‘राजनीति र विकासका कर्मठ व्यक्तित्व’ बादसाह कुर्मी

236

नेपालगन्ज-बादसाह कुर्मी, समाज सेवा र राजनीतिका बादसाह नै हुन् भन्दा अतिशयोक्ति नहोला । हुनत आफुलाई त्यो रुपमा कहिल्यै राखेनन् तर पनि उनको राजनीतिक क्रियाशिलता, योगदानका आधारमा होला उनलाई दुबै क्षेत्रको बादसाह नै मान्दछन् । नेपाली काँग्रेसका चर्चित नेता बादसाह कुर्मी यतिबेला बाँके क्षेत्र नम्बर ३ मा चुनावी दौडमा छन् । २०६४ र २०७० सालमा दुई पटक समानुपातिक सभासद भएर आफुले गरेका कामको आधारमा उनी मतदाता कहाँ पुगिरहेका छन्् । ‘समानुपातिक सभासद भएर मैले आफ्नो सांसद विकास कोषबाट जति कामहरु गरे, त्यसको मुल्यांकन गरिदिन आग्रह गर्दैै अहिले क्षेत्र नम्बर ३ का मतदाताको घरदैलोमा पुगिरहेको छु,’ लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रतिनिधि सभा–३ का उम्मेदवार कुर्मी भन्छन् ।

नेपाली काँग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय शुसिल कोईरालासँगको निकटता र पार्टीमा गरेको लामो संर्घषका कारण राजनीतिमा फड्को मारेका कुर्मीले क्षेत्र नम्बर २ र ३ ( साविक क्षेत्र नम्बर ३ र ४ ) मा गरेका भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रमा गरेको कामको स्थानीय स्तरमा गर्व गर्न लायक देखिन्छन् । निर्वतमान सांसद रहेका उम्मेदवार कुर्मीको पहलमा क्षेत्र नम्बर २ र ३ मा थुप्रै सडकको स्तरोन्नती गरिएको छ । उनकै पहलमा बाँकेको साईगाउँ–मनिकापुर हँुदै कोहलपुरको चटार जोड्ने २४ किलोमिटर सडक कालोपत्रे निर्माणको काम सम्पन्न हुँदैछ । यस्तै भन्सार रोडदेखि शिवपुरी सम्मको सडक, विपी चोकदेखी साहदत्तपुर सम्मको सडक, वाटरपार्कदेखी बनियागाउँ-गुरुवा गाउँ-बकसपुर हुदै छत्तरपुर सम्मको कालोपत्रे, तेजनगरदेखि जुगुनभरिया हँुदै खजुरारोड जोड्ने सडक, खजुरा खुर्दको नहर हँुदै गिजरा गाउँ हुँदै लाईनपुर सम्मको सडक, जोगागाउँदेखि बढैया सम्मको सडक, परस्पुरदेखि गौघाट सम्मको सडक, आर्दश नगरदेखि साईगाउँ सम्मको सडक कालोपत्रे गर्न निर्वतमान सांसद कुर्मीको योगदान रहेको छ । यस्तै परसपुरदेखि राधापुरसम्मको सडक कालोपत्रे गर्न डिपिआर तयार भएर चाडै काम सुरु हुने तयारीमा छ । यसका साथै कुर्मीले सामाजिक कामको रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुरमा ज्ञान सागर उच्च माध्यामिक बिद्यालय स्थापनादेखी प्लस टु कक्षा सञ्चालन गर्न सफल भए ।

