आचार संहिता विपरित टाँसिएका पोष्टर, झण्डा लोकतान्त्रिक गठबन्धनले आफै हटायो

31

नेपालगन्ज-निर्वाचन आचार संहिता विपरित नेपालगन्ज उपमहानगर क्षेत्रमा टाँगिएका र झुण्ड्याइएका ब्यानर, पोष्टर तथा पम्प्लेटलाई लोकतान्त्रिक गठबन्धनले आईतबार आफै हटाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीन दिनभित्र आचार संहिता विपरित टाँगिएका पोस्टर, पम्प्लेट, झण्डा तथा ब्यानर, हटाउन उम्मेदवार तथा राजनीतिक दललाई तीन दिनको अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएको तीन दिनपछि लोकतान्त्रिक गठबन्धनले आफै हटाएको हो ।

आचार संहिता विपरित टाँगिएका आफ्ना निर्वाचन सामाग्री हटाउँदै लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता ।

लोकतान्त्रिक गठबन्धनमा आवद्ध राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको अल्टिमेटम अनुसार आफै निर्वाचन सामाग्री हटाइएको बताएका छन् । पोष्टर, पम्प्लेट, ब्यानर हटाउन राप्रपा निकट युवक संगठनमा आवद्ध युवाहरु आईतबार विभिन्न ठाउँमा परिचालित भएको देवकोटाले जानकारी दिए । ‘हामीले आफ्ना सामाग्री आफै हटाएका छौं, तर अरु पार्टीले आचार संहिता उल्लंघन गरिरहेका छन्, उनीहरुको गतिविधीलाई कसले निग्रानी गर्ने ?’ देवकोटाले भने ।

यही मंसिर ६ गते नेपालगन्जमा सम्पन्न सर्वपक्षिय र सर्वदलिय बैठकबाट राजनीतिक दल र उम्मेदवारलाई ब्यानर, पोष्टर, पम्प्लेट तथा झण्डा हटाउन अल्टिमेटम दिएको थियो । उक्त बैठकमा उपस्थित राजनीतिक दल तथा उम्मेदवार आफैले हटाउने लिखित प्रतिवद्धता जनाएका थिए । मुख्य निर्वाचन अधिकृत कार्यालयले दिएको अल्टिमेटम पुरा भएपनि वाम गठबन्धन र संघिय समाजवादी फोरमले अटेरी गर्दै आएको लोकतान्त्रिक गठबन्धनले जनाएको छ । ‘वाम गठबन्धन र फोरमले निर्वाचन आयोगको निर्देशनलाई अटेरी गरेर आचार संहिता उल्लंघन गरिरहेका छन्,’ लोकतान्त्रिक गठबन्धनले भनेको छ । राजनीतिक दल र उम्मेदवारले सार्वजनिक स्थलमा राखेका आफ्ना पोष्टर, पम्प्लेट, ब्यानर तथा झण्डा नहटाए निर्वाचन कार्यालयले प्रहरीको सहयोगमा आफै हटाउने र हटाउँदा लाग्ने खर्च उनीहरुसँग असुल्ने चेतावनी दिएको थियो ।

 

Womui
Womui