गर्ल फ्रेन्ड रोज्ने नियम तोडिएको त्यो दिन

191
रामु ओली
रामु ओली

पुसको महिना झमक्क साँझ परेको त पत्तै नपाइने । हवल्दार चोकको हेमपाइपको छेउको डिलमा बस्दै ट्युसन पढ्न हिँड्ने ठिटीहरुलाई हेर्दैमा रात पर्छ, दिनेश बरबराउँदै बोल्यो ।

चिसो मौसम , हुस्सुले ढपक्कै ढाकेको । हवल्दार चोकको ठूलो पीपलको रुखको पातहरुबाट थोपा थोपा पानी खस्दै भिजेको भुइँ । अनि त्यही भिजेको भुइँमा दिनेश भने  सी गाउँ उसको साथीको घर यहि छ भन्दै नक्सा कोर्दै थियो । हामी सबै केटाहरु भने त्यही भिजेको भुइँमा दिनेशले नचाइरहेको काठको टुक्राको दिशातिर आँखाहरु घुमाउँदै थियौ । दिनेश बनाउँदै थियो “मिसन सी गाउँ” । किनकि आजको रात त्यही जानू थियो । त्यही बिताउनु थियो । कुनै करले भने होइन । यो त हाम्रो लागि सुनौलो अवसर हो, जो महिनामा एक दुईचोटी मात्र आउदथ्यो ।

साथीको बहिनिको बर्थ डे रे त्यसैको पार्टी थियो । बोलावट त दिनेशलाई पनि थिएन । तर उसलाई यत्ति सूचना भने कसैले चुहाइ दिएको रहेछ । त्यसैले त दिनेशले मिसन सी गाउँ बनाइ रहेको थियो । हामी त चिन्दै नचिन्ने । न सूचना पाउनु न बोलावट हुनु । तर पनि दिनेशको साथीको घर भन्नू हाम्रो साथीको घर । हाम्रो साथीको घर भन्नू आफ्नै घर । आफ्नै घरको पार्टीमा कस्लाई पो निम्तो चाहिन्छ र ? हाम्रो यो थ्यौरी आज पनि लागू हुने भयो । निकै पुरानो थ्यौरी पो त । झटपट छोडनु राम्रो पनि नहुने । पूरा जवानी  यहि थ्यौरीले निकाल्नु छ । सबैको यहि मान्यता थियो ।

girl

दिनेशको मिसन सी गाउँ रेडी भयो ।  उसको मिसन अनुसार अहिले नै हिँड्नु पर्ने । नाइनास्ती गर्ने कस्ले, सबैलाई जति सक्दो चाडै पुग्नु पर्ने थियो ।  हामी मध्य कतिले त त्यो पार्टीमा नाचेको, ताली बजाई रहेको कल्पनासम्म गर्न भ्याइसकेका थियौ । कत्तिले त आफ्नो गर्ल फ्रेन्ड पनि रोज्दै थिए होलान । कल्पनामै भए पनि । यस्तो कुरामा हाम्रो अर्को पनि थ्यौरी थियो । चाडै गएर पट्याउन सुरु गर्नु पर्छ । किनकी हाम्रो मान्यता अनुसार जसरी हामी सुरुमै गएर केटी रोज्छौ, त्यसरी नै केटीहरु पनि सुरुमै केटा छान्ने गर्दछन् । फेरि त्यस्ता पार्टीहरुमा केटाहरुको सङ्ख्या जहिले नि धेरै हुने । केटी भने सीमित । त्यसैमाथि हेर्ने लायक केटीहरु औंलामा अटाउने हुन्थे । सबै उठेर आफ्नो आफ्नो साइकल समाउन लागे । सबैको साइकलको रफ्तार देख्नेहरुले पक्कै भन्थे होलान यिनीहरु साइकल दौडमा हिस्सा लिँदैछन् । हाम्रो साइकलको रफ्तारनै त्यस्तै थियो । जो कोहि पनि एकछिन रोकिएर हामीलाई नै हेर्थे ।  हामी पनि कोहि भन्दा कोहि कम थिएनौ । किनकी केटी रोज्ने र छान्ने प्रतिस्पर्धाको सुरुवात हामी बीचबाट नै हुन्थ्यो । हाम्रो ग्रुप भन्दा बाहिरी केटासँग त सेकेन्ड स्टेपमा भिड्नु पर्थ्यो । जब आफ्नै ग्रुपमा पहिलो भए पछि ।

