शुभकार्यको निहुँमा कुखुरा तस्करी

107

खगेन्द्र दाहाल
नेपालगन्ज, मंसिर १८-
धार्मिक परम्परा अनुसार हुने बिबाह, व्रतबन्ध, जन्मदिन मनाउने निहुँमा प्रतिवन्धित भारतीय कुखुरा तस्करी भएर भित्रिने गरेको पाइएको छ । खुला सिमानाका कारण विभिन्न नाकाबाट अवैध रुपले कुखुरा भित्रिने गरेको हो । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख डा. शंकर पाण्डेका अनुसार शुभकार्यका नाममा निहुँमा थोरै÷थोरै संख्यामा कुखुरा तस्करी हुने गरेको छ । भारतीय सिमासँग जोडिएको राधापुर गाविसको नाकाबाट शुक्रबार दिउँसो बोइलर कुखुरा भित्रिएको थियो । राधापुर गाविस परिसरमा क्वारेन्टाइन समन्वय बैठक बसिरहेको अवस्थामा प्रतिवन्धित कुखुरा भित्रिएको फेला परेको डा. पाण्डेले बताए ।

साइकल प्रयाग गरी ल्याइएको भारतीय प्रतिवन्धित कुखुरा । तस्बिर : खगेन्द्र दाहाल
साइकल प्रयाग गरी ल्याइएको भारतीय प्रतिवन्धित कुखुरा । तस्बिर : खगेन्द्र दाहाल

कुखुरा ओसार्ने कार्यमा सितापुर–६ केगाउँका महिला संलग्न रहेका थिए । उनीहरुले घरमा पाहुना आएको, व्रतबन्ध जस्ता शुभकार्य भएको भन्दै लुकाई, छिपाई बोइलर कुखुरा ल्याएका हुन् । सिमावर्ती गाविस साईगाउँ, बेलभार, राधापुर, जमुनी बर्दियामा रहेका प्रहरी चौकीका अनुसार दिनहुँ कुनै न कुनै बाहनामा प्रतिवन्धित कुखुरा भित्रिन्छ । सिमानाका छेउमा अवैध कुखुरा भित्रिरहेका कारण सिमानाका छेउका गाउँमा कुखुरा पाल्न छाडिसकेका छन् । प्राय : कुखुरा पालिरहने कृषकको खोर पनि खाली भएका छन् । ‘तस्करी गरेको भारतीय कुखुरा सस्तो मुल्यमा भित्रिन्छ, त्यस कारण पनि सिमा नजिकका कृषकहरुले खोर खाली राख्न बाध्य छन,’ सिमा सुरक्षा पोष्ट हिरमिनिया सशस्त्र प्रहरी निरीक्षक बीरेन्द्र जिसीले भने ।

सिमा छेउका स्थानीयले कुखुरा पालन गर्न छाडिसकेको जिसीको भनाई छ । क्यारेनटाइन प्रमुख डा. पाण्डेका अनुसार खुल्ला सिमाबाट भित्रिने क्रम नरोकिदा नेपालगन्जमा ८० प्रतिशत कुखुराको मासु अवैध रहेको छ । राधापुर, बेलभार, जमुनी क्षेत्र ओसार–पसारको मुहान बनेको प्रमुख पाण्डेले बताए । तस्करीको जानकारी पाएर प्रहरीले समात्ने गरेपनि अन्य बेलामा तस्करी हुदाँ स्थानीय बासिन्दा कसैले तस्करी हुदैछ भन्ने खबर नगरिदिदाँ नियन्त्रण गर्न कठिनाई भएको प्रहरीको गुनासो छ । साइकल र मोटरसाइकलमा बढी तस्करी हुने नाकामा नियन्त्रण गर्न मुस्किल हुने गरेको क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

राधापुरमा बसेको क्वारेन्टाइन समन्वय बैठकले जनचेतनाको कमिका कारण अवैध रुपमा कुखुरा भित्रिरहेको भन्दै रोकथामका लागी चेतनामुलक कार्यक्रम गर्नुपर्ने निस्कर्ष निकालेको छ । जिल्लास्थित सरोकारवाला निकाय सम्मिलित बैठकमा खुल्ला सिमानाका कारण अवैध पशुपंक्षीजन्य वस्तु भित्रिरहेकोले कडाईका साथ प्रस्तुत भएर कानुनी कारवाही गर्ने निर्णय गरेको पशु क्वारेन्टाइन कार्यालय प्रमुख पाण्डेले बताए । बैठकले पशुपंक्षीलाई लागेको ‘जुनेटिक’ रोग मानिसमा सर्ने भएकाले यसतर्फ पनि सचेत रहन आग्रह गरेको छ ।

Womui
Womui