मन्दिरको सम्पत्तीमा भारतीय बाबाको रजाई

206

विजय मल्ल
नेपालगन्ज, माघ १२-
नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ८ रानी तलाऊस्थित कठमहल मन्दिरको सम्पत्तीमा भारतीय बाबा गांगादासले लामो समयदेखि रजाई गरिरहेको खुलेको छ । बाबाले मन्दिरको सम्पत्तिमा आफू खुशी गर्न थालेपछि यस्तो रहस्य बाहिर आएको हो । करिव ८ बर्ष पहिले मन्दिरमा प्रवेश गरेका गांगादास बाबाले मन्दिर ब्यवस्थापन समितिको निस्क्रियताको फाईदा उठाउँदै चल तथा अचल सम्पत्तीमा रजाई गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

नेपालगन्ज-८ रानी तलाउस्थित कठमहल मन्दिर । तस्बिर : विजय मल्ल
नेपालगन्ज-८ रानी तलाउस्थित कठमहल मन्दिर । तस्बिर : विजय मल्ल

ऐतिहासिक धरोहरका रुपमा स्थापित उक्त मन्दिरको नाममा रहेको जग्गा तथा मन्दिर सँगै बनेका सटरको भाडा पनि बाबाले आफूखुशी उठाउने र खर्च गर्ने गरेको पाइएको छ । वि.सं. २००४ मा मेवालाल बनियाले जिर्ण रहेको मन्दिरको मर्मत सम्भार गरेर संरक्षणको भूमिका निर्वाह गर्दै आएका थिए । त्यसपछि मन्दिर संरक्षण तथा विकासका लागि २०५६ सालमा श्रीचन्द्र भगावन शंकर मन्दिर कठमहल ब्यवस्थापन समितिका नाममा संस्था स्थापना गरियो । तर, उक्त संस्थाले २०६६ सालमा मात्र जिल्ला प्रशासनबाट कानुनी मान्यता प्राप्त ग¥यो । मन्दिरमा जबरजस्ती आफ्नो एकाधिकार जमाएका बाबाले विभिन्न चरणमा मन्दिर परिसरमा हनुमानको ठूलो मूर्ती स्थापना गर्ने भन्दै रकम उठाएर आर्थिक अतियमितता समेत गरेको ब्यवस्थापन समितिका सदस्य सुरेश श्रेष्ठले बताए ।

उनका अनुसार गंगादास बाबाले वैधानिक मन्दिर ब्यवस्थापन समितिलाई पन्छाएर मन्दिर कब्जा गर्ने बद्नियतले गतवर्ष लोकभक्तेश्वर सिद्धम कठमहल मन्दिर ब्यवस्थापन समितिको नाममा छुट्टै समिति गठन गरि जिल्ला प्रशासन कार्यालयमा दर्ता प्रक्रिया अगाडी बढाएका थिए । ‘तर एउटै मन्दिरका लागि दुई वटा समिति हुन नसक्ने कानुनी प्रावधान भएपछि उनको यो दुश्प्रयास असफल भयो,’ श्रेष्ठले भने । समितिका अर्का सदस्य लभराज श्रेष्ठले परिसरमा रहेको भवनमा बाबाले मन्दिर आफूखुशी रजाई गरिरहेको बताए । यसअघि समिति र बाबाबीच भएको छलफलमा ३ महिना भित्रमा मन्दिर छाडेर जानुपर्ने सहमती भएको स्थानीय बासिन्दा बताउँछन् । तर, उक्त समयावधि समाप्त भइसक्दा पनि बाबाले अटेरी गरिरहेको उनीहरुको भनाई छ ।

मन्दिरको स्वामित्वमा रहेको चल तथा अचल सम्पत्ति गैर नेपाली नागरिक बाबाले आफूखुशी उठाई समितिलाई जानकारी नदिई दुरुपयोग गरिरहेको देखेपछि स्थानीय बासिन्दा यतिखेर आक्रोशित छन् । ऐतिहासिक महत्व बोकेको मन्दिरमा कब्जा जमाएर सार्वजनिक सम्पत्तीको दुरुपयोग गरिरहेको जानकारी हुँदा हुदैपनि प्रशासनले मौनता साँधेको स्थानीयको गुनासो छ । सदस्य लभराजका अनुसार मन्दिर परिसरमा रहेका पौराणिक बस्तुहरु समेत गंगादास बाबाले हिनामिना गरेका छन् । करिव ६ कठ्ठा जमिन क्षेत्रफलमा बनेको उक्त मन्दिरमा शिवालय र कलियुगका शिवका अवतार श्रीचन्द्रको मन्दिर छ । मन्दिरको नाममा नेपालगन्ज उपमहानगरपालिका–१८ अर्थात साविकको उदयपुर गाविसमा ५२ विघा कच्चा जमिन रहेको बताइएको छ ।

Womui
Womui