चराउन राखिएका मौरी मारिए

97

कोहलपुर, मंसिर १५-
बाँकेको बनकटवामा चराउन राखिएका मौरी अज्ञात समुहले मारिदिएको छ । कोहलपुर नगरपालिका वडा नम्वर ६ शिवनगर टोलका कृषक लिलबहादुर रानाको १६ घार मौरी मारिएको हो । कृषक लिलबहादुरले बनकटुवा–९ स्थित रामसरी खड्काको तोरीबारीमा दुई साताअघि ४८ घार मौरी चराउन राखेका थिए ।‘मैले आफन्तकै बारीमा मौरीका घार राखेको थिए, नसोचेकै घटना भयो,’ रानाले भने ।

अज्ञात समुहले बुधबार रातीको मौका छोपेर मौरीका घार करिव ५ सय मिटर पर अरहर बारी छेउमा लगेर तोडफोड गर्नुका साथै मौरी मारिदिएको पीडित कृषक रानाले बताएका छन् । ‘चराउन लगेको १६ वटा घार मौरी केहीपनि बचेन,’ उनले भने । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार रानाको करिव १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । घटना स्थलमा पुरुषले प्रयोग गर्ने रुमाल र महिलाको सल फेला परेको प्रहरीको भनाई छ । इप्रकाका निमित्त प्रमुख (प्रहरी निरिक्षक) नवराज पोखरेलले घटनामा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको बताए ।

बाँकेको बनकटवा–९ मा अज्ञात समुहले तोडफोड गरेको मौरीका घार हेर्दै ।
बाँकेको बनकटवा–९ मा अज्ञात समुहले तोडफोड गरेको मौरीका घार हेर्दै ।
Womui
Womui