कोसेबाली अनुसन्धानमा वैज्ञानिक अभाव

525

खगेन्द्र दाहाल
नेपालगन्ज, मंसिर १४-
वैज्ञानिक अभावका कारण कोसेवाली अनुसन्धान कार्य प्रभावित भएको छ । बाँकेको खजुरामा रहेको कोसेवाली अनुसन्धानमा चार वैज्ञानिकको दरबन्दी भएपनि हाल २ जनाको भरमा विभिन्न बाली अनुसन्धान गर्न परिरहेको वैज्ञानिक पदम पौडेलले बताए । वैज्ञानिक सहित २५ जना दरबन्दी रहेको उक्त कार्यालयमा हाल १६ जना मात्र कर्मचारी कार्यरत छन् । उक्त अनुसन्धान केन्द्रमा रहर, बोडी, चना, राजमा, भटमास, मसुरो तथा कोसे झारपातको अनुसन्धान हुदै आएको छ ।

खजुरास्थित कोसेबाली अनुसन्धान केन्द्रको कार्यालय ।
खजुरास्थित कोसेबाली अनुसन्धान केन्द्रको कार्यालय ।

जनशक्ती अभावका कारण अनुसन्धान गर्नुपर्ने बालीमा असर पुगेको कार्यालयले जनाएको छ । अनुसन्धानमा जनशक्तीसँगै प्रयाप्त जग्गाको अभावले गर्दा बाली अनुसन्धान गर्न कठिन भएको हो । लगाइएको बालीमा सिचाई सुविधा नहुँदा थप समस्या भएको कोसेबाली अनुसन्धान केन्द्र खजुराका वरिष्ठ वैज्ञानिक राम बाबु पनेरुले बताए । उनले भने, ‘जनशक्ती अभावका कारण सञ्चालित कार्यक्रमलाई समयमा अनुगमन गर्न पनि कठिनाई हुने गरेको छ ।’ अनुसन्धान केन्द्रले मुलुकभरलाई हेर्ने भएकाले काम गर्न कठिन भइरहेको वैज्ञानिकले बताएका छन् । चितवनको रामपुरबाट २ वर्षअघि खजुरामा ल्याइएको कोसेबालीलाई क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले ८ हेक्टर जमिन उपलव्ध गराउँदै आएको छ । केन्द्रले उपलब्ध गराएको जमिनमा परिक्षण गर्न मात्र पुगेको कोसेबाली अनुसन्धान प्रमुख पनेरुले बताए ।

कोसेबालीले प्रजनन बीउ र स्रोत बीउ उत्पादन गर्नुपर्ने हुन्छ । तर, केन्द्रले उपलब्ध गराएको जग्गा प्रयाप्त नभएको उनको भनाई छ । कोसेबाली अनुसन्धानले जमिन कम भयो भनेर क्षत्रीय अनुसन्धान केन्द्र खजुरासँग थप जग्गा माग पनि गरेको छ । कोसेबालीलाई मौखिक रुपमा आधा हेक्टर भन्दा कम जग्गा क्षेत्रीय अनुसन्धानले उपलव्ध गराएको छ । कोसेबालीले उक्त जमिनमा मसुरोको स्रोत बीउ उत्पादन गर्न बीउ छरिसकेको छ । ‘अरु दुई हेक्टर जमिन कोसेबाली अनुसन्धान गर्न कार्यालयलाई आवश्यक छ,’ वरिष्ठ वैज्ञानिक पनेरुले भने ।

कोसेबालीलाई सिचाई गर्नका लागी निर्माण थालिएको सिचाई बोरिङमा प्राविधीक र ठेकेदार बीचको किचलोका कारण त्यसमा मुद्दा चलिरहेकाले अनुसन्धानमा प्रत्यक्ष असर पुगेको उनले बताए । कार्यालयमा अहिले बाली र प्रजनन वैज्ञानिक मात्र कार्यरत छन् । अन्न बाली र माटो वैज्ञानिक तत्काल आवश्यक रहेको कार्यालयले जनाएको छ । कर्मचारीको संख्या अपर्याप्त रहेको हुँदा विशेष परियोजनाका काम गर्न नसकिएको केन्द्रले जनाएको छ ।

Womui
Womui