हाम्रो आफ्नै नीति नियम थिए । जसलाई सबैले खुसी खुसी पालन गथ्र्यौ । त्यसैले त केही सेकेन्ड अगाडि मन परेको केटीलाई आफू भन्दा पहिले अरुले नै “यो मेरो हो” भनेर भने पछि खुसी खुसी भाउजूको आदरभाव र शब्दको प्रस्फुटन गर्थ्यौ । किनकी हाम्रो नीति नियम अनुसार एउटाले यो केटी मेरो भनेर मुख फोडेपछि अर्कोले हेर्न नपाउने थियो । चाहे केटीले उसलाई हेरोस् या नहेरोस्, भाउ देओस् या नदेओस् त्यो महत्त्वपूर्ण हुन्दैन्थ्यो । महत्त्वपूर्ण त हाम्रो लागि हाम्रै आफ्नै नियम हुन्थ्यो । त्यही नियमलाई नै टेकेर सबैले आफ्नो गर्ल फ्रेन्ड खोज्नु पर्नेछ, पट्याउनु पर्ने । र साथीलाई सहयोग पनि गर्नु पर्नेछ ।

सी गाउँ पुग्दा नपुग्दै हाम्रो कानहरुले अलौकिक ध्वनिको गुन्जनहरु महसुस गर्‍यो । मधुरो संगीतको ध्वनिले हामीलाई बताइरहेको थियो कि त्यहाँ कृस फिल्मको गीतमा कोहि पक्कै चरा उडे झै उडिरहेको छ । टाढाको मधुरो धुनबाट पनि हामी कुन गीतमा कसरी नाच्दैछन् भन्ने अनुमान गर्न सक्थ्यौ । यो विषयमा हामीले विधावारिधी नै गरेका छौ झै लाग्थ्यो । हुन पनि राति पूरै गाउँ सुती सकेपछि त्यो सुनसान रातको ११-१२ बजे घरको छतमा पुगेर आफ्ना कानहरुलाई स्वतन्त्र छोड्थ्यौ । टाढा- टाढाको मादलको आवाज र साउन्ड सिस्टमको आवाज कुन दिशा र गाउँबाट आएको छ हामीले पाँच सेकेन्डमा नै पत्ता लगाउथ्यौ । यो हाम्रो खुबी थियो । यो हाम्रो सालौसालको अनुभव थियो ।

साथीको घरमै पुगेपछि भने हाम्रो आँखाहरु चलायमान हुन थालिसकेका थिए । माहोल नै उत्तेजित थियो । प्राय सबैले आफ्ना गोडाहरु र कुमहरुलाई गीतको लयसँगै फुरफुर उचाली रहेका थिए । दिनेश भने साउन्ड सिस्टम राखेको नजिक पुगेर आफ्नो साथीसँग हात मिलायो । अङ्गालो हाल्यो । थोरै बेरसम्म अङ्गालो मारेरै खासखुस गर्‍यो । थुप्रै केटीहरु अनेक पहिरनमा सजिएर लाइनसँगै उभिएका । कोही जिन्स पाइन्टमा थिए । कोही कुर्तामा । सबैलाई नियाल्दै जाँदा एउटीले मेरो अँखाहरुलाई आफू माझ नै रोकेर राख्न सफल भइन । मनभित्रको आबेग र छट्पटीले विश्राम लियो । आँखाहरु एकोहोरो लठ्ठिरहे । कुनै नसालु पदार्थको सेवनपछि होस गुमाएको बेहोसी जस्तै मैले क्षणभरलाई आफ्नो होस गुमाए ।

