लुम्बिनीका सबै जिल्ला ठप्प, रुपन्देही अनिश्चितकालीन बन्द

63

बुटवल, पुस ५-

lumbini

मंगलबार आज लुम्बिनी अञ्चलका सबै जिल्ला ठप्प भएका छन् । एमाले निकट युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आव्हान गरिएको बन्दको कारण यहाँको जनजीवन प्रभावित बनेकाे छ । युवा संघ नेपालले लुम्बिनी अञ्चल एकदिन बन्द गर्ने घोषणा गरेको छ भने रुपन्देही भने अनिश्चितकालीन बन्द आह्वान गरेको छ । बन्दको आह्वान पछि सोमबार साँझदेखि नै बुटवल क्षेत्र ठप्प छ । युवा संघ नेपाल अञ्चल तथा जिल्ला कमिटीले छु्ट्टा–छुट्टै विज्ञप्ति जारी गरी बन्द आह्वान गरेका हुन् । सोमबार राति अबेरसम्म सडकमा प्रदर्शन गरेका युवाहरुले मंगलबार विहानैदेखि सडकमा प्रदर्शन गरेका छन् ।

युवासंघका जिल्ला अध्यक्ष माथि नै दिनदहाडै गोली हानी हत्या गरेको व्यक्तिले खुलेयाम आफूले हत्या गरेको जिम्मेवारी लिंदासमेत प्रहरी प्रशासनले पक्राउ गर्न नसकेको भन्दै प्रहरी प्रशासनको व्यापक आलोचना भइरहेकाे छ । युवाहरुले बुटवल क्षेत्रमा गरेको विरोध प्रदर्शनपछि पुष्पलाल पार्कमा विरोध सभामा परिणत भएको छ । आक्रोशित युवाहरुले बन्दको अवज्ञा गरे कडा रुपमा उत्रने चेतावनी दिंँदै माईकिङ गर्दै हिंँडेका छन् । अहिले बुटवल बजार क्षेत्र आक्रोशित सँगै त्रसित  बन्दै गइरहेको छ । सडक तथा बजार क्षेत्र युवाहरुको प्रदर्शन बाहेक सुनसान छ ।

तिवारीको हत्या पछि एमालेका उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल र युवासंघका केन्द्रिय अध्यक्ष राजिव पहारी अहिले बुटवल आइपुगेका छन् । एमाले उपमहासचिव पौडेलले तिवारी हत्याले राज्यको शान्तिसुरक्षा कति  निरीह छ भन्ने कुरा प्रष्ट भएको बताए ।

उता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हत्यामा संलग्नहरुको व्यापक खोजी भइरहेको र घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिहरुलाई पक्राउ गरेको जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले रुपन्देही प्रशासनले हत्याको अनुसन्धान तथा हत्यामा संलग्नहरुको खोजीको लागि केन्द्रीय अनुसन्धान व्यूरोलेसमेत पहल गरिरहेकोले हत्यारा छिट्टै पत्ता लाग्ने जानकारी दिए ।

हत्याको प्रमुख योजनाकार मानिने मनोज पुनले आफूले हत्या गर्न लगाएको भन्दै हत्याको जिम्मा लिएका छन् । यसैबीच जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तिवारी हत्यामा संलग्न भनिएको अपराधिको मोष्ट वाण्टेड सूचिमा रहेको मनोज पुनको तस्बिर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले तिवारी हत्यामा मनोज पुनको संलग्नता पुष्टि भएको भन्दै फोटो सार्वजनिक गरेको हो।

Womui
Womui