सामुदायिक बिद्युतीकरणको काम अन्तिम चरणमा

105

नेपालगन्ज-बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ खासकुश्मास्थित ‘कुुसुम ग्रामिण सामुदायिक बिद्युतीकरण’को काम अन्तिम चरणमा पुगेको छ । बिद्युतीकरणका लागी केही पोलमा तार र ट्रान्सफर्मर जडान गर्न मात्र बाँकी रहेकाले काम अन्तिम चरणमा पुगेको नेपाल बिद्युत प्राधिकरण ग्रामिण सामुदायिक बिद्युतीकरण विभागले जनाएको छ । विभागका निर्देशक त्रिपुरेश्वर पुर्वेले कुसुमको बिद्युतीकरणको काम अन्तिम चरणमा पुगेको बताए । ‘कुसुमको बिद्युतीकरण अन्तिम चरणमा पुगिसकेको छ, अबको एक महिनाभित्रै बत्ती पक्का बल्छ,’ उनले टेलिफोनमा भने ।

ट्रान्सफर्मर पठाउने प्रक्रिया सुरु भईसकेकाले चाडै जडान हुने उनले ठोकुवा गरे । आर्थिक वर्ष २०७१÷७२ भित्रै साविक खासकुश्मा गाविसको वडा नम्वर १ देखी ९ सम्म बिद्युतीकरणको काम सम्पन्न गर्न ठेकेदार जनमुखी कन्ट्रक्सन कम्पनीले विभागसँग ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले तोकिएको समयभित्र काम नगरेर विभिन्न बहाना गर्दै पटक–पटक म्याद थप्दै आएको थियो । यसले गर्दा बिद्युतीकरणको काम विगत दुई वर्षदेखी सुस्ताएको थियो । सदरमुकाम नेपालगन्जबाट पुर्वमा अवस्थित कुसुम बत्ती मुनिको अध्यारो गाउँका रुपमा परिचित छ । गाउँबाटै बुटवल–कोहलपुर १३२ केभी प्रशारण लाईन भएपनि बर्षौदेखी यहाँका बासिन्दाहरु बिद्युत उपयोग गर्नबाट बञ्चित छन् । बिद्युत नहुँदा यहाँका बासिन्दाहरु कृषि, सिचाई, व्यापार, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायत सुविधाबाट बञ्चित हुने गरेका छन् ।

तोकिएको समयभित्र काम नगरेर ठेकेदारले पटक–पटक म्याद थप्दा निराश बनेका स्थानीय बासिन्दाहरु चाडै बत्ती बाल्न पाउनेमा आशामा छन् । ‘लामो प्रयास र मेहेनतपछि कुसुममा बत्ती बाल्ने कामले चाडै पुर्णता पाउँदैछ,’ बिद्युतीकरणको अगुवाई गर्दै आएका स्थानीय बासिन्दा पोषण केसीले भने ‘अब कुसुमको विकास क्रमिक रुपले अगाडी बढ्नेछ ।’ बिद्युतीकरणका लागी विभाग र ठेकेदारबीच करिव साढे ३ करोडको लागतमा ठेक्का सम्झौता भएको थियो । बुटवल–कोहलपुर १३२ केभी दोस्रो सर्किट आयोजना मार्फत खासकुश्मा–२ बैरियामा निर्मित सव–स्टेशनबाट २ हजार ८ सय २५ घरधुरीलाई बिद्युत सेवा उपलब्ध गराउने विभागको लक्ष्य छ । विभागका एक अधिकारीले कुसुमका बासिन्दालाई पर्याप्त मात्रामा पुग्ने करिव ३ एमबिए क्षमताको बिद्युत उपलब्ध गराईने बताए । यसका लागी कुसुमस्थित बैरियामा दुईवर्ष अघि नै सव–स्टेशन निर्माण सम्पन्न भईसकेको छ । बिद्युतीकरणको काम सम्पन्न भएपछि विभागले कुसुम ग्रामिण बिद्युत सहकारी संस्थाको जिम्मा लगाउनेछ ।

संस्थाका अध्यक्ष तेजबहादुर सुवेदीले तोकिएको समयभित्र ठेकेदारले काम सम्पन्न नगर्दाको आक्रोश स्थानीय स्तरमा आफुहरुले खेप्नुपरेको गुनासो गर्दै भने, ‘अब चाडै बत्ती बल्ने कुरा विभाग र ठेकेदारले मौखिक रुपमा आश्वस्त पारेकाले हामीपनि आशावादी छौं ।’ राजमार्ग क्षेत्र अन्तर्गत पर्ने सौरीदेखी सिक्टा सम्म गाडिएका पोलमा तार जडान गर्न बाँकी रहेको अध्यक्ष सुवेदीले जानकारी दिए । सो क्षेत्रमा करिव १५ सय थान पोल र १३ वटा ट्रान्सफर्मर जडान गर्नुपर्ने संस्थाले जनाएको छ । ठेकेदारको काम गर्ने शैली सुस्त रहेको र बीचमा बाँके राष्ट्रिय निकुञ्जको नीतिगत समस्याका कारण पनि केही समस्या परेको उनले बताए ।

बिद्युतीकरणका विषयमा विभिन्न निकायमा दवाव दिदै आएका राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले कुनैपनि बहानामा ठेकेदारले काममा अब ढिलासुस्ती गर्न नपाउने बताएका छन् । ‘विगतका वर्षमा पटक–पटक म्याद थप्ने तर काम नगरेको देखियो, अब पनि ठेकेदारले म्याद थपेर काम रोक्न पाउँदैन ।’ रोकिएको बिद्युतीकरण चाडो सम्पन्न गराउन गाउँपालिका गम्भिर रहेको बताए । बर्षौदेखी अलपत्र रहेको राप्तीसोनारीको बैजापुर, बिनौना र फत्तेपुर तथा नरैनापुर गाउँपालिकाको बिद्युतीकरण चाडो सम्पन्न गराउन पनि आफुहरुले दवाव दिइरहेको अध्यक्ष थारुको भनाई छ ।
-नागरिक पश्चिमेलीबाट साभार

Womui
Womui