क्रियाशील पत्रकारलाई नयाँ सदस्य हुनबाट नरोकौं

101
दिपा आले
दिपा आले

हावा चलेपछि पात हलिन्छ । पात हलिएपछि आँखाले देख्नु पर्छ । यो विश्वव्यापी मान्यता हो । यसरी नेपालगन्ज बाँकेबाट चलेको हावा र पातको रंग एउटा जिल्लामा मात्र सिमित रहेन आज नेपालको कुना कुनाको जिल्लामा फैलिदैछ । फैलिनु पनि पर्दछ किन कि न्याय र सत्यको लागि जब हावा र पात एकै साथ चल्न थाल्छ तब न्यायकोलागि आवाज बुलन्द पार्नु पर्ने अवस्था आउंछ ।

सन्दर्भ नेपाल पत्रकार महासंघ बाँके शाखा जो श्रमजीवी पत्रकारको हक हितको लागि वकालत गर्दछ । र गर्दै आएको छ तर आज सोही पवित्र मन्दिरमा क्रियाशील र श्रमजीवी पत्रकारलाई जान बञ्चित गरिएको छ । जब मन्दिरमा जान बञ्चित गरिन्छ भने त्यो मन्दिरको पुजारी र संरक्षक कसरी हुन सक्ला मेरो प्रश्न ? पत्रकार महासंघ केन्द्रीय समितिको विधान मै तोकिएको छ महासंघको सदस्य हुनुकोलागि के के हुनु पर्छ यो विषयमा तपाई हामी क्रियाशील र श्रमजीवी पत्रकारलाई थाहा भएकै कुरो हो । तर चुरो कुरो बुझदा आकाश र पातालको फरक देखिन आएको छ । त्यसैले यस विषयमा मेरो ध्यानाकर्षण गम्भीर भएको छ । मेरो मात्र नभएर आम क्रियाशील पत्रकार जसले रगत र पसिना बगाएका छन् उनीहरु समेत गम्भीर भएको अवस्था हो । यो घडीमा महासंघ बाँकेले नयाँ सदस्यता वितरणमा गरेको एकलौटी निर्णयको विरुद्धमा धावा बोल्नु रहर होइन बाध्यता हो भनेर बुझ्नु होला । ताकि मेरो विचारले कम्तीमा समाजकोलागि योगदान पुराउने । आवाजविहीनको आवाजलाई सुन्ने पत्रकारहरु महासंघको सदस्यता पाउनबाट बञ्चित हुन नपरोस् ।

नेपाल पत्रकार महासंघ बाँकेको बहालवाला नेतृत्वले नयाँ सदस्यता वितरणमा मनपरी ढंगले सिफारिश गरेको खबर प्रेस विज्ञप्तीमै आएको खबर सुन्दा अचम्म लागेको छ । लाग्छ अब पत्रकार महासंघ श्रमजीवी पत्रकारको छाता संगठन नभएर एकलौटी शक्तिको निरंकुश तानाशाहावादको गन्ध फैलिदैछ । के यस्तो गन्ध फैलाइनु महासंघकोलागि उचित हो ? पदमा बस्नु ठूलो कुरो होइन पदमा बसेर न्याय गर्नु ठूलो कुरो हो । यदि हामी सांच्चै नै जनताको हितकोलागि काम गर्दैछौं भने सत्य र असत्य भन्ने कुरा आत्मा देखि नै बुझ्न जरुरी छ । ताकि पत्रकार महासंघलाई केवल एकाधिकारबाद र भोटबैंकको रुपमा ‘मिसयुज’ नगरौं ।

राष्ट्रको तेस्रो आंखा देशको चौथो अंग भनेर समाजको अगाडि छाती फुल्याउनु जति गर्व छ त्यति महासंघमा रहेर काम गर्दै गर्दा आफ्नो दायित्व कदापि भुल्नु हुंदैन । आज नेपाल पत्रकार महासंघ बाँके श्रमजीवी पत्रकारको न्यायको हितकोलागि होइन एउटा भोटबैंक र आफ्ना नातागोताहरुलाई पत्रकारको लाइसेन्स भिराउदैछन् । त्यो गल्ती नयाँ बन्ने पत्रकारको नभएर महासंघको गल्ती हो भनेर बुझ्नु पर्ने अवस्था छ । के यस्तो गर्नु न्यायोचित हो ? महासंघले नयाँ सदस्यता वितरण गर्दै गर्दा विधानलाई अध्ययन गरी छातीमा हात राखेर श्रमजीवी पत्रकारलाई न्याय गर्न कदापि चुक्नु हुंदैन । यसरी भन्दै गर्दा महासंघ खत्तम हो यसले केही पनि काम गरेको छैन भन्न खोजेको होइन । किन कि विगतका दिनमा म पनि पत्रकार महासंघ बाँकेको कार्य समितिको निर्वाचित सदस्य एवं महिला विभाग प्रमुख भएर काम गरेको अनुभव छ । तर विगत र वर्तमानलाई तुलना गर्दा धेरै फरक देखिएको आजको जर्जर अवस्थाले देखाउँछ । जसले गर्दा आज श्रमजीवी पत्रकारको हितकोलागि आवाज उठाउन बाध्य बनायो । यो विषयको बारेमा तपाई हामी टाढा नहन सक्दैनौं ।

