करोडौंको सरकारी जग्गा यसरी हुदैछ ‘कब्जा’

31

नेपालगन्ज, मंसिर १३-
नेपालगन्ज-२३ मानपुरस्थित एक उद्योगसँगै सटेको करोडौंको सरकारी जग्गा ‘कब्जा’ गर्ने प्रयास भएको छ । सरकारी जमिन उपयोगको विषयमा उत्पन्न भएको बिबाद उपमहानगरपालिका कार्यालयसम्म आइपुगेको छ । बन्द अवस्थामा रहेको उद्योगको जग्गा किनेका व्यवसायी सकिल अहमद जसगढले नम्बरी वरिपरीको ऐलानी जमिनपनि आफ्नो उपयोगमा राख्न खोजेपछि त्यहाँका स्थानीय बासिन्दा विरोधमा उत्रिएका हुन् ।

प्रतिवादमा उत्रिएका स्थानीय बासिन्दा ।
प्रतिवादमा उत्रिएका स्थानीय बासिन्दा ।

स्थानीय बासिन्दाको आग्रहमा उपमहानगरपालिका कार्यालयले उद्योगको निर्माण कार्य नै बन्द गरिदिएको छ । मुलुकको राजनीतिक तथा आर्थिक संक्रमणकालिन अवस्थाले गर्दा बीचमै बन्द भएको गणेश हिमाल सहित ११ वटा उद्योगको नाममा रहेको झण्डै ७० कठ्ठा नम्बरी जग्गा र भौतिक पुर्वाधार विक्रीका लागी नेपाल बैंक लिमिटेड नेपालगन्जले लिलाममा चढाएको थियो । बैंकलाई सबैभन्दा बढी मुल्य (३ करोड ४९ लाख) बुझाएर व्यवसायी जसगढले आठ वर्ष अघि खरिद गरेका हुन् । नम्बरी जमिनसँगै सटेर रहेको झण्डै १ विघा १४ कठ्ठा सरकारी जमिनमा रातारात पर्खाल उठाएर काम गर्न थालेपछि प्रतिकारमा उत्रिनु परेको स्थानीय बासिन्दा राजेन्द्र सिंहले बताए । ‘गाउँका सर्वसाधारणलाई डर, त्रास देखाएर जमिन कब्जा गर्न खोजेपछि हामी बिरोधमा उत्रिएका हौं,’ उनले भने ‘सरकारी जमिन कसैले पनि व्यक्तिगत रुपमा प्रयोग गर्न पाउनु हुदैन भन्ने हाम्रो माग हो ।’

सरकारसँग अधिकार माग्ने मात्र नभएर सरकारी जमिनको संरक्षण गर्नुपर्ने दायित्व पनि जनताको रहेको सिंहले बताए । लामो समयदेखि प्रयोगमा आइरहेको बाटोलाई समेत थुनेर उक्त ठाउँमा पर्खाल बनाएपछि स्थानीय बासिन्दा लतिफ खाँ सहित १ सय ५९ जनाले नेपालगन्ज उपमहानगरपालिका समक्ष सार्वजनिक सम्पत्ती संरक्षणको माग गर्दै निवेदन दिएका थिए । निवेदनको सुनुवाई गर्दै उपमहानगरपालिकाले मंसिर ६ नै काम रोकेको थियो । अहिले उक्त ठाउँमा निर्माण कार्य नभएपनि व्यवसायी जसगढले विभिन्न शक्तिकेन्द्र धाउँदै सरकारी जमिन आफ्नो कब्जामा लिने कोसिस गरिरहेको स्थानीय बासिन्दा बताउँछन् । तर उनीहरु कुनैपनि हालतमा सरकारी जमिन व्यक्तिलाई नदिने अडानमा रहेका छन् ।

स्थानीय बासिन्दा राम जिएमले अगाडी भने, ‘एउटा करोडपतिले सोझा–साझा जनतालाई धम्क्याएर सरकारी जग्गा कब्जा गर्न पाउँदैन, हामी कदापी हुन पनि दिदैनौं ।’ जिम्मेवार राजनीतिक दल समेत यस विषयमा मौन बसेको देख्दा आफु आश्चर्यमा परेको उनले बताए । खेलाडी एवम् स्थानीय समाजसेवी नन्दकिशोर बर्माले केही भू–माफिया मिलेर सरकारी जग्गा कब्जा गर्न खोजेको बताए । ‘उद्योगको जमिनसँगै सटेको सरकारी जमिनलाई कब्जा गर्ने उनीहरुको उद्देश्य हो, त्यही भएर रातारात पर्खाल लगाउन खोजिएको रहेछ,’ उनले भने । आफ्नो सम्पत्तीको दिगो रुपमा संरक्षण गर्न उपमहानगरपालिका कार्यालय र जिल्ला प्रशासनलाई बर्माले आग्रह गरेका छन् । उक्त सरकारी जमिनमा केही जीर्ण अवस्थाका भवन पनि रहेको बताइएको छ ।

उद्योगले कब्जा गर्न खोजेको स्थानमा स्थानीय बासिन्दाले टाँगेको साईन बोर्ड ।
उद्योगले कब्जा गर्न खोजेको स्थानमा स्थानीय बासिन्दाले टाँगेको साईन बोर्ड ।

त्यस क्षेत्रमा भविष्यको गाउँपालिकालाई आवश्यक पर्ने संरचना निर्माण गर्न सकिने भन्दै स्थानीय बासिन्दाले जानकी गाउँपालिकाको साईन बोर्ड समेट टाँगेका छन् । उता व्यवसायी जसगढले भने सरकारी जग्गा कब्जा गर्ने आफ्नो उद्देश्य नभएको बताएका छन् । ‘मैले बैंकसँग नम्बरी जग्गा सहित जे–जे थियो, त्यो सबै किनेको हुँँ, त्यसैले पुरानै हिसाबले पर्खाल उठाउन लागेको हो,’ उनले भने । तर सरकारले ऐलानी जमिन छुट्याएर लगेपनि कुनै आपत्ती नहुने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका निरिक्षण उपशाखा प्रमुख पवन कनोजियाले स्थानीय बासिन्दाले निवेदनको आधारमा उद्योगले निर्माण गरिरहेको काम रोकिदिएको बताए । सरकारी जमिन कसैलेपनि कब्जा गर्न नपाउने उनको भनाई छ । नेपालगन्ज क्षेत्रमा अन्य ठाउँमा भएको सरकारी जग्गा, सडक लगायतका सार्वजनिक स्थान अतिक्रमण विरुद्ध अभियान सुरु गर्न थालिएको बताए । उपमहानगरपालिका, प्रहरी र ट्राफिक प्रहरीको संयुक्त प्रयासमा चाडै अतिक्रमण हटाउन सुरु गरिने कनोजियाले जानकारी दिए ।

Womui
Womui