवस्था गरिनुपर्ने बताए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगर, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख शोभा शाह, गैर सरकारी संस्था समन्वय समिति बाँकेका अध्यक्ष सपना भट्टराई, डुडुवा गाउँपािलकाका उपाध्यक्ष शाहिदा बानो, राप्ती–सोनारी गाउँपालिकाका उपाध्यक्ष धन कुमारी खत्री, नेपालगन्ज वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी लगायतले बोलेका थिए । कार्यक्रममा बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, महासचिव मिना तुलाधर र कार्यक्रम संयोजक आशिष बर्मा तथा कार्यक्रम अधिकृत राम श्रेष्ठ लगायत सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

Womui
Womui