फुच्ची तर गोरो बर्णको । फिक्का निलो जिन्स पाइन्ट । माथि हल्का हरियो अनि साना साना बुट्टाले भरिएको कुर्ता । कालो गाजलले सजिएको झै लाग्ने गाजल रहित कालो अनि मिलेको आँखा । बेला बेला अनायासै आँखी भौंहरु झिम्काइ रहँदा म उनको हरेक बन्दपछि खुल्ने आँखाको चालमै रमाइरहेको थिएँ । सायद भर्खरै नाचेर पो निस्केकी थिइन कि ? त्यसैले कालो मसिनो फिता भएको चप्पल हातमा थियो । पाइन्टको मोडीलाई दुई फोल्ड पारेर माथी सारेकी थिइन । सेतो अनि पातलो पैँतलाहरु चिसो भुइँमा काप्दै गर्दा केही धुलोका कणहरु प्रष्ट देख्न सकिन्थ्यो । गएर आफ्नै हातले कापिरहेको खुट्टाहरुलाई छोपी दिउ झै लाग्ने । आफ्नै मुखले फुकेर ती सुन्दर पैतलाका धुलोलाई उडाउन मन लाग्ने । मैले मनमनै यो मेरो केटी हो भनी सकेको थिए । उनी केटी मात्रै होइन मेरो प्रेम हो,  हृदयभित्रको मेरो हरेक त्यो क्रियाकलाप हो जसको लागि हरेक मादलका धुनसँगै सालौ सालदेखि भौँतारिरहेको थिएँ । आज मेरो हृदयको प्रश्रव बेदनाको निराकरण मिलेको थियो । आज उप्रान्त मलाई त्यसरी भौँतारिनु पर्ने थिएन । मनले सारा प्रेमको र प्रेम प्राप्तिको दृश्यलाई छचल्काइ रहेको थियो । “त्यो मेरो केटी हो ” हाम्रो ग्रुपबाट दिनेशको आवाज निस्कियो । त्यही आवाजले मेरो कल्पनाको प्रेमलाई फुटाइ दियो । जसलाई सत्य बनाउन सोचिरहेको थिएँ ।

मैले जीवनमा धेरै कम मात्रामा मात्रै ईश्वर पुकारेको थिएँ । अहिले भने त्यो आवाजको ध्वनि सुन्ने बित्तिकै मेरो हृदयले ईश्वर पुकारी रहेको थियो । सायद अरु बाँकी साथीले पनि त्यसै गरेका थिए कि ? ताकी ती सुन्दर फुच्ची केटी आफ्नो हुन सकेको होस् । र दिनेशले रोजेको केटी अरुनै भएको होस् ।

आफूले आफैलाई गाली गर्न मन लाग्यो मैले किन पहिले नै भन्न सकिन भनेर । ती सुन्दर फुच्ची केटीमै सोझिएको आँखाहरुलाई दिनेशले इसारा गरेको केटीतिर मोड्ने प्रयास गरेँ । तर अफसोच आँखा त फेरि पनि उनै सुन्दर केटीको कालो आँखामा पुग्यो । केही बोल्दै गरेको ओठहरुमै पुगेर रोकियो । कति चलायमान थिए ती ओठहरु । सायद उनी धेरै बोल्दी हुन ।

मलाई भाउन्न बनायो । चक्कर आउला झै भयो । बाटोतिर निस्किए । नालीको डिलमा थचक्क बसे र चुरोटको धुँवाहरु फुक्दै आफ्ना रोकिएका सासहरुलाई जबरजस्ती फेक्न थाले । यो नै मेरो लागि निर्बिकल्प थियो । त्यसैले त्यसै गरे । किनकी दिनेशले त्यही फुच्चीलाई नै रोजेको थियो । सबैको अगाडि मुख फोडी सक्यो । जो मैले फोड्नु थियो ।

हिन्दी – नेपाली गीतहरुले गुन्जयमान त्यो आँगनमा एकपछि अर्को गर्दै केटाकेटीहरु नाच्दै थिए । कतिले ताली बजाउँदै थिए । नाच्नेहरु बडो गर्भसाथ छाती फुल्लाएरै आफ्ना मुस्कानहरुलाई फिजाउथे र केटीहरुको सिकार गर्दथे । ताली बजाउने केटाहरु पनि केटीहरुको नाचमा बेसी नै हुटिङ्ग गर्थे । ताली बजाउथे । ताकी केटीलाई लागोस् कि उ नै उसको ठूलो फ्यान हो भन्ने । तर मेरो मनमा ती क्रियाकलापले कुनै ठाउँनै लिन सकेन । मलाई त उनै सुन्दर केटीको सुन्दरताको मोहकले मादकता प्रदान गरिरहेको थियो । हुनत मेरो यी कुराहरु हाम्रो ग्रुपको नियम संगत थिएन । तर पनि मनले उनलाई भाउजूको संज्ञा दिन मानेकै थिएन । त्यसैले दिनेश र अरु साथीको नजरमा लुकेरै भए पनि हेरिरहेको थिए । सायद उनलाई केही ज्ञान भै सकेको थियो कि मेरो एकोहोरो हेराइ उनीप्रति नै छ भन्ने । त्यसैले त बेला बेला अक्कलझुक्कल आँखाहरु जुद्थे । उनी लजाए झै गर्थिन । अनि आफ्नो आँखाहरुलाई चिसो भुइँमा पुर्‍याउथिन । अनि केही मुस्कानका फोराहरुले मलाई सम्मोहनमा पार्थिन । जसले म उनी भाउजू हुन भन्ने कुरा भुल्दथे । आँगनमा दिनेश प्रवेश गर्‍यो । – नाच्यो उसै गरी । मुस्कान छर्दै । तालीहरु दोब्बर भए । किनकी साथी नाचेको थियो । केटाहरु सिट्ठी बजाउँदै हुटिङ्ग गर्न लागे । केटीहरु पनि मजा लिँदै थिए उसको नाचमा । बस दिनेशले गर्नु पर्ने गरिसकेको थियो । नाच्नु पर्ने नाची सकेको थियो । अझ उ सबैको नजरमा पुगिसकेको थियो । उत अब कुनै कुनामा लुकेर बसे पनि हुन्छ । उसलाई कुनै कृत्रिम ताली र हुटिङ्ग गर्नु पर्ने जरुरत नै छैन । उसलाई मन पराउने केटीहरुले लुकी लुकी नियाल्ने नै छन् । यो मानेमा उसले चुनाव जिती सकेको छ ।

