दुई क्वीन्टल मासु बरामद गरी नष्ट

69

नेपालगन्ज, असोज १४-
दसैको मुखमा व्यापारीले अस्वच्छ मासु बिक्री गरिरहेको तथ्य खुलेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले शुक्रबार अनुगमन गर्ने क्रममा अधिकांस पसलले मापदण्ड पालना नगरेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय सहित पशु सेवा कार्यालय, वाणिज्य कार्यालय र नेपालगन्ज उपमहानगरपालिका सहभागी भएको टोलीले बाँके बगिया, दैलेखी बंगला, बाँके बगिया लगायत स्थानमा रहेका पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा मापदण्ड विपरित बिक्री गरिरहेको फेला परेपछि झण्डै २ क्वीन्टल मासु बरामद गरियो ।

पशु सेवा कार्यालय परिसरमा मासु नष्ट गरिदै ।
पशु सेवा कार्यालय परिसरमा मासु नष्ट गरिदै ।

त्यसक्रममा १ सय ५० किलो रांगा र भैसी तथा ४० किलो खसीको मासु बरामद गरिएको जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिए । टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २ दैलेखी बंगलामा रहेको मयुम मासु पसलबाट मात्र १ सय ५० किलो रांगा तथा भैसीको मासु बरामद गरेको थियो । दैलेखी बंगलाका व्यापारी फारुक कुरैसीको पसलबाट करिव ५ किलो, नेपालगन्ज–१७ बाँके बगिया, मासु मण्डिस्थित सरिफ कुरैसी, सलिम कुरैसी, पप्पु कुरैसीको पसलबाट पनि खसीको मासु बरामद गरिएको केसीले बताए ।

बजार अनुगमन टोलीलाई देख्ने वित्तिकै हतारमा पसल बन्द गरेर फरार भएपछि दैलेखी बंगलाका व्यवसायी प्रधान कुरैसीको पसलमा ताला लगाइएको छ । मापदण्ड पालना गर्न व्यवसायीलाई पटक–पटक निर्देशन दिदाँ पनि नमानेपछि शुक्रबार मासु बरामद गरिएको अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले बताए । उनले भने, ‘अनुगमन गर्दा फेला परेपछि मासु बरामद गरेका हौं, अर्को पटक यस्तै फेला परेमा व्यवसायीलाई पनि कारबाही गर्छौ ।’

Womui
Womui