नागरिककर्मीलाई बिदाइ

94

नेपालगन्ज, पुस १०–

p3

रिपब्लिक मिडिया प्रा.लि. नेपालगन्ज क्षेत्रीय कार्यालयमा कार्यरत नागरिकर्मीलाई आइतबार एक औपचारिक कार्यक्रमबीच बिदाइ गरिएको छ । नागरिक प्रतिष्ठान नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन बाँकेले नागरिक दैनिकको पश्चिमेली संस्करणमा विगत ५ वर्षदेखि डिजाइनिङ शाखामा कार्यरत डिजाइनर तथा नागरिक प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका सागर गुरुङलाई कदरपत्र प्रदान गर्दै बिदाइ गरेको हो । गुरुङलाई नागरिक प्रतिष्ठान नेस्वप्रेमयुका अध्यक्ष डिल्लीरमण ओली, नेस्वप्रेमयु बाँकेका अध्यक्ष हरि ज्ञवाली, नागरिक दैनिक क्षेत्रीय कार्यालयका प्रशासन प्रमुख पुष्पराज पौडेल, लेखापाल समिर शाह र नेस्वप्रेमयु बाँकेका सल्लाहकार दिलिप बडुवाल ले संयुक्त रुपमा कदरपत्र प्रदान गरेका थिए ।
नागरिक दैनिकका पत्रकार उत्तम ओझाले सञ्चालन गरेको कार्यक्रममा नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन बाँकेका हरि ज्ञवाली, नेस्वप्रेमयु बाँकेका सल्लाहकार दिलिप बडुवाल, नागरिक दैनिक क्षेत्रीय कार्यालयका प्रशासन प्रमुख पुष्पराज पौडेललगायत यहाँ कार्यरत श्रमिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य दिँदै नेस्वप्रेमयुका सल्लाहकार दिलिप बडुवालले जुनसुकै उद्योग, कलकारखानामा रहे पनि श्रमिकको सम्बन्ध नङ र मासु झै हुनु पर्ने बताए । उनले भने,‘एक उद्योग, कलकारखानामा काम गर्ने श्रमिक जुनसुकै राष्ट्र वा ठाउँमा गए पनि हामी सबैको सम्बन्ध नङ र मासुको सम्बन्ध झैं हुनु पर्छ र एक उद्योग, कलकारखानामा काम गर्ने श्रमिकलाई अप्ठ्यारो परे अर्को उद्योग, कलकारखानामा काम गर्ने श्रमिकले सहयोग गर्नुपर्छ । ’
कार्यक्रममा बोल्ने क्रममा नेस्वप्रेमयु बाँकेका अध्यक्ष हरि ज्ञवालीले युनियनको महत्वबारे प्रकाश पार्दै भने,‘श्रमिकले काम गरेपछि उसलाई अन्य मानिस सरह खाना, लाउन, शिक्षालगायतका अत्यावश्यक कुरा घरपरिवारलाई दिन सक्ने खाले पारिश्रमिक रोजगारदाताले दिनु पर्छ । कुन स्तरको कम्पनी, उद्योगमा के कस्तो सेवा सुविधा दिने विषयमा सरकारले स्पष्ट रुपमा नियम लागू गरेको छ । यदि कुनै कम्पनी, उद्योगले सो मापदण्ड अनुसार पारिश्रमिक दिएको छैन भने युनियन श्रमिकको पक्षमा जहाँ जुनसुकै ठाउँमा जान सदा तत्पर रहने छ ।’
कार्यक्रमको सभापतित्व सम्हालेका नागरिक प्रतिष्ठान नेस्वप्रेमयुका अध्यक्ष डिल्लीरमण ओलीले श्रमको क्षेत्र वृहत् रहेको बताए । अध्यक्ष ओलीले शारीरिक वा मानसिक रुपले परिश्रम गर्ने श्रमिकको कार्यविभाजन फरक भए पनि डाक्टर, इन्जिनियर, पाइलट, पत्रकार, प्राध्यापक सबै श्रम क्षेत्रमा आउने प्रष्ट्याउँदै उनले भने,‘हामी सबै श्रमिकले आफ्नो दक्षता अनुसारको काम गर्छौ त्यसैले आफूले गर्ने कामको विषयलाई लिएर कहिले पनि हतोत्साहित नबनी कुसलतापूर्वक काम गर्नुपर्छ ।’ आफ्नो कामप्रति सबै श्रमिकलाई जिम्मेवार बन्न सुझाउँदै उनले भने,‘आआफ्नो क्षेत्रको काम सही तरिकाले गरौं, युनियन राजनीति गर्नको लागि खुलेको होइन तर यदि कुनै श्रमिकले सरकारी मापदण्ड अनुसारको पारिश्रमिक पाउँदैन भने त्यसको लागि युनियनमा आबद्ध सबै सदस्य एक हुनुपर्छ ।’ अध्यक्ष ओलीले रोजगारदातालाई डुबाउने नभई उकास्ने तरिकाले सम्पूर्ण श्रमिकले काम गर्नुपर्छ भने रोजगारदाताले पनि श्रमिकलाई उचित पारिश्रमिक दिनु पर्ने बताए ।

Womui
Womui