बालबालिकाको संरक्षणमा वडा बालसंरक्षण समिति सक्रिय

259

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका भित्रका ४ वटा वडामा वडा बाल संरक्षण समिति गठन गरिएपछि बालबालिकाको संरक्षणमा उल्लेख्य कार्य भएको छ । वडा बाल संरक्षण समिति गठन गरिएपछि ती वडामा विभिन्न प्रकारका जोखिममा रहेका, अपांगता भएका र बिद्यालय जान नपाएका थुप्रै बालबालिकालाई सहयोग र सुरक्षा गर्नुका साथै उनिहरुलाई बिद्यालयमा भर्ना समेत गराउन सकिएको जनाईएको छ । नगर वडा बाल संरक्षण समिति र जिल्ला बाल कल्याण समिति बीच मंगलबार नेपालगन्जमा आयोजना गरिएको बार्षिक समिक्षा कार्यक्रममा सहभागी भएका वडा बाल संरक्षण समितिका पदाधिकारीले यस्तो बताएका हुन् ।

बाँके युनेस्को क्लबको आयोजना तथा सेभ द चिल्डे«नको सहयोगमा सम्पन्न भएको सो बार्षिक समिक्षा कार्यक्रममा बालबालिकाको संरक्षण, सिकाई, उपलब्धी, कार्यान्वयन लगायत बालबालिकाको मुद्दाका बारेमा समिक्षा गरिएको थियो । महिला तथा बालवालिका कार्यालयका प्रमुख तथा बाल कल्याण अधिकारी शोभा शाहले नगर वडा बाल संरक्षण समिति गठन गरिएपछि बालबालिकाको संरक्षणमा उल्लेख्य काम भएको पाईएको बताईन् । उनले यसलाई अझै बढी सक्रिय पार्नु आवश्यक रहेको जनाईन् । नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकारी कृष्णप्रसाद जोशीले अन्य वडामा पनि वडा बाल संरक्षण समिति गठन गर्नेतर्फ नगरपालिकाको ध्यान आकर्षित भएको बताए । सो अवसरमा वडा बाल संरक्षण समितिको तर्फबाट गोविन्द घिमिरे, शान्ति राना, श्वेता तिवारी र दुर्गा बाल्मिकीले वडा वडा बाल संरक्षण समितिका गतिविधी प्रस्तुत गरेका थिए । बाँके युनेस्को क्लबका सल्लाहकार निरज गौतमको सभापतित्वमा सम्पन्न भएको सो समिक्षामा बालबालिकाको लागि स्थानीय तहमा योजना तर्जुमा गर्दा बालबालिकाको मुद्दालाई बढि प्रथामिकताका साथ लागु गरिनुपर्ने सहभागीले जोड दिएका थिए ।

बालबालिकाको अधिकारका निम्ति गुणस्तरिय कार्यक्रम गर्न आवश्यक रहेको समेत बताएका थिए । स्थानीय स्तरमा समेत बालबालिकाको ख्याल गरि कार्यक्रम तर्जुमा गर्नुपर्ने सहभागीको जोड थियो । घरभन्दा बिद्यालयमा बालबालिकाको संरक्षण बढी हुने भएको ह्ुनाले सबै बालबालिकालाई बिद्यालयमा भर्ना अनिवार्य गर्न जागरुक हुन आवश्यक रहेको उनीहरुले बताए । समिक्षा कार्यक्रममा बाल अधिकार श्रोतव्यक्ति भिमराज अवस्थी, सेभ द चिल्ड्रेनका परियोजना अधिकृत बीरेन्द्र थापा, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक आशिष बर्मा, क्लबका कार्यक्रम अधिकृत राम श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए, भने क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, मिल अफिसर सोम डमनडौरा लगायतको उपस्थिती रहेको थियो ।

Womui
Womui