जीप दुर्घटनाः शोकमा डुब्यो रुकुम

142

रुकुम-जीप दुर्घटनामा परी दम्पती सहित ७ जनाको मृत्यु भएपछि शनिबार रुकुम जिल्ला पुरै शोकमा डुबेको छ । शोकमा डुबेको रुकुममा शनिबार मुसिकोट, रुकुमकोट लगायत ठाउँका बजार सुनसान बन्न पुगेका छन् । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुम सदरमुकाम मुसीकोट खलंगातर्फ जादै गरेको जन्ती बोकेको जीप शुक्रबार बेलुका दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार ग १ ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिका वडा नम्वर ६ कालिमाटिमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी रुकुमकोट निवासी प्रहरी निरीक्षक (जिल्ला ट्राफिक प्रहरी प्रमुख सुर्खेत) नविन श्रेष्ठ र उनकी पत्नी प्रहरी निरीक्षक अनिता प्रधान तथा मुसीकोट नगरपालिका वडा नम्वर १ निवासी जनक शाही, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ र सुरेखा शाह श्रेष्ठ, त्रिवेणी गाँउपालिका वडा नम्वर १ की यमुना मल्ल शाही रहेका छन् । प्रहरी निरीक्षक श्रेष्‍ठ नेपाल प्रहरीको (PGDPS 7th Batch) र उनकी पत्‍नी प्रहरी निरीक्षक अनिता (PGDPS 8th Batch) का हुन् । प्रहरी निरिक्षकद्धय नविन र अनिता सहित ७ जनाको निधन भएको घटनाप्रति सामाजिक सञ्जालमार्फत थुप्रैले श्रद्धाञ्जली दिएका छन् ।

दुर्घटनामा परी घाइते भएका चालक तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर १६ निवासी प्रेम सिउजाली थापा, सह–चालक बाँफिकोट गाउँपालिका मग्माका प्रेम केसी र बर्दियाका टेकबहादुर खत्री गम्भीर घाइते भएका छन् । घाईते मध्ये ३ जनालाई थप उपचारका लागी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

 

Womui
Womui