फेरी विगतलाई सम्झन चाहान्छु । जति बेला हामी जनआन्दोलनको परिपक्ष्यमा आफ्ना कलमहरु चलाउंदै थियौ । नयाँ जोश जांगर थियो किन कि हामी नयाँ पत्रकार बन्दै थियौ । समाजमा घटेका जे जति घटनाहरु थिए हामीले बुझेसम्म भ्याए सम्म जनताकोलागि योगदान गर्दै थियौ तर पनि हाम्रो कामलाई महासंघले नयाँ सदस्यता वितरण गर्ने बेला अंकुश नलगाएको होइन तर त्यसको प्रतिकार म लगायत हाम्रा श्रमजीवी पत्रकारहरुले आवाज उठाए । आन्दोलनमा उत्र्रिए अनि मात्र हामीले चुनाव हुनु अगाडि पत्रकार महासंघको साधारण सदस्य बन्ने शुभ अवसर मिलेको थियो । महासंघकको सदस्य पाउंदा सांच्चै नै युद्ध जितेर आएको महसुस भयो । खुशीले भुईमा ठाउं थिएन । समाजमा काम गर्दै गर्दा र नयाँ पत्रकार बन्दै गर्दा महासंघका ठूला केही हस्तीहरुले खिस्याउने, दबाउने र हेप्ने नगरेका होइनन तर रातदिन आफ्नो कर्ममा क्रियाशील नयाँ पत्रकार बन्न चाहाने इच्छुक पत्रकारहरु डराउनु पर्दैन । यो तपाईहरुको अग्नी परिक्षा होला । निडर भएर अगाडी बढ्नुस तपाईलाई रोक्ने ठूला ठूला दिवालहरु आफै भत्केर जानेछन् । तपाईको कलम र कामले समाजमा योगदान पुराएको छ भने पक्कै पनि तपाई महासंघको सदस्यता पाउनु पर्छ त्यो तपाईको अधिकारको कुरा हो । कसैले रोकेर रोकिदैन । त्यसको विरुद्ध आम श्रमजीवी पत्रकारहरु तपाईहरुको साथमा छ । मात्र तपाईहरु आफ्नो न्यायकोलागि अगाडि बढ्नुस् डराएर पछाडि लुक्ने काम कदापि नगर्नुहोला ।

महासंघका हस्तीहरुले बुझ्न जरुरी छ । पत्रकार त्यसलाई बनाईन्छ जसले संसारको जुनै कुनामा बसेर भएपनि समाजकोलागि कलम चलाएको हुन्छ । जसले समाजकोलागि रातदिन योगदान दिएका छन् । जसले आफ्नो भोको पेट भन्दा पनि बढी जनताको हितकोलागि योगदान दिएका छन् । यस विषयमा महासंघको नेतृत्वको जो सुकै किन नहोस् उसले सहि निणर्य गर्नबाट चुक्नु हुंदैन यदि चुक्छ भने ऊ जब नेतृत्वबाट विमुख हुन्छ तब उसले आफ्नो हैसियत थाहा पाउनेछ । त्यसको जवाफ जनताले दिनेछ । असल कर्म गर्नबाट कसैलाई रोक्नु हुंदैन । उसले कर्म गरे अनुसार सदस्यता दिलाउनु तपाई नेतृत्वको काम हो । गैर पत्रकार जो सुकै होस् त्यसलाई रोक्नुहोस् त्यसमा हाम्रो पूर्ण समर्थन हुनेछ ।

