ईतिहास दोहोर्याउने दाउमा काँग्रेस र माओबादी

243

नेपालगन्ज– आसन्न प्रतिनिधी सभा निर्वाचनका लागी बाँके क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका माधवराम खत्री र माओबादी केन्द्रका महेश्वरजंग गहतराज(अथक)बीच कडा टक्कर हुने देखिएको छ । वाम गठबन्धनका अथकलाई नेकपा एमालेको समर्थन रहेको छ, भने लोकतान्त्रिक गठबन्धनका खत्रीले राप्रपा र राप्रपा प्रजातान्त्रिकले समर्थन पाएका छन् । २०४८ सालयता उक्त क्षेत्रमा नेपाली काँग्रेसले २ पटक र राप्रपा, माओबादी र एमालेले एक/एक पटक चुनाव जितेका छन् । २०४८ र २०५६ मा नेपाली काँग्रेस, २०५१ राप्रपा, २०६४ मा नेकपा माओबादी र २०७० मा नेकपा एमालेले जितेको थियो ।

भौगोलिक क्षेत्रफलका हिसाबले उक्त निर्वाचन क्षेत्रले जिल्लाको कुल क्षेत्रफलको झण्डै आधाभन्दा बढी क्षेत्र ओगटेको छ । यो क्षेत्रमा कोहलपुर नगरपालिका तथा राप्तीसोनारी र नरैनापुर गाउँपालिका पर्दछन् । पहाडी, मधेसी, थारु समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रमा काँग्रेस आफ्नो पुरानै ईतिहास दोहो¥याउने रणनीतिमा छ, भने माओबादी केन्द्र यसपटक किल्ला गाड्न खोज्दैछ । नेपाली काँग्रेस र माओबादीले जित्न एमाले र राप्रपाको मत निर्णायक हुने स्थानीय बासिन्दाको विश्लेषण छ । माओबादी केन्द्रले यसपटक पनि पुरानै उम्मेदवार खडा गरेको छ । माओबादीक केन्द्रका केन्द्रिय सदस्य गहतराज २०७० को निर्वाचनमा तेस्रो स्थानमा आएका थिए । काँग्रेस क्षेत्र नम्बर १ का सभापति खत्री पहिलो पटक उम्मेदवार बनेका हुन् । काँग्रेसभित्रै खत्रीका धेरै विरोधी छन् । पार्टीभित्रैबाट उनलाई खतरा छ । यदी उनले आफ्ना नेता र कार्यकर्तालाई मिलाउन सके भने चुनाव जित्ने स्थिती देखिन्छ ।

बाँकेको १ नम्बर क्षेत्र राप्ती अञ्चलबाट बसाई सराई गरी आएका बासिन्दाको बसोबास रहेको छ । त्यसमा पनि दाङ र सल्यानको बाहुल्यता बढी छ । सुरुदेखी नै काँग्रेसको गढ मानिएको क्षेत्र भएकाले र खत्री पनि दंगाली भएकै कारणले काँग्रेसभित्रैबाट ईमान्दारीपुर्वक सहयोग पाए, खत्रीले जित्ने स्थिती देखिएको हो । माओबादीका अथक पार्टीभित्र केन्द्रसम्म परिचित भएपनि बाँके १ नम्बर क्षेत्रका जनतामाँझ भने परिचित कम छन् । द्धन्द्धकालको राजनीति रुकुमबाट गरेपनि द्धन्द्ध अवधिभर उनको बसोबास र घुलमेल बढी बर्दिया क्षेत्रमा भयो । उनले द्धन्द्धका बेला बर्दियाको सोरहवा गाविसलाई नै आधार मानेर पार्टीमा काम गरे ।

शान्ति प्रक्रिया पश्चात उनी नेपालगन्जमा बसोबास गर्न थाले । यसले गर्दा अथकलाई बाँके–१ बाट मतदाताको भोट पाउन गाह्रो स्थिती देखिन्छ । तर, एमालेसँग गठबन्धन भएकाले र कोहलपुर क्षेत्र एमालेको बाहुल्यता भएकाले यदी एमालेका मत तितर बितर नभए अथकले जित्ने सम्भावना देखिन्छ । काँग्रेसलाई उक्त क्षेत्रमा जित्नका लागी थोरै सहयोगी मतको आवश्यकता पर्छ, भने माओबादीलाई जित्नका लागी धेरै मतको आवश्यकता पर्छ । काँग्रेसको धेरै मत छ भन्ने आँकडा २०४८ सालको निर्वाचनदेखी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामले पुष्टी गर्दछ । स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्र अन्तर्गत पर्ने कोहलपुर नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली काँग्रेस, राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस र तथा नरैनापुरको अध्यक्ष र उपाध्यक्षमा संघिय समाजवादी फोरमले जितेको थियो । आसन्न निर्वाचनका लागी क्षेत्र नम्बर १ बाट खत्री र गहतराज सहित कुल १० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Womui
Womui