बहुमूल्य मूर्ति चोरी ‘रहस्यमय’

40

जुम्ला, मंसिर १९-
कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट मंसिर ११ गते राति हराएका भनिएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये सातवटा फेला परेका छन् । घटनालगत्तै स्थानीय प्रहरीले उठाएको मुचुल्कामा २८ वटा मूर्ति चोरिएको उल्लेख छ । सो मुचुल्कामा ६ सय १ सालमा बनेको दत्तात्रयसहितका २८ मूर्ति हराएको देखाइएको छ । तर, घटनाको ७ दिनपछि शनिबार सिआइबीले छानबिन गरी तयार पारेको मुचुल्कामा २१ वटा मूर्ति हराएको उल्लेख छ । यसै आधारमा पहिले हराएका भनिएका मध्ये सातवटा भेटिएका हुन् ।

murti-pic

मूर्ति चोरी घटना विषयमा प्रहरीका दुई निकायले तयार पारेको मुचुल्कामा फरकफरक विवरण उल्लेख भएपछि स्थानीय आश्चर्यमा परेका छन् । स्थानीयको प्रश्न छ– ती सातवटा मूर्ति मन्दिरबाट चोरिएकै थिएनन् वा चोरले पछि ल्याएर राखिदिएको हो? यसको उत्तर मिल्न सकेको छैन । अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ । स्थानीय प्रहरी मुचुल्कामा २८ मूर्ति चोरिएको देखाइएको छ, सिआइबीको मुचुल्कामा तीमध्ये सातवटा मन्दिरभित्रै भेटिएको उल्लेख छ ।

घटनालगत्तै प्रहरीले तयार पारेको मुचुल्कामा परम्परागत ताजादी (अभिलेख) हेरेर हराएका मूर्तिको संख्या २८ भनी यकिन गरिएको थियो। ताजादीमा उल्लेख ४५ मूर्तिमध्ये २८ हराएको मुचुल्कामा लेखिएको थियो । तर त्यही ताजादी पल्टाएर शनिबार सिआइबीले मन्दिरभित्र खोजी गरी मुचुल्का उठाउँदा हराएका भनिएका मध्ये ७ वटा मूर्ति फेलापरेका हुन् । प्रहरी निरीक्षक कलेन्द्र शाहीले चोरी भएको दिन पुजारी हडबडाएर सही जानकारी नगराउँदा यकिन विवरण आउन नसकेको स्वीकार्छन् । उनले भने, ‘पुजारी हडबडिएका थिए, सबै आत्तिएका थिए, हतार–हतारमा मुचुल्का उठाउँदा संख्या यकिन हुन सकेन ।’

उनका अनुसार त्यस दिन गुठी समितिका अध्यक्षको रोहबरमा मुचुल्का उठाइएको थियो। ढोकानजिकै ताजादी हेरेर मूर्तिको नाम सुनाउँदा पुजारीले २८ वटा हराएको स्वीकारेका थिए । हराएका भनिएका मध्येका ७ वटा मूर्ति फूलप्रसादले ढाकिएको र छरपस्ट अवस्थामा मन्दिरभित्रै भेटिएको सिआइबीको मुचुल्कामा देखाइएको छ । आजको नागरिकमा खबर छ ।

Womui
Womui