महासंघको सदस्यता वितरण विवाद चुलिदै, पुर्वअध्यक्षको चेतावनी

73

नेपालगन्ज, मंसिर २०-
नेपाल पत्रकार महासंघ बाँकेको नयाँ सदस्यता वितरण विवाद चुलिदै गएको छ । महासंघको नेतृत्वले राजनीतिक पुर्वाग्रहको आधारमा एकलौटी ढंगले निर्णय गरेको भन्दै चौतर्फी रुपमा विरोध भइरहेका बेला नयाँ सदस्यता सिफारिश र नवीकरणका सम्वन्धमा अपनाइएको प्रक्रियाप्रति महासंघ बाँकेका पुर्वअध्यक्षहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

fnj-logo

पुर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त, हेमन्त कर्माचार्य, नीरज गौतम, प्रेम केसी र शुक्रऋषि चौलागाईले संयुक्त रुपमा विज्ञप्ती जारी गरी महासंघ बाँके शाखाको नेतृत्वबाट व्यावसायिक पत्रकारलाई पाखा लगाएर एकलौटी ढंगले सिफारिस गरेको भन्ने कुरा सार्वजनिक हुनु गम्भीर चिन्ता र चासोको विषय बनेको उल्लेख गरेका छन् । ‘सोही सम्बन्धमा महासंघ शाखाका कार्यसमिति सदस्य–सल्लाहकारहरुलाई समेत कुनै जानकारी नदिई सिफारिस गरिएको विषयलाई गोप्य राख्न खोजिनु र त्यस विषयमा कुनै आधिकारिक निर्णय सार्वजनिक नगर्नुले पनि सबैका निम्ति शंका गर्ने वातावरण बन्नुलाई अस्वाभाविक ठानिनु हुँदैन,’ विज्ञप्तीमा भनिएको छ । महासंघ कुनै एक विचार वा सिद्धान्त अंगालेकाहरुको मात्र नभई सबै नेपाली पत्रकारहरुको साझा संगठन रहेको पुर्वअध्यक्षले औल्याएका छन् ।

उनीहरुले भनेका छन, ‘यस मान्यताअनुसार नेतृत्वमा रहेका जिम्मेवार व्यक्तिले महासंघको सदस्यताका सम्बन्धमा कसैप्रति पनि आग्रह, पूर्वाग्रह बिना समान दृष्टिकोण र समान व्यवहार राख्नुपर्ने हुन्छ ।’ महासंघ बाँकेको नेतृत्वबाट सदस्यता तथा नवीकरण सम्वन्धी गरेको सिफारिसका विषयमा वास्तविकता उजागर गर्न तथा सदस्य पंक्तिबाट आएका असन्तुष्टिलाई सम्बोधन गर्न विलम्ब नगरि पहल गर्ने आवश्यक्ता देखिएको उनीहरुले बताएका छन् । ‘विगतका दिनमा पत्रकार महासंघमा सदस्यतालाई लिएर बाह्य क्षेत्रबाट समेत टिका टिप्पणी नभएका होइनन्, यसका बावजुद व्यापक छलफल नगराएर हठात सदस्यता सिफारिस गर्नु पर्ने कारण के थियो ? नेतृत्वले यसको औचित्य पुष्टि गर्नु पनि आवश्यक हुन्छ,’ विज्ञप्तीमा उल्लेख छ । राजनीतिक निकटता, व्यक्तिगत निकटता र कसैको दबाबमा महासंघको सिफारिस र सोही बमोजिम क्षेत्र वा केन्द्रबाट निर्णय कार्यान्वयन भएमा त्यस कदमलाई पनि अलोकतान्त्रिक पद्धतिमा हिंड्न खोजिएको अर्थमा लिनैपर्ने महासंघ बाँकेका पुर्वअध्यक्षले बताएका छन् । महासंघको गरिमा, प्रतिष्ठा र संगठनको अस्तित्व बचाई राख्न साथै संस्थालाई छताछुल्ल हुनबाट जोगाउन सम्वद्ध जिम्मेवार तहमा बसेका सबैबाट यस विषयमा गम्भीरता साथ निकास खोजिने उनीहरुको विश्वास छ ।

Womui
Womui