बिशाली क्रिकेट- मध्यपश्चिम र न्यू बागेश्वरी विजयी

25

नेपालगन्ज, मंसिर १२-
नेपालगन्जमा सञ्चालित बिशाली कप अण्डर–सिक्सटिन टी–२० क्रिकेटमा मध्यपश्चिम क्लब र न्यू बागेश्वरी स्कुल विजयी भएका छन् । आइतबारको पहिलो खेलमा मध्यपश्चिमले सगरमाथालाई १ बिकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गर्न मैदान उत्रिएको सगरमाथाले १५ ओभरमा सम्पुर्ण बिकेट गुमाएर ९५ रन बनाएको थियो ।

जसमा सतिश डिसीले ३९ र असमित मल्लले २० रनको योगदान दिए । मध्यपश्चिमका बलर प्रतिक गिरी र भरत थापाले तीन/तीन बिकेट लिए । ९६ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको मध्यपश्चिम १३ दशमलब ३ ओभरमा ९ बिकेट गुमाई ९६ रन बनाउँदै विजयी भयो । मध्यपश्चिमका शिव डाँगीले १६ र प्रविन बमले १४ रनको योगदान दिए । खेलमा सगरमाथाका बलर असमित मल्लले ३ र शाहिल अन्सारीले २ बिकेट लिएका थिए ।

यसैगरी दोस्रो खेलमा न्यू बागेश्वरीले गोरखा यूनाईटेडलाई ६३ रनले पराजित गर्दै विजयी भयो । पहिले ब्याटिङ गर्न मैदान उत्रिएको न्यू बागेश्वरीले १५ ओभरमा ४ बिकेट गुमाउँदै एक सय ४४ रन बनायो । जसमा पवन अजित रुचलले ६५, बिशाल पौडेलले ३५ र पवन मल्लले १४ रन बनाए । गोरखाका विप्लप भुजेलले ३ र डम्बर खड्काले १ बिकेट लिए । एक सय ४५ रनको बिशाल लक्ष्य लिएर मैदान छिरेको गोरखा यूनाईटेडले ११ दशमलव ३ ओभरमा सबै बिकेट गुमाई ८१ रनमा सिमित भएपछि भारी अन्तरले पराजय स्वीकार्न बाध्य भयो । गोरखाका पवन शाहीले २०, सुर्य जिसीले १५ र बिप्लप भुजेलले १४ रन बनाए ।

न्यू बागेश्वरीका नमराज रिजालले ३ र बिशाल पौडेलले २ बिकेट लिए । पहिलो खेलमा म्यान अफ दी म्याच असमित मल्ल घोषित भए, भने दोस्रो खेलमा बिशाल पौडेल घोषित भए । रोयल क्लब नेपालगन्जले उक्त प्रतियोगिता आयोजना गरेको हो । दश दिन सम्म सञ्चालन हुने प्रतियोगिता नकआउटका आधारमा खेलाइएको छ । प्रतियोगिताको उपाधी जित्ने समुहलाई नगद १० हजार र उपविजेतालाई ५ हजार रुपिया प्रदान गरिने आयोजक संस्थाका सचिव जमिल अन्सारीले जानकारी दिए ।

Womui
Womui