जिल्ला वन कार्यालयले सुरु गर्‍यो दश ठेकेदारविरुद्ध अनुसन्धान

54

बाजुरा, पुस १२-

जिल्ला वन कार्यालयले जिल्लास्थित दश ठेकेदारमाथि निगरानी राखी अनुसन्धान सुरु गरेको छ। उक्त ठेकेदारहरुले अवैध रुपमा जडीबुटी सङ्कलन गरेको आरोपमा उनीहरुमाथि अनुसन्धान सुरु गरिएको हो । जिल्ला वन कार्यालयको मातहतमा रहेको कोल्टीस्थित इलाका वन कार्यालयले मङ्सिर २६ गते कोल्टी र दानसाँघु बजारबाट एक करोड ७९ लाख बराबरको अवैधरुपले ल्याइएको जडीबुटी बरामद गरेको थियो। सुराकीको आधारमा प्रहरीले २७ हजार केजी जटामसी, एक सय केजी चिराइतो, र ८० केजी कटुकी गरी २८ हजार एक सय ८० केजी जडीबुटी बरामद गरेको जिल्ला वन अधिकृत विशेन्द्रराज सुवेदीले बताए । वन कार्यालले ९ हजार सात सय केजी जडीबुटी सङ्कलनको अनुमति दिएकोमा ठेकेदारले चार गुणा बढी ३६ हजार सात सय केजी जडीबुटी सङ्कलन गरेकोे थियो।

यसैबीच वन कार्यालयले ठेकेदार सुरतबहादुर शाही, बिर्ख भण्डारी, धनबहादुर छन्त्याल, विष्णुप्रसाद सञ्ज्याल, मङ्गल थापा, बिर्ख रावल, गणेश रावल, राजेन्द्र शाही, नवीनकुमार शाही, दीपक रेग्मीलाई अनुसन्धानका लागि मङ्गलबार कोल्टी लगेको छ।

वन कर्मचारी र ठेकेदारबीच पैसामा कुरा नमिलेपछि रहस्य बाहिर आएको स्थानीय आरोप छ । सुरुमा वन कार्यालयले नदेखे झैं गरे पनि चौतर्फी आलोचनापछि मात्र समात्न बाध्य भएको थियो। वन अधिकृत विशेन्द्रराज सुवेदीले यो विषयमा शुरुमा सूचना माग गर्दा नदिएको पनि बताइएको छ।

Womui
Womui