नन्दलालको नयाँ यात्रा

237


अर्जुन ओली
नेपालगन्ज-नन्दलाल रोका(क्षेत्री), जसले झण्डै ५० वर्ष सम्म कम्युनिष्ट राजनीतिमा आफ्नो जीवन सर्मपित गरे । फलस्वरुप ६८ वर्षको उमेरमा अहिले उनी बाँकेको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नन्दलाल भन्छन्, ‘यसरी सांसद बनुला, भोली मन्त्री बनुला भन्ने खालको कुनैपनि सोचेको थिएन, तर पार्टीले ढिलै भएपनि प्रतिनिधि सभाको उम्मेदवार बनायो र मैले जिते, अब जनताको बीचमा जे जति जिम्मेवारी बहन गर्नुपर्नेछ, मैले गर्नुपर्छ ।’ निर्वाचन विजयी भएयता केहीदिनदेखी उनको दैनिकी फेरिएको छ । दिनहुँ जसो उनी अचेल आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई भेट्न घरदैलोमा पुगिरहेका छन् । जिल्लाकै पुराना कम्युनिष्ट नेताको सूचीमा पर्ने नन्दलालको जीवन निकै संघर्षपुर्ण रह्यो ।

सुर्खेतको साविक सिम्ता खानीखोला गाविसस्थित खान्मा भन्ने गाउँको माउली घरमा २००६ सालमा उनी जन्मिएका हुन् । सुर्खेतकै साविक बजिरीचौर गाविसस्थित बजेरा घर भएपनि जन्म, बाल्यकाल र शिक्षादिक्षा माउली घरमै भयो । नन्दलाल जन्मिनुभन्दा ४१ दिनअघि पिताको निधन भईसकेको थियो । गर्भावस्थामै ‘टुहुरो’ बन्न पुगेका उनलाई २२ वर्षको उमेरमै ‘विधवा’ हुन पुगेकी आमाले पालन पोषण गरी माईतीको सहारामा हुकाईन् । विगतलाई स्मरण गर्दै नन्दलाल भन्छन्, ‘बुवा मरेको ४१ दिनपछि जन्मेको टुहुरो मान्छे हुँ, मेरो आमा २२ बर्षमा विधवा भईन, आमाले माईती घरमा जन्माईन, हुर्काईन र पढाईन् ।’ पिताको माया पाउन नसकेका नन्दलाल सानै उमेरदेखी मेहनत र लगनशिल हुदै गए । ‘हुने विरुवाको चिल्लो पात’ भनेझै उनी हरेक कुरामा तेजिला थिए । संघर्षका बीच पनि नन्दलालले ‘एसएलसी सरह’ शिक्षा आर्जन गरे । बिद्यार्थी जीवनमै १८ वर्षको उमेर छदा कम्युनिष्ट राजनीतिमा उनको झुकाव भयो । २०२४ सालमा बाँकेको सितापुरमा पुर्नवासले जग्गा खोलेपछि उनको परिवार सुर्खेतबाट बसाई सरेर आयो ।

साविक सितापुर गाविस वडा नम्बर ४ (हाल खजुरा गाउँपालिका–२) मा पुर्नवासको जमिनमा बस्न थालेपछि उनी राजनीतिमा झन् सक्रिय भए । ‘मेरो राजनीतिक पृष्ठभुमी सतदेवसँग जोडिन्छ, मेरा गुरु सतदेव हुनुहुन्छ, उहाँले नै मलाई २०२४ सालमा पार्टीको सम्पर्कमा ल्याउनुभयो,’ नन्दलाल भन्छन् ‘२०२८ सालमा मैले ‘पुष्पलाल समुहको’ पार्टी सदस्यता पाए ।’ राजनीतिमा यति धेरै मेहेनत गरे, उनले कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका केन्द्रिय नेतासँग सम्बन्ध बढाए । तत्कालिन समयमा उनले वडा कमिटी, गाउँ कमिटि, ईलाका कमिटी हुदै जिल्ला कमिटीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरे । २०३९ देखी २०४७ साल सम्म उनले नेकपा माक्सवादीको जिल्ला कमिटीमा रहेर काम गरे । उनी भन्छन्, ‘२०३९ देखी २०४७ साल सम्म नेकपा (माक्सवादी) र नेकपा (माले) दुई वटा मिलेर संयुक्त पार्टी भईसकेपछि त्यसबेला म पार्टीको उपसचिव भए र त्यसबेला अञ्चल कमिटीमा ८ वर्षजति बसेको थिए ।’ अञ्चल कमिटीमा बस्दा बस्दै जिल्ला कमिटीको उपसचिव भएर पनि उनले काम गरेका थिए ।

