म्याद नाघेका सामान नष्ट गरियो

36

नेपालगन्ज, असोज १६-
उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने म्याद नाघेका सामान बिक्रीका लागि राखिएको अवस्थामा संयुक्त बजार अनुगमन टोलीले आइतबार बरामद गरी नष्ट गरेको छ । नेपालगन्जको त्रिभुवन चोक पुर्व लाईनमा रहेको कोमल फुड स्टोरमा म्याद नाघेका सामान फेला परेपछि संयुक्त अनुगमन टोलीले बरामद गरेर तत्काल नष्ट गरेको हो ।

स्टोरबाट कोकाकोला एक लिटरका ३ बोतल, फ्यान्टा एक लिटरका ३ बोतल, फ्यान्टा ५ सय एमएलका १२ बोतल, स्प्राइट ५ सय एमएलका १२ बोतल, सलाइस ६ सय एमएलका ७ बोतल, रोजी गोल्ड जुस २५० एमएलका ३ बोतल, पापड २८ प्याकेट र आइसिङ सुगर ५ सय एमएलका १२ प्याकेट बरामद गरिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरिक्षक पुर्णप्रसाद पौडेलले जानकारी दिए । बरामद गरिएको सामान तत्काल नष्ट गरिएको र पसलका सञ्चालक सुशील सेठीलाई तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन पत्र काटिएको पौडेलले बताए ।

अनुगमनका क्रममा सोही ठाउँमा वेवी गुप्ताले पसल दर्ता नगरी सञ्चालन गरेको फेला परेको थियो । उक्त पसललाई पनि पहिलो पटक चेतावनी स्वरुप पसल दर्ता गर्न निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ । ‘दर्ता नगरेर पसल चलाएको पाइएपछि एक पटकका लागि मौका दिएका छौं,’ पौडेलले सदभावसँग कुराकानी गर्दै भने । अनुगमन टोलीमा संयुक्त बजार अनुगमन टोलीका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेत, वाणिज्य कार्यालयका निमित्त प्रमुख तिर्थ कठायत, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक पुर्णप्रसाद पौडैल, जिल्ला प्रशासनका कर्मचारी नहकुल खत्री लगायत सहभागी भएका थिए । चाडपर्वको मुखमा सरकारी निकायले बजार अनुगमन गरेपनि प्रभावकारी हुन सकेको छैन ।

Womui
Womui