नेपाली सेना राष्ट्रसंघको पहिलो प्रतिनिधिको रुपमा लिबिया जादै

140

काठमाडौं, मंसिर १४-
संयुक्त राष्ट्रसंघको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले शान्ति सैनिकका रुपमा पहिलो डफ्फाअन्तर्गत स्पेसल गार्ड युनिटलाई यसै महिना त्यहाँ खटाउन लागेको हो । प्रमुख सेनानी सुवास थापाको नेतृत्वमा जान लागेको दुई सय ३४ जनाको उक्त डफ्फाले प्रारम्भमा संयुक्त राष्ट्रसंघबाट त्यहाँ खटिएका प्रतिनिधि र सामग्रीको सुरक्षा प्रदान गर्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार शान्ति सेनामा जाने सेनाको टोलीलाई पाँचखालमा सम्बोधन गर्दै । तस्बिर सौजन्यः नेपाली सेना
राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार शान्ति सेनामा जाने सेनाको टोलीलाई पाँचखालमा सम्बोधन गर्दै । तस्बिर सौजन्यः नेपाली सेना

शान्तिदूतका रुपमा हाल करिब चार हजार चार सय ६८ नेपाली सैनिक विश्वका विभिन्न द्वन्द्वरत देशमा खटिरहेका छन् । विश्व शान्ति स्थापनाका लागि खटिएको अवस्थामा हालसम्म ६३ जना सैनिकले वीरगति प्राप्त गरेका छन् भने त्यतिकै संख्यामा सैनिक घाइते भएका छन् । संयुक्त राष्ट्रसंघबाट नेपाली सेनाको व्यावसायिक कौशल, अनुशासन, कर्तव्यपरायण र सहासको कदर गर्दै पहिलो शान्ति सेनाका रुपमा लिबिया पठाउन अनुरोध भई आएबमोजिम नेपाली सेनाले त्यहाँ सुविधासम्पन्न घुम्ती अस्पतालको व्यवस्थासहित विशिष्टीकृत सैनिकलाई पठाउन लागेको हो ।

काभ्रेका पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सुडान र लिबियामा शान्ति स्थापनार्थ खटिजाने सैनिकका लागि सञ्चालन गरिएको तालिम समापन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले लिबियामा तैनाथ हुन जाने शान्ति सेना पहिलो डफ्फालाई अरू मिसनको जस्तै नेपाल र नेपाली सेनाको छवि उच्च पार्ने काम गर्न निर्देशन दिइन् ।

Womui
Womui