प्रदेश नम्वर ५ को चुनावमा २४ हजार बढी सुरक्षाकर्मी परिचालन

99

नेपालगन्ज-दोस्रो चरणमा यही मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी नेपाल प्रहरी प्रदेश नम्बर ५ कार्यालयले सुरक्षा योजना लागु गरेको छ । प्रदेश नम्वर ५ का १० जिल्लामा हुन गईरहेको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था लागु गरिएको प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरिक्षक(एआईजी) मधु पुडासैनीले बताएका छन् । मतदातामा त्रास श्रृजना तथा भ्रम श्रृजना गर्ने, डरधम्की देखाउने, बम राख्ने, विष्फोट गराउने लगायतका निर्वाचन विरोधी गतिविधि विरुद्ध केन्द्रिय सुरक्षा योजना अनुसार प्रदेश नम्बर ५ मा पनि सुरक्षा व्यवस्था लागु गरिएको उनको भनाई छ ।

निर्वाचन सुरक्षा व्यवस्थाबारे जानकारी दिदै प्रदेश नम्बर ५ का प्रहरी कार्यालय तुलसीपुरका प्रमुख(एआईजी) मधु पुडासैनी ।
तस्बिर : प्रदेश प्रहरी कार्यालय

दोस्रो चरण अन्तर्गत प्रदेश नम्बर ५ का बाँके, बर्दिया, दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रुपन्देही र नवलपरासी(पश्चिम) १० जिल्लाका १ हजार ५ सय १ मतदानस्थल तथा ३ हजार १ सय ६६ मतदान केन्द्रमा दोस्रो चरणको निर्वाचन हुदैछ । उक्त निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी र म्यादी प्रहरी गरी २४ हजार बढी जनशक्ति र सशस्त्र प्रहरी तथा नेपाली सेनाको पर्याप्त सुरक्षाकर्मी परिचालन भएर प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको एआईजी पुडासैनीले बताएका छन् । ‘निर्वाचनका लागी सबै सुरक्षा निकाय र निर्वाचन सम्वद्ध अन्य निकायसँगको समन्वयात्मक रुपमा निर्वाचन सुरक्षा व्यवस्थापन गरिएको छ,’ प्रदेश नम्बर ५ प्रहरी कार्यालयद्धारा जारी प्रेस नोटमा भनिएको छ । यस्तै सिमा नाकाबाट हुन सक्ने अवैध हातहतियार र विष्फोटक पदार्थको ओसार–पसार रोक्नका लागी कुकुर सहित चेकजाँच व्यवस्था मिलाइएके, संवेदनसिल तथा संकित स्थानमा खोजीकार्य गर्दै हातहतियार तथा विष्फोटक पदार्थ सहित मानिसहरु पक्राउ समेत गरिएको कार्यालयले जनाएको छ ।

प्रदेश नम्बर ५ का जिल्लामा चेक प्वाईन्ट खडा गरी सघन चेकिङको व्यवस्था मिलाइएको, निर्वाचनको मिति नजिकिदै गएकाले मादक पदार्थ ओसार–पसार र विक्री वितरणमा रोक लगाइएको, कार्यक्रम स्थलको सुरक्षाका लागी कुकुर सहितको जनशक्ति परिचालनमार्फत भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको एआईजी पुडासैनीले बताएका छन् । ‘निर्वाचन विरोधी गतिविधी हुन नदिन सबै जिल्लामा सवारी साधन, होटल, लज, कारखाना, डेरा तथा अन्य संवेदनशिल स्थानमा निगरानी बढाइएको र आवश्यक्ता अनुसार खानतलासी, बरामदी र पक्राउ गर्ने व्यस्था मिलाईएको छ,’ प्रदेश नम्बर ५ प्रहरी कार्यालयले उल्लेख गरेको छ । अहिले सम्म निर्वाचन विरोधी गतिविधिमा संलग्न १ सय ३८ जना व्यक्तिलाई नियन्त्रणमा लिई १ सय २५ जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको पनि एआईजी पुडासैनीले जानकारी दिएका छन् । निर्वाचनको पुर्वसन्ध्यामा निर्वाचन आयोगका आयुक्त सहित प्रदेश नम्बर ५ का प्रहरी प्रमुख पुडासैनी तथा अन्य सुरक्षा निकायका पदाधिकारी सहभागी भएको टोलीले कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, दाङ जिल्लाको अनुगमन गरिसकेको बताइएको छ ।

Womui
Womui