‘विकासका लागी पाँच वर्षमा मिलेर काम गर्नेछु’ : पुर्वमन्त्री राई

69

नेपालगन्ज- बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सदस्य मोहम्मद ईस्तियाक राईले नेपालगन्ज क्षेत्रको समग्र विकासका लागी सबैसँग सहकार्य गरिने बताएका छन् । निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्न सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मसँग ठुलो अपेक्षा गरी क्षेत्र नम्बर २ का बासिन्दाले अमुल्य मत दिएर जिताउनु भएको छ, विकास गर्नका लागी मैले जनताको प्रतिनिधित्व गरेको हुँ, त्यसकारण अबको पाँच वर्षमा मिलेर काम गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा बोल्दै बाँके प्रतिनिधि सभा-२ बाट निर्वाचित मोहम्मद ईस्तियाक राई ।

चुनावमा कसैको पनि जय–पराजय नभएको बताउँदै आफुसँग प्रतिस्पर्धामा आएका उम्मेदवारसँग पनि सहकार्य र समन्वय गर्ने प्रतिवद्धता जनाए । ‘मलाई यसक्षेत्रका हिन्दु, मुस्लिम, सिख र ईसाई धर्मका दाजुभाई दिदि बहिनीले अमुल्य मत दिएर जिताउनु भयो, त्यसकारण मैले अब धर्म र जातभन्दा माथी उठेर जनताको साझा प्रतिनिधिको हैसियतले विकासको नेतृत्व गर्छु,’ पुर्वमन्त्री राईले भने । आफुलाई धर्म र जातसँग जोडेर नहेर्न उनले पटक–पटक अनुरोध गरेका थिए ।

नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन, यहाँको सडक, ढल समस्या समाधान गर्न तथा संविधान संशोधन गरी असमानताको अन्त्य गर्न विशेष पहल गर्ने उनको भनाई छ । यसका साथै नेपालगन्जमा पर्यटन प्रर्वद्धन गर्न, महत्वपुर्ण धार्मिक स्थल बागेश्वरी मन्दिर तथा मस्जिद, गुरुद्धारा तथा चर्चको संरक्षणमा पनि ठोस पहल गर्ने प्रतिनिधि सभा सदस्य राईले बताए । आफ्नो पार्टी सरकारमा गएपनि/नगएपनि क्षेत्र नम्बर २ को विकासका लागी आफु डटेर लाग्ने प्रतिवद्धता जनाए । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका पशुपति दयाल मिश्रलाई पराजित गरी राई निर्वाचित भएका हुन् । यसअघि २०६४ सालमा संविधान सभा सदस्यमा निर्वाचित भएका राई श्रम तथा यातायात मन्त्री समेत भएका थिए ।

Womui
Womui