पत्रकार महासंघ बाँकेलाई युनियनको ४८ घण्टे अल्टिमेटम

180

नेपालगन्ज, मंसिर १८-
नेपाल पत्रकार महासंघ बाँकेको नेतृवले नयाँ सदस्यता वितरणमा मनपरी ढंगले सिफारिस गरेको भन्दै चर्को विरोध भएको छ । महासंघ बाँकेको नेतृत्वले पार्टीको ईसारामा लागेर एकलौटी निर्णय गरेको भन्दै पत्रकारसँग सम्वन्धित संगठन विरोधमा उत्रिएका हुन् । महासंघको कार्यशैलीको विरोध गर्दै नेपाल प्रेस युनियन बाँकेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी तत्काल सर्वपक्षिय बैठक बोलाई गम्भिर गल्ती सच्याउन पत्रकार महासंघ बाँकेको नेतृत्वलाई आग्रह गरेका छन् । उनले ४८ घण्टाभित्र समाधान नखोजिए युनियनले विरोधका सशक्त कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

press-union-banke-bigepti

‘युनियनका सम्पूर्ण सदस्यहरुलाई सचेत अवस्थामा रहन आह्वान गर्दै यस अभियानमा समर्थनका लागि महासंघका सम्पूर्ण सदस्यहरुलाई आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘साथै सदस्यताबाट बञ्चित गर्न खोजिएका सञ्चारकर्मीहरुलाई निराश नहुन आग्रह गर्दै युनियन बाँके सदैव यहाँहरुकै साथमा रहने विश्वास दिलाउन चाहन्छौंं ।’ महासंघको कार्यसमिति सदस्य, सल्लाहकारहरुलाई समेत कुनै जानकारी नदिई अज्ञात स्थलमा बसेर राजनीतिक आग्रह पुर्वाग्रहका आधारमा सदस्यता वितरण गरेर व्यवसायिक पत्रकारलाई सदस्यताबाट वञ्चित गर्ने वर्तमान नेतृत्वको हर्कतको युनियन बाँके कडा शब्दमा निन्दा र भत्र्सना गरेको उल्लेख छ । १५ दिनअघि विना निष्कर्ष स्थगित भएको बैठक पुनः नबसी मनपरी ढंगले सदस्यतामा गरिएको सिफारिस कुनैपनि हालतमा मान्य नहुने युनियनले चेतावनी दिएको छ ।

पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संगठन भएको भन्दै यसलाई कुनै अमूक पार्टीको भातृ संगठन बनाउन खोज्ने वर्तमान नेतृत्वको जति निन्दा गरेपनि कम हुने अध्यक्ष शाहले उल्लेख गरेका छन् । व्यवसायिक पत्रकारहरुलाई पाखा लगाएर एकलौटी ढंगले सिफारिश गरिएका सदस्यता कुनैपनि हालतमा मान्य नहुने भन्दै यसका लागि युनियन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी दिएका छन् । ‘पत्रकार महासंघ अविच्छिन्न उत्तराधिकारवाला संस्था हो, अग्रजहरुको त्याग, निष्ठा र संघर्षले महासंघ आजको स्थानमा पुगेको हो,’ उक्त विज्ञप्तीमा भनिएको छ ‘नेपाली प्रेस जगतले इतिहासकै कठिन घडीव्यहोर्दा महासंघको छातामुनि सबै पत्रकार गोलबद्ध भएर नै निरंकुशतालाई घुँडो टेकाएको कुरा स्मरण गराउँन चाहन्छौं ।’ लामो र गौरवपुर्ण इतिहास बोकेको महासंघको प्रतिष्ठा गिराउने कार्य वर्तमान नेतृत्वले यसअघि देखि नै गरेको उल्लेख गर्दै युनियन बाँकेका अध्यक्ष शाहले साधारण सभा त्यसको ज्वलन्त उदाहरण भएको स्मरण गराएका छन् ।

‘अहिलेको यो हर्कतले महासंघ बाँकेको बचेखुचेको शाख पनि गिराएको छ,’ विज्ञप्तीमा लेखिएको छ ‘महासंघ बाँकेकै इतिहासमा नेतृत्व यति लाचार, निरिह र गैर जिम्मेवार कहिल्यै देखिएको थिएन, नेपाल पत्रकार महासंघ केटाकेटीपनको लहडबाट सञ्चालन हुन सक्तैन ।’ महासंघको सदस्यता राजनीतिक आधारमा नभएर पेशागत सक्रियताका आधारमा वितरण गर्न युनियनले माग गरेको छ । कुनैपनि सक्रिय सञ्चारकर्मी सदस्यताबाट वञ्चित हुन नहुने र एक जना पनि गैर पत्रकारले सदस्यता पाउन नहुने युनियनको वटमलाइन भएको विज्ञप्तीमा उल्लेख छ । ‘निर्वाचन प्राविधिक विषय हो, निर्वाचन परिणामबाट बहुमत आएको उन्मादमा मनपरी गर्न मिल्दैन, यस्तो स्थितीमा प्रेस युनियन टुलुटुलु हेरेर बस्न सक्तैन ।’

Womui
Womui