एमाले-माओवादी एकीकरण प्रक्रिया शुक्रबारबाट

31

काठमाडौं-नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुवात शुक्रबारबाट सुरु हुने भएको छ । एमाले र माओबादीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको हो । बैठकमा पार्टी एकीकरणको अजेन्डादेखि पद बाँडफाँटसम्मका विषयमा छलफल हुनेछ । माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नागरिकसँग भने, ‘केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्दैछ, त्यसले एकीकरण प्रक्रियाबारे छलफल गर्ने तथा अजेन्डा तयार पार्ने काम गर्नेछ, त्यस बैठकमा जानुअघिको अजेन्डा तयार गर्न माओवादीले बैठक सम्पन्न गरिसकेको छ, अब एमालेले आन्तरिक बैठक सक्नेबित्तिकै संयुक्त बैठक बस्नेछ ।’ उनका अनुसार सो बैठकमा पेस गर्ने औपचारिक अजेन्डा र विषय तयार नपारिसकेकाले बैठक बस्न ढिलाइ भएको छ ।

माओवादीको गत ३ गतेको बैठकले एकीकरण प्रक्रियालाई प्राथमिकता दिने निर्णयसहित पदीय बाँडफाँटमा सम्मानजनक अवस्था दिलाउने म्यान्डेटसहित पार्टी नेतृत्वलाई जिम्मेवारी दिइसकेकोे छ । एमाले नेता सुबासचन्द्र नेम्बाङका अनुसार बिहीबार बस्ने स्थायी समिति बैठकमा माओवादीसँगको एकीकरण प्रक्रिया कसरी अगाडि लैजाने भन्नेबारे छलफल हुनेछ । ‘स्थायी समिति बैठकमा छलफलपछि एकता संयोजन समितिमा पार्टीका अजेन्डा लैजानेछौं,’ नेम्बाङले भने, ‘एकीकरणको तयारी बैठकका रुपमा आगामी स्थायी समिति बैठकलाई लिएका छौं ।’ उनका अनुसार उक्त बैठकले पार्टी एकीकरणलाई प्राथमिकतामा राखेर निर्वाचन परिणामको समीक्षा पनि गर्नेछ । केन्द्रीय संयोजन समितिमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायत छन भने माओवादीवाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता श्रेष्ठ, रामबहादुर थापालगायतका नेता सम्मिलित छन् । दुवै दलले आआफ्ना अजेन्डा शुक्रबारको बैठकमा पेस गर्दैछन् ।

Womui
Womui