बाँकेमा मतदानको सम्पुर्ण तयारी पुरा

100

नेपालगन्ज-दोस्रो चरण अन्तर्गत बिहीबार हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदानका लागी सम्पुर्ण तयारी पुरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले तयारी पुरा भएको जानकारी दिएको हो । कार्यालयका अनुसार बाँकेमा १ सय ३६ मतदान स्थलमा रहेका ३ सय २७ वटा मतदान केन्द्रमा मतदान हुनेछ । बिहीबार बिहान ७ बजेदेखी सुरु हुने मतदान बेलुका ५ बजे सम्म चल्नेछ । निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका प्रमुख बसन्त अधिकारीले जानकारी दिए । उनले भने, ‘निर्वाचनको सम्पुर्ण तयारी पुरा भएर अब मतदान गर्न मात्र बाँकी छ ।’

अधिकारीका अनुसार बुधबार पनि दिनभर मतदाता परिचय पत्र वितरणसँगै मतदान स्थल निर्माण लगायतका काम गरिएको थियो । बाँकेमा यसपटकको निर्वाचनमा कुल २ लाख ७६ हजार ७ सय १८ जना मतदाता मतदानमा भाग लिदैछन् । स्थानीय प्रशासनका अनुसार मतदान स्थलको भित्री सुरक्षाको जिम्मा नेपाल प्रहरी र म्यादी प्रहरीलाई दिइएको छ । यस्तै बाहिरी सुरक्षाको जिम्मा सशस्त्र प्रहरी र नेपाली सेनाले लिएको स्थानीय प्रशासनले जनाएको छ ।

मतदान सकिए लगत्तै बिहीबार बेलुका सम्म सबै मतपेटिकाहरु सदरमुकाम नेपालगन्ज ल्याउने व्यवस्था गरिएको छ । तीन वटै क्षेत्र र प्रदेश सभाको मत गणना स्थानीय भेरी प्राविधिक शिक्षालयको सभा हलमा गरिनेछ । मतगणना स्थलको सुरक्षा व्यवस्था पनि अत्यन्तै चुस्त पारिएको छ । मत गणनास्थलमा सिसि क्यामेरा जडान गरिएको बताइएको छ ।

Womui
Womui