बोल्ने कै पिठो बिक्छ रे ! त्यसैले त उ बिकिरहेको थियो । तर हाम्रो लागि भने मनमै सपना देख्नु र आँखाले त्यो सुन्दरताको प्यास मेट्नु नै निर्बिकल्प थियो । दिनेश एक दुई तीन गर्दा गर्दै धेरै गीतमा नाच्दा नाच्दै सबैको प्रिय बन्दै गयो । हामी भने त्यो निस्पट अँध्यारो रातमा पनि उहीँ धिप्प बलेकी फुच्चीको गाजलु आँखामै भुलिरहेका थियौ । बिस्तारै बिस्तारै चकमन्न अँध्यारोलाई चिर्दै बिहानीको संकेत आउँदै गर्दा मेरो मनमा भयङकर तुफान आइरह्यो । रातभर सितका थोपाहरुले भिजेको शरीरमा हजारौ किलो ओजनदार बस्तुले आफ्नो शरीरलाई थिचेको महसुस गर्दै थिए । मलाई  हर एक पल पनि धेरै भारी भैरहेको थियो । छट्पटी चलिरहेको थियो । मनमा भयानक तुफान आएझै मन अशान्त भयो । किनकी फुच्चिको त्यो गाजलु आँखामा हराउने समय सकिँदै थियो । पूरा रात सकियो तर उसको आँखाको गाजल मेरो मनबाट निस्किएको थिएन । र यो पनि थाहा थिएन कि उसको गाजलु आँखा र बैँस कस्को लागि हो ? दिनेश या मेरो ।
सीतले भिजेका साइकलको सिटलाई हातले पुछ्दै सबै आफ्नो आफ्नो साइकललाई डोर्‍याउँदै गर्दा सबैले एक अन्तिम नजर उनै फुच्चिको लागि दिए । दिनेशले पनि ।  मैले पनि । सबैले एकै चोटी हेरेर होला सायद उनी थोरै लजाइन । मुसुक्क हाँसिन र कापलको सानै भएनी चुल्ठो फन्नाइन । र भित्र तिर पसिन । यो अन्तिम दृश्यले सबैको मनमा अनौठो पीडा दियो । केही खुशीको, केही आशाको, केही भावनाको त केही सम्झनाको र अन्तिममा प्रेमको । सबैले त्यो मुस्कान आफ्नै लागि सम्झिए । मैले पनि सम्झिएँ-त्यो मुस्कान मेरै लागि थियो । त्यो आँखा मेरै लागि लजाएको थियो । अनि त्यो कपाल मेरोनै ओठ, गाला, छुदै उनले आफ्नो चुल्ठो घुमाएकी थिइन । सायद अरुले पनि म जस्तै यस्तै  कल्पना गरे होलान । दिनेशले पनि यस्तै सोच्यो होला । किनकी उसले त त्यो मेरो हो भनिसकेको थियो । तर सबैलाई आफ्नै कल्पना सत्य लाग्यो । त्यसैले त सबैले सबैलाई देखिस् तेरो भाउजूले जाने बेला कसरी मुस्कानले बिदा गरी भन्दै फुरुङ्ग परेर साइकल चुइँचुइँ पार्‍यो । भलै यो शब्दले हाम्रो ग्रुपको नियम तोडिएको संकेत गर्दथ्यो ।

 

Womui
Womui