सवारी पास दुरुपयोग नगर्न पत्रकारलाई सचेत

38

नेपालगन्ज-नेपाल पत्रकार महासंघ बाँकेले निर्वाचनका लागी सवारी पास अनुमतिपत्र प्राप्त सवारी साधनमा पत्रकार र सञ्चार क्षेत्रका बाहेक कुनैपनि व्यक्ति, राजनीतिक दल कार्यकर्ता र उम्मेदवारलाई नराख्न तथा नबोक्न सचेत गराएको छ । महासंघ बाँकेका सचिव तिलक गाउँलेले बुधबार एक विज्ञप्ती जारी गरी पत्रकारले आफू प्रयोग गर्ने सवारी साधनको दुरुपयोग गरेको वा गर्न लगाएको पाइएमा कडाभन्दा कडा कारवाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

‘निर्वाचनका बेला सञ्चारकर्मीलाई निर्वाचन आचार संहिता र पत्रकार आचार संहिता पालना गर्दै ऐतिहासिक निर्वाचनको समाचार संकलन र संप्रेषण गर्न महासंघ आह्वान गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ‘मतदान र मतगणनाको समयमा समाचार संकलन र छायांकनको सहज व्यवस्था गर्न महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’ यो निर्वाचनले संक्रमणकालको विधिवत अन्त्य भई संविधानसभाबाट जारी भएको संविधान पूर्ण कार्यान्वयनको बाटो खुल्ने विश्वास महासंघले लिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनका पक्षधर आमनेपाली सञ्चारकर्मीहरुको तर्फबाट महासंघ निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित ढंगबाट सम्पन्न होस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ ।

Womui
Womui