नेपाल पत्रकार महासंघ बाँके शाखा मात्र होइन देशै भर क्रियाशील पत्रकार महासंघहरुमा पनि बाँकेको जस्तो एकलौटी गन्ध नफैलिएको होइन तर जर्जर रुप भने बाँके शाखाले देखाएको छ । महासंघलाई कहिलेसम्म राजनीतिक गन्धले बासना दिईरहने ? यस विषयमा केन्द्रीय तहका पत्रकारहरुले पनि गम्भीर भएर सोच्नु पर्छ । विचार सबैको हुन्छ । किन कि विचार स्वतन्त्र छ । हरेक पत्रकारको विचार आ आफ्नै भए पनि समाजकोलागि योगदान पुराउने श्रमजीवी पत्रकारलाई एउटा साधारण सदस्य बनाउन बाट अलग्याउनु के यो लाजमर्दो कुरो होइन ? के यही हो त नेतृत्वमा बस्ने पत्रकारहरुको हैसियत ? बाँके शाखा मात्र होइन आज केन्द्र लगायत विभिन्न जिल्ला पनि देख्दैछु । बास्तविक श्रमजीवी पत्रकारको पक्षमा भन्दा बैचारिक रुपमा आस्थावान पत्रकारहरुको विगविगी देखिन्छ । जसले गर्दा पीडितले न्याय पाउनुको सटटा झनै पिडित हुनु परेको छ भने पिडकहरु खुलेआम छाती फूलाएर मार्केटमा हिडेका छन् । आज भोलि पत्रकारको हैसियत एक एक गरी बजारमा विग्दैछन् । यस्तो अवस्था आउनु भनेको श्रमजीवी पत्रकारलाई महासंघले सदस्यता बाट पाखा लगाई गैर पत्रकारलाई भोटबैकको रुपमा सदस्यता बनाउनुको उपज हो भन्दा फरक नपर्ला । यस्ता विषयमा आम श्रमजीवी पत्रकारको भाग्य र भविष्य कोर्ने महासंघका नेतृत्वकर्ताहरुले बुझ्न जरुरी छ ।

हामीले कदापी भुल्नु हुंदैन हाम्रा अग्रज पत्रकारहरुले गरेको योगदानले आज हामी यो अवस्थामा छौं । कम्तीमा एक पटक ईतिहासको ढोका खोलेर आफ्नो मगजलाई केलाउने काम गर्न जरुरी छ । ताकि गैर पत्रकारको झुण्ड बनाउनुको साटो श्रमजीवी पत्रकारको हितकोलागि अगाडि बढ्नु पर्ने समय आएको छ । पत्रकारको न जात हुन्छ न धर्म हुन्छ त त आफन्ती पत्रकार सबैकोलागि समान हुन्छ । यस्ता विषयमा गम्भीर भएर सोच्नु पर्ने बेला झनै महासंघ कै नेतृत्वले आफ्ना बैचारिक विचारका आधारमा र गैर पत्रकारका रुपमा भर्ति गराईन्छ भने त्यसको प्रतिफलले समाजको रुपरेखा कस्तो बनाउला यो त भविष्यले पक्कै देखाउनेछ । किन कि पत्रकार महासंघ भनेको सबैको साझा संस्था हो त्यहां सबै खाले विचारका पत्रकारहरु अटाउन सक्ने पवित्र मन्दिर हो । त्यसले गर्दा आज हामीले जस्तो रुख रोप्छौं भोलि त्यस्तै फल पाउंछौं । त्यसैले बेलैमा केन्द्रदेखि जिल्लातहमा रहेका नेतृत्वकर्ताले यो घडीमा समंयता अपनाएर सही के गलत के भनेर छुटाउनु पर्दछ र कुनै पनि क्रियाशीलर श्रमजीवी पत्रकारलाई महासंघको सन्तान बनाउनबाट विमुख नगरौं ।

बरु हुन सक्छ भने पत्रकारको लाईसेन्स बोकेर समाजमा हिंसात्मक गतिविधि फैलाउने जो सुकै होस् त्यसलाई खारेज गरी महासंघले असल कामको सुरुवात गरेको सुन्न पाइयोस् । र क्रियाशील नयाँ सदस्यता बन्न बाट बञ्चित नयाँ पत्रकारहरु आफ्नो काममा लागि राख्नुहोस् सफलता पक्कै पाईन्छ । काम गर्दै जादा कहिले असफल भईएला तर सधैं असफल भईदैन । त्यसको ज्वलन्त उदाहरण म स्यंम हो । त्यसैले जीवनमा कहिल्यै पनि हार नखानुहोस् निरन्तर, धैर्यवान, निर्भिक र उर्जाशील लागि राख्नुस् तताईको कर्मलाई कुनै पनि माइकललालले रोक्न सक्दैन ।।। नयाँ सदस्यता दिदा महासंघका पुवर्जहरुले पनि हस्तक्षेप नगरेका होइनन तर त्यसबाट पाठ सिक्दैन क्रियाशील पत्रकारहरुलाई दस्यता दिनबाट वञ्चित गरिनु हुंदैन ।   (लेखक नेपाल प्रेस युनियनका केन्द्रीय सचिव हुन् । )

Womui
Womui