बाँके र बर्दियामा ६३ जना नयाँ कुष्ठरोगी

179

नेपालगन्ज, माघ १२-
बाँके र बर्दियामा ६३ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ कुष्ठरोगी पत्ता लगाउन गाउँ–गाउँमा परिचालित भएका स्वास्थ्यकर्मीले दुई दिनको अवधीभित्र बाँकेमा ३० र बर्दियामा ३३ जना कुष्ठरोगी फेला पारेका हुन् । कुष्ठरोग निवारण अभियान अन्तर्गत बाँके र बर्दियामा माघ १० देखि १४ गते सम्म गाउँ–गाउँमा टोली परिचालित भएका छन् । दुबै जिल्लाको जोखिम क्षेत्रमा स्वयंसेवक र स्वास्थ्यकर्मी परिचालन गरेर घरदैलोमार्फत कुष्ठरोगीको पहिचान गर्न सुरु गरिएको हो ।

पत्रकार अन्तरक्रियामा क्षेत्रीय स्वास्थ्य निर्देशक रिता भण्डारी जोशी र जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्का ।
पत्रकार अन्तरक्रियामा क्षेत्रीय स्वास्थ्य निर्देशक रिता भण्डारी जोशी र जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्का ।

बाँकेको चिसापानी, राधापुर, उढरापुर, सितापुर, मनिकापुर, बागेश्वरी, इन्द्रपुर, बेलभार, खजुराखुर्द, नौवस्ता, महादेवपुरी, लक्ष्मणपुर, कालाफाँटा सहित २५ वटा गाविस कुष्ठरोगको उच्च जोखिममा रहेको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । अभियान अन्तर्गत बाँकेमा दुई दिनको अवधीमा ५ सय ११ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ३० जना बिरामी फेला परेको र बर्दियामा ५ सय ५४ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ३३ जना फेला परेको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । अभियानबारे जानकारी दिन बुधबार नेपालगन्जमा आयोजित पत्रकार अन्तरक्रियामा क्षेत्रीय स्वास्थ्य निर्देशक रिता भण्डारी जोशीले मध्यपश्चिमको बाँके मुलुकको सबैभन्दा बढी जोखिमयुक्त जिल्लाको रुपमा रहेको बताईन् ।

kustha-rog-presintation

कुष्ठरोगी पत्ता लगाउनकै लागी बाँके र बर्दियामा माघ १० देखि १४ गते सम्मका लागी अभियान सञ्चालन गरिएको जानकारी उनले दिईन् । पत्रकार अन्तरक्रियामा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले घरदैलो अभियान र बिद्यालयमा पुगेर कुष्ठरोगी पत्ता लगाउन सुरु गरिएको बताए । ‘सुरक्षा निकायको क्याम्पमा पुगेर पनि कुष्ठरोगीको पहिचान गर्ने हाम्रो सोच छ,’ उनले भने । रोग लुकाउने समस्याले गर्दा पहिचान गर्न गाह्रो हुने गरेको खड्काले बताए । रोग पहिचान भएका बिरामीको उपचार विभिन्न स्वास्थ्य संस्थामा भइरहेको जानकारी दिए । बाँकेमा प्रति १० हजार जनसंख्या बराबर २.९६ जना कुष्ठरोगका बिरामी छन्, भने बर्दियामा २.७६ जना बिरामी छन् । आइएनएफको साईनिङ अस्पताल नेपालगन्जका क्लिनिक इन्चार्ज निर्मला बुढामगरले कुष्ठरोगी पहिचान गर्न जनस्वास्थ्य कार्यालयसँग सहकार्य गरिरहेको बताईन् ।

Womui
Womui