वाम गठबन्धनका ‘शुत्रधार’ बामदेवलाई हराउने को हुन् सञ्जय ?

129

नेपालगन्ज-वाम गठबन्धनका ‘शुत्रधार’ नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई बर्दियाको प्रतिनिधि सभा-१ बाट पराजित गरेपछि नेपाली काँग्रेसका नेता सञ्जय गौतम यतिखेर राजनीतिक वृत्तमा चर्चाको पात्र बन्न पुगेका छन् । नेपाली काँग्रेस बर्दियाका सभापति एवम् सिंचाई मन्त्री सञ्जय गौतमले एमाले नेता बामदेवलाई आईतबार सम्पन्न अन्तिम मत परिणामबाट ७ सय ५३ को मतान्तरले हराएका थिए ।

सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी बामदेवले ४४ हजार ७६ मत प्राप्त गरेका थिए । राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको बर्दिया क्षेत्र नम्बर १ मा काँग्रेस नेता सञ्जयले चुनाव जितेपछि भने यतिखेर वाम गठबन्धनभित्र ठुलो तरंग पैदा भएको छ । बिद्यार्थी आन्दोलनबाट पार्टीको राजनीतिमा स्थापित भएका सञ्जयको बर्दियामा ठुलो योगदान रहेको जिल्लाका नागरिक समाजका अगुवाहरु बताउँछन् ।

जिल्लाको विकास निर्माणका साथै राजनीतिक र सामाजिक क्षेत्रमा सञ्जयको महत्वपुर्ण योगदान छ । सञ्जय नेपाली काँग्रेस बर्दियाको दुई पटक सभापति भईसकेका छन् । त्यसअघि पार्टीको सचिव लगायत विभिन्न पदमा बसेर जिम्मेवारी सम्हालेका थिए । २०२० साल बैशाख १३ गते बुबा किशोरकुमार गौतम तथा आमा रक्षा गौतमको कोखबाट जन्मेका गौतमले अर्थशास्त्रमा स्नातक गरेका छन् । २०३६ सालमा उनी राजनीति क्षेत्रमा प्रवेश गरेका थिए । सञ्जयले २०३६ र २०४६ सालमा जेल जीवन समेत बिताए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा साविक बर्दियाको क्षेत्र नम्बर २ बाट उनी निर्वाचित भएका थिए । सञ्जयलाई यस चुनावमा आफ्नो गृह नगर गुलरिया नगरपालिका क्षेत्रको मत परिमाणले जित्न सहज गरायो । स्थानीय तहको निर्वाचनमा बारबर्दिया, बाँसगढी, बढैयाताल नगरपालिकाको मेयरमा वाम गठबन्धन र गुलरिया नगरपालिकामा नेपाली काँग्रेसले जितेको थियो । बर्दियाको प्रतिनिधि सभा क्षेत्र नम्वर १ वाम गठबन्धनको राम्रो पकड भएको क्षेत्रका रुपमा चिनिन्थ्यो ।

गत असारमा सम्पन्न स्थानीय तहको चुनावमा उक्त क्षेत्रबाट वाम गठबन्धनले चुनाव जितेको थियो । गृहनगर गुलरिया नगरपालिकामा सञ्जयले २ हजार ८ सय ९३ मतले बामदेवलाई पछाडी पारेका थिए । बारबर्दिया नगरपालिकामा बामदेवले अग्रता लिने विश्वास वाम गठबन्धनले गरेपनि बामदेवप्रति रुष्ट बनेका बर्दियाका कार्यकर्ताले मत नदिएको स्थानीय स्तरमा चर्चा छ । वामगठबन्धन हावी भएको ठाउँमा झिनो मतले सञ्जय विजयी भएपछि मुलुकका अधिकांस ठाउँमा हार बेहोरेको नेपाली काँग्रेसले राहतको अनुभुती गरेको छ । यसअघि बर्दिया क्षेत्र नम्बर १ बाट ३ पटक विजयी र २ पटक पराजित भएका बामदेवले दोस्रो संविधान सभाको निर्वाचन २०७० मा बर्दिया र प्यूठानबाट दुई ठाउँमा चुनाव जितेका थिए । त्यतिबेला प्युठान रोजेका कारण उनीसँग बर्दियाली रुष्ट थिए । एमाले उपाध्यक्ष बामदेवले बर्दियामा कुनैपनि विकासका काम नगरेको आरोप चुनाव प्रचारका क्रममा उनले खेप्ने गरेका थिए । बामदेवले चुनावको संघारमा आफ्ना छोरा हरिश गौतमलाई उम्मेदवार बनाउन खोजे । उनको ईच्छाप्रति बर्दियाका एमाले कार्यकर्ताले बिरोध जनाएपछि आफै चुनाव लड्ने निधो गरेका थिए । बामदेवले आफ्नी पत्नी तुल्सा थापालाई सामानुपातिकमा पारेपछि कार्यकर्ताहरु उनीप्रति झनै असन्तुष्ट बनेको बर्दियाका एमालेजन बताउँछन् ।

 

 

Womui
Womui