बाँकेमा दुई जनाको हत्या

30

नेपालगन्ज, असोज २०-
प्रहरीले विशेष सुरक्षा योजना लागु गरेकै अवस्थामा बाँकेमा दुई जना व्यक्तिको हत्या भएको छ । बाँकेको छुट्टा छुट्टै स्थानमा एक युवक र एक महिलाको हत्या गरिएको अवस्थामा बिहीबार शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कम्दी गाविस–९ निवासी अन्दाजी ३० बर्षिया शान्ति बुढा र नौवस्ता–७ सुतैया निवासी १७ बर्षिय सुवास शाहीको हत्या भएको हो ।

घरबाट औषधी किन्न भनि बुधबार दिउँसो २ बजेतिर निस्केकी शान्तिको शव बिहीबार बिहान १० बजेतिर कम्दी–६ भग्रहवास्थित अरहर बारीमा नग्न अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । ‘स्थानीय बासिन्दाले शव देखेपछि हामीलाई खबर गरे, शवको प्रकृत्ति हेर्दा कर्तव्य ज्यान जस्तो देखिन्छ,’ डिएसपी सरोज पौडेलले भने । महिलाको शव नग्न अवस्थामा भेटिएकाले कसैले बलात्कार पश्चात हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

यसैगरी जिल्लाको नौवस्तास्थित सुतैया डाँडामा शाहीको शव स्थानीय बासिन्दाले बिहीबार बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई खाल्डोमा गाडेको, तर आधा भाग बाहिर देखिएका कारण गन्ध आएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शवको प्रकृती हेर्दा हत्या करिव २÷३ दिन अगाडी हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

Womui
Womui