‘मर्नुभन्दा अघि समृद्ध नेपालगन्ज हेर्ने धोको छ’

68

पश्चिम क्षेत्रका एक मात्र चर्चित प्लाष्टिक सर्जन हुन्, डाक्टर विनोद कर्ण । लामो समयसम्म चिकित्सा क्षेत्रमा काम गरेका उनले धेरैको ज्यान बचाए । यतिमात्र नभएर उनले गतवर्षदेखी नेपालगन्जमा सरसफाई अभियानको सुरुवात गरेर धेरैको ध्यान केन्द्रित गराए । उनको सक्रियतापछि अन्य व्यक्तिले सरसफाई अभियानलाई सामाजिक कामको रुपमा अनुशरण पनि गरे । अहिले उनी सामाजिक कामसँगै राजनीतिमा चर्चाको पात्र बन्न सफल भएका छन् । आसन्न प्रदेश सभा निर्वाचनमा बाँके प्रदेश सभा–२ ‘ख’ बाट उनले प्रतिस्पर्धा गर्दैछन् । चिकित्सक पेशाबाट मासिक रुपमा १०/१२ लाख रुपैयाँ सम्म आम्दानी गर्ने डा. कर्णको राजनीतिमा एक्कासी हाम फाल्नुको खास कारण के हो त ? चुनावी प्रचारमा ब्यस्त रहेका उनीसँग पत्रकार खगेन्द्र दाहालले विशेष संवाद गरेर जिज्ञासा मेटाउने कोसिस गरेका छन् :-

निर्वाचनको तयारी कस्तो छ ?
तयारी त अब अरु ठुला भनियका पार्टिहरु जस्तो वडा वडामै केन्द्रित त छैनौं । हाम्रो संगठन त्यति बिस्तार नभएकाले यस्तो भएको हो । तरपनि हामीले आफ्नो तर्फबाट चुनावको तयारी व्यापक बनाएका छौं । घर–घरमा पुगिरहेका छौं । अहिले हाम्रो प्रचार गर्ने शैली भनेकै घर–घरमा पुग्ने हो ।

तपाईले उमेदवारी किन दिनु भएको हो ?
नेपालगन्ज आफैमा ओझेलमा पर्न थालिसकेकाले नेपालगन्जलाई केही राम्रो बनाउन सकिन्छ की भनेर मैले उम्मेदवारी दिएको हुँ । जुन किसिमले अन्य दलहरुले साझेदारी गरेका छन्, त्यो केबल सत्ता प्राप्तीका लागी भएको देखिन्छ । सत्ता प्राप्तिका लागी निर्वाचनमा लागेकाहरुलाई यस स्थानको एतिहासिक, धार्मिक, सामाजिक रुपान्तरणको विकासको लागि कुनै मतलब नराखेकाले पछि झनै ढिलो हुनुभन्दा म एक सचेत र स्थानीय भएको नाताले पनि जनताले हाल्नुहुनेछ । म नेपालगन्जको पहिचान मेटाउने षडयन्त्र रचेकाहरुको इच्छा पुरा गर्न दिनेछैन ।

यो निर्वाचनका लागी तपाईको के प्रतिवद्धता छ ?
निर्वाचनको लागी हाम्रो केन्द्रको एक प्रतिद्धता छ । हामीले समग्र राष्ट्रलाई कसरी समृद्ध बनाउने भन्ने छ, जसमा म पनि पुरा सहमत छु । र अर्को मेरो स्थानीय प्रतिवद्धता पनि छ । जसमा सबैभन्दा पहिला नेपालगन्जलाई यस क्षेत्र नम्वर ५ को राजधानी किन नबनाउने भन्ने नै हो । मेरो उम्मेदवारीको मुख्य एजेण्डा भनेको नै नेपालगन्जलाई प्रदेश नम्बर ५ को राजधानी बनाउनका लागी हो । अर्कोकुरा बाँके जिल्ला देशकै दोस्रो भष्ट्राचार भएको जिल्लाका रुपमा आउने गरेको छ । यस क्षेत्रमा हुने गरेको भष्ट्रचारलाई शुन्यमा झार्ने प्रयास गर्नेछु । यस क्षेत्रमा सुशासन कायम गर्नका लागी पनि मेरो उम्मेदवारी हो । अर्कोचाही यहाँका युवाहरु ९० प्रतिशत भन्दा बढी बेरोजगार छन् । उनीहरु देश तथा विदेशमा रोजगारीका लागी भौतारिरहेका छन्, केही कुलतमा फसेका छन् । त्यो हटाउनका लागी यो नगरलाई म उद्यमशिल नगरका रुपमा विकशित गर्न चाहान्छु । त्यो सँगै यसक्षेत्रमा मनोरेल चलाउँछु त भन्दिन यदी म नीति निर्माणको ठाँउमा पुगे भने आम जनतालाई सहज जीवनयापन गर्ने वातावरणको निर्माण गर्नेछु । नेपालगन्जको राँझा विमानस्थललाई सीजनको समयमा अन्तराष्टीय उडानको अनुमति लिने व्यवस्था मिलाउने छु । यहाँको शिक्षा व्यवसायीक वनाउने गरी काम गर्नेछु । नेपालगन्ज शहर मृत शहरको रुपमा परिणत भइरहेको छ । यसलाई जिवित शहरका रुपमा विकास गर्ने प्रतिवद्धता जनाउँछु ।

