वामदेवलाई हराएका सञ्जय भन्छन् : उहाँ नामको हेभीवेट हुनुहुन्थ्यो, म कामको

49

नेपालगन्ज-मंसिर २१ गतेको चुनावमा बर्दिया–१ बाट एमाले उपाध्यक्ष वामदेव गौतम कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भए । सञ्जयभन्दा ७ सय ५३ मत कम पाएका वामदेवले आफू अन्तर्घातको शिकार भएको बताएका छन् । प्रदेश सभा उम्मेदवारमा चित्त नबुझेको पार्टीभित्रकै एक समूह सुरुदेखि नै आफूलाई हराएको लागेको वामदेवको दाबी छ । असारमा भएको स्थानीय चुनावमा वडाअध्यक्षको मतलाई आधार मान्दा बर्दिया १ मा एमाले र माओवादीको संयुक्त मत कांग्रेसभन्दा ३१ हजार बढी थियो । एमाले र माओवादी गठबन्धनका सुत्रधारसमेत रहेका वामदेव हारको चर्चा अझै सेलाएको छैन । वामदेव हारको कारण खोजी गर्न एमाले र वाम गठबन्धनले छुट्टाछुट्टैसमिति बनाएर छानबिन थालेका छन् ।

वामदेवलाई हराएका सञ्जयलाई भने उनको जितको कारण के लाग्दो हो ? वामदेव किन हारे भन्ने लाग्दो हो ? सिचाइँ मन्त्रीसमेत रहेका सञ्जयलाई हामीले सोध्यौं, ‘वामदेवलाई हराएर तपाईँले कसरी चुनाव जित्नुभयो ?’ सञ्जयले आफूले चुनाव जित्नुका पछाडि मुख्य चार कारण रहेको बताए । पहिलो, स्थानीय राजनीति उनको पकड । तीन कार्यकाल बर्दिया कांग्रेसको सभापति भइसकेका सञ्जयले लामो समयसम्म स्थानीय स्तरमा लगातार काम गरेको फाइदा आफूलाई भएको बताए । उनी बर्दियाबाट यसअघि दुई चुनाव लडेका थिए, २०७० सालमा संविधानसभाको चुनाव जितेका थिए । ‘म त्यहाँका हरेक मुक्त कमैया बस्तीका मान्छेलाई चिन्छु, बडघरलाई चिन्छु, एमाले, माओवादी र फोरमका कार्यकर्तालाई पनि चिन्छु,’ उनले भने, ‘ म लो प्रोफाइलमा बस्ने मान्छे भएकाले उनीहरु सुखदुःखमा पुगेको हुन्छु, त्यही भएर पनि उनीहरुले मलाई भोट हाले ।’ २०७० सालमा वामदेवले बर्दियाका तीन मध्ये एक निर्वाचन क्षेत्र जितेका थिए ।

प्युठानबाट पनि चुनाव जितेका उनले उपनिर्वाचनमा बर्दिया छोडेका थिए । जितेर पछि बर्दिया छोडेको बिषयले पनि वामदेवलाई यसपालि घाटा भएको संजयको बिश्लेषण छ । ‘जसले संविधानमा त तिमीहरूको नाममा हस्ताक्षर गरेन, उसले अब तिमीहरुको विकास कसरी गर्छ भन्ने कुरा पनि मैले उठाएँ,’ सञ्जयले भने, ‘म त हिजो पनि यहीँ थिएँ, आज पनि यहीँ छु र भोलि पनि तिमीहरुसँगै हुन्छु ।’ उनले आफू जित्नुको दोस्रो कारण तरल मत भएको बताए । ‘स्थानीय चुनावको नतिजा हेर्दा त्यहाँ एमाले र माओवादीभन्दा कांग्रेस ३१ हजार मतले पछाडि थियो,’ सञ्जयले भने, ‘मलाई भने सुरुदेखि नै जित्छु भन्ने आत्मविश्वास थियो । किनकि, स्थानीय चुनावमा एमाले र माओवादीलाई भोट हाल्ने सबै उनीहरु कार्यकर्ता थिएनन् ।’ सञ्जयले कुनै पार्टीको सदस्यता नलिएका मतदाता ठूलो मात्रा छन् भन्ने थाहा पाएर लक्षित गरेर काम गरेको बताए। उनले एमाले र माओवादीका कार्यकर्ताको मत आफूलाई नआएको दाबी गरे । ‘एमाले र माओवादीका कार्यकर्ताले मलाई भोट हालेनन्, जनताको मत त उहाँहरुले रोक्न सक्नु हुन्न नि,’ सञ्जयले भने, ‘अन्तरर्घात भयोजस्तो मलाई लाग्दैन ।’

