बालअधिकार दिवसको अवसरमा विविध कार्यक्रम

114

नेपालगन्ज, मंसिर ५-
अन्तराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सामुदायिक बिद्यालयमा अध्ययनरत बालबालिकाबीच चित्रकला, वक्तृत्वकला, चम्चा दौड र साँस्कृतिक कार्यक्रम आयोजना गरियो । जिल्ला बाल कल्याण समितिको आयोजनामा गरिएका विभिन्न कार्यक्रममा बाँके युनेस्को क्लबले समन्वय गरेको थियो, भने जिल्ला शिक्षा कार्यालय र महिला तथा बालबालिका कार्यालयको सहयोग रहेको थियो ।

child

दिवसको अवसरमा आयोजना गरिएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत, विशिष्ट अतिथी बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राई र सेभ द चिल्ड्रेनका एसोसियट डाइरेक्टर बीरेन्द्र ठगुन्नाले विजयी छात्र छात्रालाई पुरस्कार वितरण गरे । प्रतियोगितामा नारायण माध्यामिक बिद्यालयका अर्जुन तिवारी प्रथम, धम्बोझी माबिका सपना पासी द्धितिय र बागेश्वरी प्राबि बेलासपुुरका जलजला सिंह तृतिय भएका थिए, भने फुलटेक्रा माबिका महेक बैश्यले सान्त्वना पुरस्कार पाए ।

यस्तै उपमहानगरपालिका भित्रका ५ वटा गरिव बस्तीका समुदाय स्तरका बाल क्लबका बालबालिकाबीच गराइएको बक्तृत्वकला प्रतियोगितामा बिद्या बालक्लब–३ का अभिषेक बैश्य प्रथम, शान्ति बालक्लब–१६ का सपना परियार द्धितिय र उमंग बालक्लब–११ का नर्गिस शेष तृतिय भएका थिए । सान्त्वना पुरस्कार शिवा सिद्दिकीले पाए । सो अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बाल अधिकारका सम्बन्धमा समाजमा चेतना बढाउन गैर सरकारी संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको जनाउँदै त्यसमा अभिभावकहरुको सहयोग र समर्थन अपरिहार्य रहेको बताए ।

प्रहरी प्रमुख एसपी राईले बालविवाहको समस्या जिल्लामा धेरै भएकोले सबैले सचेत रहन पर्नेमा जोडदिए । वडास्तरीय बाल संरक्षण समितिका संयोजक जगदिश बाल्मिकीको सभापतित्वमा भएको कार्यक्रममा सेभ द चिल्ड्रेनका एसोसियट डाइरेक्टर बिरेन्द्र ठगुन्ना, जिल्ला शिक्षा कार्यालय बाँकेका बिद्यालय निरिक्षक खगेन्द्र मल्ल, बाल कल्याण अधिकारी सुनिता केसी लगायतले बालअधिकारका बारेमा सबै गम्भीर र एकजुट हुनुपर्नेमा जोडदिए ।

Womui
Womui