नन्दलाल रोका(क्षेत्री) ।

२०३९ सालतिर उनी सितापुर गाउँ पञ्चायतको प्रधानपञ्च भएर काम गरे । ‘मैले त्यतिबेला मनमोहन अधिकारीलाई सोधेर प्रधानपञ्च भएको थिए, चार वर्षसम्म प्रधानपञ्च हुँदा दिनभरी पञ्चायतको काम र रातभरी पार्टीको काम गरिन्थ्यो,’ नन्दलाल सम्झन्छन् । त्यसयता उनी पार्टीको काममा निरन्तर रुपले लागिरहे । २०५४ सालमा जल्ला विकास समिति बाँकेको सभापतिमा चुनाव लडे नन्दलाल । तर पार्टी फुटेका कारण उनी जिविस सभापतिमा पराजित भए । ‘जिविस सभापतिमा मालेको तर्फबाट चुनाव लडेको थिए, धरौटी चाही जफत भएन,’ उनले भने ‘मैले ५ सय २३ भोट पाएको थिए, जित्नेले ७ सय ४२ मतले जितेको थियो ।’ २०४७ सालदेखी अध्यक्ष बन्ने कोसिस गर्दै आएका नन्दलाल २०६६ सालमा मात्र नेकपा एमाले बाँकेको अध्यक्ष बन्न सफल भए । ‘पार्टीको अध्यक्ष हुँदा मैले राम्रै काम गरे, नराम्रो काम गरिन्, मेरो कार्यकालको बेला बाँकेमा ३ वटा सिट जिताएँ,’ उनले भने ‘ऋणमा डुबेको पार्टीलाई मैले मुक्त गराउन सफल भएँ ।’

निर्वाचित भएपछि आयोजित विजयी उत्सवमा नन्दलाल रोका क्षेत्री(बीचमा) ।

पार्टीले ढिलै भएपनि आफुलाई मुल्यांकन गरेर टिकट दिएकाले आफु मतदाताको अमुल्य मत पाएर प्रतिनिधि सभामा निर्वाचित हुन सफल भएको नन्दलाल बताउँछन् । उनी भन्छन्, ‘मलाई यो उमेरमा ढिलैभएपनि पार्टीले टिकट दिएर मुल्यांकन गरेको छ, मलाई जिताउन आफ्नो अमुल्य मत दिनुहुने मतदाताप्रति म निकै आभारी छु ।’ आफुले जीवनमा धेरै संघर्ष र दुःख, कष्ट गरेका कारण जनताको सुख, दुःख तथा समस्या समाधान गरेरै आफ्नो पाँच वर्षे कार्यकाल बिताउने उनको सोच छ । ‘जनताको सुख, दुःखका समस्याहरु समाधान गर्न हाम्रो जिम्मेवारी रहनेछ,’ उनले भने । आफ्नो क्षेत्रमा विशेषगरी सुकुम्वासीलाई जग्गा जमिनको र जमिन भएका किसानलाई सिचाई सुविधाको समस्या रहेको नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रोका बताउँछन् । ‘तत्काल गर्नुपर्ने काम नै सुकुम्वासी समस्या समाधान गर्ने हो, यस्तै बाटोघाटोको समस्या र शिक्षा, स्वास्थ्यका समस्या छन् । यि समस्या समाधान हामीले तुरुन्तै गर्नुपर्छ ।’
-नागरिक पश्चिमेलीबाट साभार

Womui
Womui