आम मतदाता के भन्छन् ?
आम मतदाता एकदमै उत्साहित छन् । नेपालगन्जमा मतदाता दुई किसिमका छन् । घरदैलो गर्दा मैले गरेको अनुभव अनुसार एकतर्फी युुवाहरु परिवर्तन चाहने छन, उनीहरुले देशमा जसरीपनि परीवर्तन चाहिने इच्छा व्यक्त गरेका छन् । युवाहरुको सोच स्थापित पार्टीहरु जुन लगातार वा आलो–पालो होस् सत्तामा बसेका छन् । उनीहरुबाट खासै परिवर्तन भएको महसुस युवाले गरेका छैनन् । युवाहरुले आफ्नो भविष्य दोधारमा रहेको गुनासो सुनाउने गरेका छन् । अहिलेको स्थितीमा रोजगारसँगै उद्यमशिलता, गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताएका छन्, भने अर्को थरी यथास्थितीवादी मतदाता छन् । उनीहरु देश र समाज भन्दा पार्टीमा बढी विश्वास गर्छन् । उनीहरु समाजको विकास, उद्यमशिलता तथा आर्थिक क्रान्ती होस् भन्ने केही मतलब लिदैनन् । उनीहरु बेहोसी हालतमा छन् । म त भन्छु उहाँहरु बेहोसीमै बस्न रुचाउनु हुन्छ ।

चुनाबमा बोलेका प्रतिवद्धतालाई जितेर गएपछि धेरैले बिर्सन्छन् भन्ने आरोप छ नी ?
हो, यो एकदम सही हो । नेताहरुले प्रतिबद्धता नै यस्तो बोलेर गएका हुन्छन् कि त्यो सम्भब नै छैन् । अन्य ठुला ठुला पार्टीका प्रतिबद्धता हेर्नुस् दुई महिनामा विश्वको सुन्दर शहर बनाइदिने, मनोरेल चलाउने जस्ता छन् जो सम्भब छैनन् । तर मेरा प्रतिबद्धता सम्भव छन् । ति सब कुराका लागी म यहाँ बस्छु । मलाई पनि ती कुराहरु चाहिन्छ । म नीति निर्माण तहमा पुगे भने मैले किन नगर्ने ? म यहाँ आउनुको अर्को कारण म यहाँ बस्छु । नेपालगन्जमा मलाई मनोरेलको आवश्यक्ता छैन । बरु नगरलाई हराभरा बनाउन, व्यवस्थित बनाउन आवश्यक छ । जसका लागी मेरा प्रतिबद्धता छन् । औकात बाहिरको सपना म देखाउँदिन् । यहाँका जनताले भोगिरहेको सरोकारको विषयलाई मैले उठान गर्ने हो । नेपालगन्जले भनिरहेको छ । म मरभुमी छु, हराभरा बनाउ । जुन कुरा मैले महसुस गरिरहेको छु । मलाई लाग्दैन कि यी कुराका लागी म कतै भाग्न पर्छ या नेपालगन्जलाई बिर्सन पर्छ ।

तपाईको मुख्य प्रतिष्प्रर्धी दल÷उम्मेदवार को हो जस्तो लाग्छ ?
निर्वाचनमा हेर्नुस् जति पनि उम्मेदवारहरु छन् । सबैले म नै जित्छु भनेका हुन्छन् । मेरा लागी सबै बराबर छन् । सबै साना–ठुला दल मेरा लागी समान छन् । सबैसँग जोडिनुपर्ने अवस्था छ । निर्वाचनमा हार–जित हुन्छ । जो स्वभाविक छ । जसले जितेपनि हारेपनि आफुले गरेका प्रतिबद्धता पुरा गरुन् । साथै प्रतिद्धन्दी उम्मेदवारका यस्ता प्रतिवद्धता जुन नेपालगन्जको भलाईका लागी छन्, त्यो पनि पुरा गरुन् । हामीले नेपालगन्जलाई बनाउनुपर्छ । मर्नुभन्दा अघि यो समृद्ध नेपालगन्ज हेर्ने धोको छ ।

अन्त्यमा, तपाई आफ्नो आम मतदातालाई के भन्नुहुन्छ ?
म आम मतदातालाई आफ्नो पुर्ण विवेक प्रयोग गर्न अनुरोध गर्छु । विवेकशील साझा पार्टी विकल्पका रुपमा तपाईलाई लाग्छ र यसले केही गर्छ भन्ने लागेको छ, भने कृपया भोट दिनुहोला । मतपत्रमा छाप लगाउँदा तीन पटक सोच्नुहोला । म पाँच वर्षसम्म धुलो÷धुवाको नेपालगन्जमा बस्ने हो या सफा सुग्घर हरियाली नेपालगन्जमा । अझपनि हाम्रा दाजुभाई तथा दिदी बहिनीलाई बिदेश पठाईरहनु पर्ने हो की ? यही रोजगारी सृजना गरी प्रगतीको बाटोमा लम्कने हो । यदी दोस्रो विकल्प सही लाग्छ भने तराजुमा भोट हाल्नुहोला । तपाई नठान्नुहोला की तपाईको जिम्मेवारी भोट हाल्नु मात्रै हो । तपाईको जिम्मेवारी सही उम्मेदवारलाई भोट हाल्नु पनि हो । तपाईलाई विवेकशील साझा पार्टी सही लाग्छ भने निर्धक्कसँग भोट हाल्नुस् ।

Womui
Womui