बाँके क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठबन्धनको आक्रामक प्रचार

138

नेपालगन्ज-राप्रपा र काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट बाँके क्षेत्र नम्वर ३ का प्रतिनिधीसभा उम्मेदवार बादसाह कुर्मी, प्रदेश–३ क का उम्मेदवार चन्तराम थारु र प्रदेश–३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले आफ्नो क्षेत्रमा प्रचार–प्रसार आक्रामक बनाएका छन् । २०६४ र २०७० मा उक्त क्षेत्रमा वामपन्थीले जितेपनि यसपटक नेपाली काँग्रेसको पक्षमा जनलहर देखिएको प्रदेश सभा–३ ख का उम्मेदवार शाहले बताए ।

उक्त क्षेत्रमा पर्ने जानकी गाउँपालिकाको इन्द्रपुर, रम्भापुर, मानपुर लगायतका स्थानमा बुधवार भएको घरदैलो अभियानका क्रममा ७६ बर्षीय मोनिहार धोबीले भन्नुभयो, ‘मुलुकलाई विकास र समृद्धि चाहिएको बेला कम्युनिष्टलाई स्वीकार गर्न सकिदैन ।’ घरदैलोका क्रममा अधिकांश मतदाताहरुले सडक र कृषिको समस्या सुनाएका निर्वाचन प्रचार–प्रसार समितिका संयोजक रमेश सिजालीले जानकारी दिए ।

उनका अनुसार सडक पिच गरिनुपर्ने, कृषिमा अनुदान दिइनुपर्ने, सिचाई सुविधा उपलब्ध गराउनुपर्ने माग स्थानीय बासिन्दाले राखेका छन् । काँग्रेस बाँकेका पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, दलित संघका केन्द्रीय उपाध्यक्ष कृष्ण बि.क रसाइली, महिला संघका अध्यक्ष नारायणी रुपाखेतीलगायत जिल्लातहका नेताहरु सम्मेलित घरदैलो अभियानमा प्रतिनिधिसभा उम्मेदवार कुर्मीले स्थानीयले उठाउँदै आएको समस्या समाधानका लागि आफु प्रतिवद्ध रहेको भन्दै निर्वाचित गराएमा सबै समस्या समाधान हुने विश्वास दिलाए ।

प्रदेशसभा ख का उम्मेदवार शाहले पनि बामगठबन्धन विरुद्ध एक ढिक्का भएर लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गरे । ‘मुलुकलाई हामी विकास दिन चाहान्छौं,’ उनले भने –‘तपाईसँगै रहेर काम गर्न चाहान्छांै, तपाईका समस्या आफ्नै समस्या ठानेर अघि बढ्ने छौं ।’ त्यस्तै क्षेत्र नम्बर ३ को रनियापुरमा चुनाबी सभा गरिएको छ । त्यसक्रममा प्रतिनिधीसभा उम्मेदवार कुर्मीसँगै प्रदेशसभा क का उम्मेदवार चन्तराम थारुले सम्बोधन गर्दै प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागी काँग्रेस नेतृत्वको गठबन्धनलाई जिताउन अपिल गरेका थिए । चुनावी सभामा ठूलो मात्रामा स्थानीयबासीको सहभागिता रहेको थियो ।

Womui
Womui