यस्तै जोगागाउँ र गुरुवा गाउँमा रहेका दुई वटा ताललाई पर्यटकिय स्थलको रुपमा विकास गर्न ताल संरक्षणका लागी आवश्यक बजेट विनियोजन गरेका थिए । नेपालगन्जमा ‘कुमोद–बोध’ नामक चक्रपथ (२७ किमी) निर्माणका लागी नेता कुर्मीले नै विशेष पहल गरेका थिए । जुन चक्रपथ निकट भविष्यमा कार्यान्वयनको प्रक्रियामा आउँदैछ । नेपालगन्जमा सिटी हल निर्माणका लागि सरकारले बार्षिक ५० लाख रुपैयाँ विनियोजन गर्दै आएको छ । कुर्मीको सक्रियतामा सरकारले आफ्नो नियमित बजेटमा समावेश गरेको हो । कुर्मीले आफ्नो राजनीतिक यात्राका क्रममा विकासका लागि ग्रामिण र शहरी क्षेत्रमा ठुलो योगदान गरेका छन् । खजुरामा क्यान्सर अस्पताल निर्माणका लागी स्थानीय बासिन्दाले गरेको प्रयासलाई अझ सार्थक बनाउन सुशिल कोईरालामार्फत नेपाल सरकारबाट बार्षिक रुपमा करोडौं बजेट विनियोजन गराउन सफल भएका थिए । यस्तै नौवस्तामा औद्योगिक क्षेत्र स्थापना गर्न पनि कुर्मीको योगदान छ । पिछडिएको क्षेत्रमा कृषि, शिक्षा, स्वास्थ्य, बिद्युत विस्तारका लागी उनले गरेको योगदान अविष्मरणीय छ । २०१५ साल असोज १५ गते साविक परस्पुर गाविसमा जन्मिएका कुर्मीले आर्दशनगरमा रहेको सरकारी बिद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका थिए । कक्षा ६ देखी ९ सम्मको पढाई भने उनले नेपालगन्जस्थित मंगलप्रसाद माध्यामिक बिद्यालयमा गरे ।

कुर्मीले त्यसपछिको पढाई भने भारतबाट पुरा गरेका थिए । रुपैडिहास्थित रामजानकी कलेजबाट एसएलसी र प्लस टु उर्तीण गरेका हुन् । २०३६ सालको जनमत संग्रहमा जब उनी सहभागी भए, त्यसपछि उनलाई राजनीतिको नसा लाग्यो । ‘गाउँघरका सबैले मलाई राजनीतिमा लाग्नुपर्छ भनेर सल्लाह सुझाव दिनुभयो, त्यसपछि मैले आफुलाई राजनीति क्षेत्रमा उभ्याउने प्रयास गरेको हुँ,’ विगत सम्झिदै उनी भन्छन् । फलस्वरुप २०४३ सालमा पञ्चायत विरुद्ध नेपाली काँग्रेसका तर्फबाट कुर्मी चुनाव लडे । तर, झिनो मतले उनी पराजित हुन पुगे । त्यसपछि उनले आफुलाई राजनीतिमा झनै सक्रिय बनाए । २०४६ सालको जनआन्दोलनमा उनी सक्रिय रुपमा सहभागी भए । उनले थपे– ‘आन्दोलनका क्रममा त्यतिबेला मेरो हात भाँच्चिएको थियो, तरपनि मैले हार खाएन, झनै उत्साहित भए ।’ उनी २०४९ र २०५४ सालमा दुई पटक नेपाली काँग्रेसको तर्फबाट परसपुर गाबिस अध्यक्षमा निर्वाचित भए । गाविस अध्यक्ष हुँदा उनले आफ्नो ठाउँमा गरेको विकास निर्माणको कामको स्थानीय स्तरमा अहिले पनि प्रशंसा हुन्छ । स्थानीय निकायमा दुई पटक अनुभव लिईसकेपछि उनले पार्टीको जिल्ला स्तरमा आफ्नो पहुँच बढाए ।

जिल्ला सदस्यबाट कार्यसमितिमा छिरेका उनी २०६२÷६३ मा कुर्मी नेपाली काँग्रेस बाँकेको कार्यबाहक सभापति समेत भए । काँग्रेस नेता कुर्मी पार्टीको विभिन्न महाधिवेशनका लागि अहिले सम्म ५ पटक महाधिवेशन तथा महासमिति सदस्य भईसकेका छन् । २०४८ र २०५६ सालमा दुई पटक आफ्नो पार्टी विजयी भएको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका कुर्मी यसपटक पार्टीका ईतिहास दोह¥याउने कसरतमा छन् । दुई पटक समानुपातिक सभासद भएर काम गरिसकेका कुर्मीको जोश, जाँगर, उत्साह अहिले पनि उत्तिकै छ । उनको व्यक्तित्वबाट क्षेत्र नम्बर ३ का मतदाता प्रभावित छन् । चुनाव जितेपछि संविधान संशोधन, तराई मधेसको मागको सम्बोधन, क्षेत्र नम्बर ३ को सडक, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसायको विकास गर्ने उम्मेदवार कुर्मीको धोको छ । आफु गाविस अध्यक्ष भएदेखि दुई पटक समानुपातिक सांसद भएर गरेका कामको उचित मुल्यांकन यसपटकको चुनावमा मतदाताले गर्नेमा उनी विश्वस्त छन् ।

Womui
Womui