तेस्रो कारण, मतदातालाई उनीहरुका दैनिक जीवनसँग जोडिएका साना साना कुरा मात्र गर्छु बाचा भएको उनले बताए । ‘उहाँहरुले मुक्त कमैयालाई घर बनाइदिन्छौं, हरेक घरमा दुई रोजगारी दिन्छौं, अझ बर्दिया हुँदै रेल कुदाउँछौं पनि भन्नुभयो,’ सञ्जयले भने, ‘मैले ठूला कुरा गरिनँ । तिमीहरुलाई बिहान बेलुका दालभात खानको दुःख हुँदैन, बिरामी प¥यौ भने उपचार हुने अस्पताल बनाउँछु, मेरा छोराछोरी पढेकोजस्तै तिम्रा छोराछोरी पनि पढ्ने स्कुल बनाउँछु, हिउँदमा कुलो ल्याउँछ, बर्खामा नदी कटान रोक्छु ।’ आफूले उठाएका मुद्दाबारे उनले थप भने, ‘खुला सीमाका कारण भारतीय प्रहरीले बेलाबेलामा दुःख दिन्छ, त्यसलाई कम गर्न कुरा गर्छु, घरअगाडिको ग्राभेल बाटोमो धुलो उड्छ, त्यसलाई कालोपत्रे बनादिन्छु भनें ।’ मतदाताले किन तपाईलाई मत दिए? ‘सायद जनताले उहाँका ठूलाठूला सपनाभन्दा मेरा सानासाना कुरालाई ठिक ठानें, विश्वास गरे,’ उनले भने । आफू जित्नुको चौथो कारण वामदेव र गठबन्धनको भ्रम र दम्भ भएको उनले बताए । ‘उहाँलाई आफू हेभीवेट हुँ भन्ने भ्रम भयो, हो उहाँ नामको हेभीवेट नै हो, म त कांग्रेसको कार्यकर्ता मात्र हुँ, तर बर्दियाको काममा म उहाँभन्दा हेभीवेट हुँ,’ सञ्जयले भने, ‘वाम गठबन्धनको यति धेरै मत छ, हामी जितिहाल्छौं नि भन्ने दम्भ उहाँहरुमा भयो, यसअघि भोट हालेका सबै जनतालाई उहाँहरुले आफ्ना कार्यकर्ता ठान्नुभयो । जनता त कसैका कार्यकर्ता हुँदैनन् ।’

आफूले मतदातालाई प्रलोभनमा पारेको भन्ने आरोपको पनि उनले खण्डन गरे । ‘म मन्त्री भएको केही दिनमै आचारसंहिता लागु भइसकेको थियो, सधैँ लो प्रोफाइलमा बसेको मलाई मन्त्रीको प्रोफाइलमा चुनाव लड्न साँच्चै गाह्रो भयो,’ सञ्जयले भने । वामदेवको हार स्वभाविक भएको भन्दै सञ्जयले तर उनले आफू आफ्नै कारण हारेको कुरा स्वीर्कान नसकेको बताए । ‘हेभीवेट भनिने नेताहरु आफ्नो हारको जिम्मा आफैं लिनुको साटो अरु कसैका टाउकोमा थुपारिदन्छन्,’ सञ्जयले भने, ‘अहिले उहाँको हारको जिम्मा पनि अरुकै टाउकोका थोपर्न छानविन समिति गठन भएको देख्दा मलाई हाँसो पनि उठ्छ ।’
-सेतोपाटीबाट

Womui
Womui