‘हिन्दु राष्ट्र फर्काउन एकिकृत राप्रपालाई भोट’

95

नेपालगन्ज-हिन्दु राष्ट्र फर्काउनका लागी एकिकृत राप्रपा(राष्ट्रवादी)का उम्मेदवारले सोमबार नेपालगन्जबासीसँग प्रत्यक्ष भेटगरी भोट मागेका छन् । उक्त पार्टीको कार्यालय सदरलाईनबाट सुरु भएको घरदैलो सोमबार त्रिभुवन चोक, त्रिवेणी मोड, घरवारी टोल लगायत ठाउँमा पुगेको थियो । घरदैलोका क्रममा एकिकृत राप्रपा(राष्ट्रवादी) का केन्द्रिय सह–प्रवक्ता एवम् प्रतिनिधि सभा–२ बाँकेका उम्मेदवार तेजनारायण कँडेल, पार्टीका सहायक महामन्त्री कौशल आचार्य, निर्वाचन प्रचार-प्रसार समितिका अध्यक्ष बलबहादुर ओली, समानुपातिक उम्मेदवारहरु गिता सिंह कल्पना थापा, सविता रिजाल, प्रचार–प्रसार समितिका सचिव अमित कँडेल लगायतको सहभागिता रहेको थियो । अन्तिम घरदैलोका क्रममा एकिकृत राप्रपा(राष्ट्रवादी) का उम्मेदवारहरुले देशलाई हिन्दु राष्ट्रमा फर्काउने एजेण्डा बोकेर आफुहरु चुनावी मैदानमा उत्रिएको बताउँदै मतदातासँग यसपटक सहयोग गर्न आग्रह गरेका थिए ।

त्यस क्रममा उम्मेदवार कँडेलले भने, ‘नेपाललाई हिन्दु राष्ट्रमा फर्काउने एजेण्डा बोकेर हामी चुनाव लडेका हौं, त्यसकारण तपाईहरुको भावनालाई प्रतिनिधित्व गरेर हामी संसदमा जानेछौं, निर्वाचित गराउनु भयो भने हामी हिन्दु राष्ट्रमा फर्काउन संसदको टेबुल ठोक्ने काम गर्छौ ।’ आफुहरुले जनताको मतको सदुपयोग गर्ने कँडेलले वाचा पनि गरे । घरदैलोमा भटिएका अधिकांस मतदाताले हिन्दु धर्मको अस्तित्व समाप्त गर्न खोजिएकोमा चिन्ता व्यक्त गर्दै एकिकृत राप्रपालाई मतदान गर्ने प्रतिवद्धता जनाएको कँडेलले बताएका छन् । हिन्दु राष्ट्रका पक्षधरले आफुलाई भोट दिन भएकाले जित सुनिश्चित रहेको कँडेलको भनाई छ । उनले भने, ‘यो चुनाव देशलाई हिन्दु राष्ट्रमा फर्काउन चाहने शक्ति र धर्मनिरपेक्ष राष्ट्र कायम राख्ने शक्तिबीचको जनमत संग्रह हो ।’

क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका १७ जना उम्मेदवार मध्ये आफुले मात्र हिन्दु राष्ट्रको वकालत गर्दै आएका जिकिर गरे । ‘देशलाई हिन्दु राष्ट्रमा फर्काउन चाहनुहुन्छ, भने यो चुनावमा एकिकृत राप्रपा(राष्ट्रवादी)लाई भोट दिएर जिताउनुस्, नत्र यो देशमा हिन्दु धर्म, सँस्कृति अझ लोप भएर जाने निश्चित छ,’ उम्मेदवार कँडेलले भने । बाँकेबासीले यसपटक चारकुना भित्रको हलोमा मतदान गरेर हिन्दु राष्ट्र फर्काउने अभियानलाई साथ दिने उनले अपिल समेत गरेका छन् ।

Womui
Womui