उपमहानगरपालिकाको पौने ३ अर्ब बजेट प्रस्तुत

125

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिकाले पौने ३ अर्ब बजेट प्रस्तुत गरेको छ । नेपालगन्जमा शुक्रबार एक समारोहका बीच उपमहानगरपालिकाले २ अर्ब ७७ करोड ९ लाख एक हजार ५ सय ९६ रुपैयाँको आय/व्यय प्रस्ताव प्रस्तुत गरेको हो । उपमहानगरपालिकाको प्रथम नगर सभाले चालु २०७४/७५ को लागि आन्तरिक तथा बाह्य श्रोतबाट कुल आय दुई अर्ब ७७ करोड ९ लाख एक हजार ५ सय ९६ हुने अनुमान गरेको छ । उपमहानगरपालिकाका उप–प्रमुख उमाथापामगरले चालु वर्षमा आन्तरिक श्रोतको आय १३ करोड ५१ लाख ७५ हजार, बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदान गरि दुई अर्ब ५७ करोड ५८ लाख ५६ हजार समेत कुल आय दुई अर्व ७७ करोड ९ लाख एक हजार हुने अनुमान बजेट सार्वजनिक गरेकी थिईन् । अनुमानित बजेट अन्तगर्त चालु खर्च ५६ करोड १७ लाख १९ हजार (२० प्रतिशत) र पुँजीगत खर्च दुई अर्व २० करोड ९१ लाख ८२ हजार ५ सय ९६ (८० प्रतिशत) हुने अनमान छ ।

प्रथम नगर सभामा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख उमा थापामगर ।

गत आ.व. २०७३/७४ मा आन्तरिक श्रोततर्फ १२ करोड १६ लाख २५ हजार आय अनुमान गरिएकोमा १० करोड ३१ लाख ५२ हजार राजश्व असुली गरिएको छ । आम्दानीको करिव ८५ प्रतिशत लक्ष्य पुरा भएको देखिन्छ । ‘नेपालगन्ज नेपालको पर्यटकीय द्धारः शिक्षा, स्वास्थ्य, कषि, उद्योग र व्यापार विकासको मुल आधार’ भन्ने नारासहितको सार्वजनिक भएको वार्षिक बजेट, नीति तथा कार्यक्रममा नेपालगन्जलाई केही वर्षमै विकासको उत्कृष्ट नमूना शहर बनाउन उच्च प्राथमिकता दिनेमा जोड दिइएको छ । प्रस्तुत प्रतिवेदनमा उपमहानगरपालिकाले आर्थिक तथा राजश्व बृद्धि र आन्तरिक व्यवस्थापन सुधारलाई पनि जोड दिइएको छ । कर दस्तुर, शुल्क दायरा विस्तार, सार्वजनिक जग्गाको अभिलेख, कर नबुझाउनेलाई सेवा सुविधाबाट बञ्चित, बसपार्क निर्माणपछि बिभिन्न शुःल्क, कर, वहालकर व्यवस्थित र वृद्धि, ट्राफिक व्यवस्थापन, भ्रष्टाचार मुक्त, सुशासनयुक्त प्रशासनको प्रर्वद्धन गरिने नीति अघि सारिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको प्रथम नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख डा. धवलसम्शेर राणा ।

नगर प्रमुख डा. धवल शमशेर राणाले नगरको समग्र विकासका लागि विभिन्न शिर्षकमा नीति तथा कार्यक्रम समेटेका छन् । नेपालगन्जलाई स्मार्ट सिटीका रुपमा विकास गर्न योजना बनाउने, नगरको नयाँ पञ्चबर्षिय योजना तयार गरिने, एशियाली विकास वैंकको सहयेगमा सञ्चालित सडक, ढल, नाला, ल्याण्ड फील साइड लगायत योजनालाई प्राथमिकता दिने, चक्रपथ निर्माणमा पहल गरिने, डुवानमुक्त, प्लाष्टिकमुक्त शहर, वातावरण मैत्री नगर बनाउन एक घर एक चर्पी, एक व्यक्ति एक विरुवा र एक वडा एकबाल उद्यान बनाउने, भवन आचार सहिंता पालना गर्ने/गराउने नीति तथा कार्यक्रममा समेटिएको छ । यस्तै नगरका घर र वाटोको नक्साकन गर्ने, नगरलाई स्वस्थ दुध, मासु र अण्डमा निर्भर गराइने निती, राँझा बिमानस्थललाई अन्तराष्ट्रिय बिमानस्थल बनाउन पहल गर्ने, प्रबिधीयुक्त गौशाला, बैकल्कि स्टेडियम निर्माण, पर्यटन विकासका लागी नगरका महत्वपूर्ण स्थान बागेश्वरी मन्दिर लगायत सबै धर्मका पवित्र स्थानलाई व्यवस्थित गरि सहिष्णुता कायम राख्ने, मनिकापुरमा इको टुरिजम पार्क, सुर्खेतरोडमा हरियाली प्रर्वद्धन् कार्यक्रमलाई प्रभावकारी बनाउने, क्लिन नेपलगन्ज ग्रीन नेपालगन्जका लागि सफा टोल अभियान सञ्चालन गर्ने, सार्वजनिक जग्गा, ताल, इनारको संरक्षण, बाल श्रम/बाल विवाहमुक्त समाज निर्माण र पूर्ण साक्षरता घोषणालाई प्राथमिकता दिने, स्थानीय सञ्चामाध्यमससँगको सहकार्य लगायत काम गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नगरसभा उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, काँगे्रस बाँकेका सभापति किरण कोइराला, एमाले अध्यक्ष अशोक कोइराला, राप्रपाका अध्यक्ष नरेन्द्र पौडेल, संघीय समाजवादी फोरमका अध्यक्ष कमरुद्धिन राई, राजपाका केशवराम बर्मा, पुर्व जिविस सभापति ओमप्रकाश जंग राणा, पुर्व मेयर विजय गुप्ता, पुर्वउपमेयर ओमप्रकाश आजाद, समसुद्धिन सिद्धिकी, नेपालगन्ज उद्योग बाणिज्य संघ अध्यक्ष नन्दलाल बैश्य, पत्रकार महासंघ बाँके अधयक्ष ठाकुरसिंह थारु, गैसस महासंघ बाँकेका सचिव नमस्कार शाह लगायतले शुभकामना मन्तव्य तथा सुझाव, सल्लाह दिएका थिए । नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, नगर सदस्य, सम्बद्ध विज्ञ लगायतको सहभागितामा सर्वसहमतीका साथ नगरसभा सम्पन्न भएको प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईले जानकारी दिए ।

Womui
Womui